पूर्वको पर्यटकको आकर्षणको केन्द्र बर्जु ताल

मनोज दाहाल २०७७ माघ १ गते २२:५२ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१ माघ।मुलुकमा सङ्घीयता आइसके पछि स्थानीयतहमा लुप्त अवस्थामा रहेका ताल तलैया,धार्मिक स्थल, पुरातात्विक महत्वको स्थानले ग्राहयता पाउन थाले पछि सो स्थानको विकासमा मद्दत पुगेको छ।

तराईमा सबै भन्दा ठूलो र विशाल आकारका रुपमा रहेको प्रदेश नं १ को सुनसरी स्थित बर्जु तालको अहिले भइरहेको प्रचार प्रसार बाट सो ताल अवलोकन गर्न आन्तरिक तथा विदेशीहरु पर्यटनहरुको ओइरो लागि रहेको छ।खासगरी पहाडी क्षेत्रमा मात्र देखिने ताल सुनसरीको चिमडी स्थिको बर्जु तालको बेग्ले आकर्षण र महत्व छ।यसको महत्व र आकर्षणले गर्दा दिन प्रति दिन अवलोकन एवं रमाउन आउने मानिसहरुको वृद्धि हुदै गएको छ।

सुनसरीको बर्जु गाउ“पालिका –६ स्थित ‘बर्जु ताल’ यस क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य स्थलको रुपमा विकसित बन्दै गएको छ।पौराणिक,धार्मिक र ऐतिहासिक महत्वका साथै जैविक बिबिधता युक्त यस तालको विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारले लगानीका लागि बजेट विनियोन गरेको छ।तालले कूल १५२ विघा क्षेत्रफल ओगटेको छ भने यस अन्तर्गत ठूलो ताल ६० विघा, सानो पूर्व ताल ३०विघा र पश्चिम निर्माणाधीन अवस्थामा रहेके ३२ विघाकोे ताल छन्।

विस २०७५ चैत ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले तालको निरीक्षण गर्दै यसलाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताउनु भएको थियो भने सोही दिन देखि तालको प्रचारप्रसार एवं महत्व फेद देखि टुप्पो सम्म पुगेको ताल संरक्षण समितिका पूर्व अध्यक्ष बालम चौधरीले जानकारी दिनुभयो।पहिलो पटक सरकारको तर्फ बाट उच्च ओहदाका मानिसले अवलोकन एवं निरीक्षण गर्नुले पनि तालले व्यापकता पाउने आशाा स्थानीय मानिसहरुमा जागेको अध्यक्ष चौधरीले बताउनुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई विश्वको आकर्षण केन्द्रको रुपमा निर्माण गनर्ने सरकारले योजना बनाउँछ भन्नुभएको थियो।बर्जु तालको उचित विकास एवं आकर्षक बनाउन प्रदेश सरकार र बर्जु गाँउ पालिकाले भ्यू टावर निर्माण गर्न र ग्राभेल सडक बनाउन र तालको वरपरको माटो सम्याउनका लागि तत्काल रु दुई करोड चार लाख बजेत विनियोजन गरेको गाउँपालिकाका सूचना अधिकारी श्रीजना क्षेत्रीले जानकारी दिनु भयो।

उहाँका अनुसार तालको पूर्वी स्वागत द्वारका लागि रु. १० लाख दक्षिणका लागि रु १३ लाख ३९ हजार छुट्याएको बताउनु भयो।वनभोज स्पटका लागि रु १० लाख ५८ हजार,चमेना गृहका लागि रु ११ लाख २७ हजार र टिकट काउन्टर र सार्वजनिक शौचालयकका लागि रु नौ लाख ९९ हजार खर्च गरिएको छ।

तालको संरक्षण गरी यस क्षेत्रमा स्वदेशी विदेशी पर्यटकहरुको आवागमनमा वृद्धि ल्याउन र यस क्षेत्रमा आर्थिक चलायमन गर्नका लागि स्थानीयबासीहरु दिनरात जुटेका छन्।

प्रदेश नं १ का उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्री जगदिप्रसाद कुसियतले मुलुकको व्यापार घाटा कम गर्न तथा स्थानीय जनताको जीवन स्तर उकास्न र मुलुकमा आर्थिक समृद्धि कायम गर्न तालको विकासमा जुटेको धारणा व्यक्त गर्नु भयो।

उहाँले प्रदेश सरकारको मुख्य नीति नै यस क्षेत्रमा रहेका पर्यटकीय स्थलमा सहज आवागमनका लागि पूर्वाधार विकासका लागि बजेट विनियन गरेको बताउनु भयो।

उक्त तालको गोलाईको करिब सात किलोमिटर रहेको र यसको एक पटक परिक्रमा गर्न करिब दुई घण्टा समय लाग्ने संरक्षण समितिका पूर्व अध्यक्ष चौधरीले बताउनु भयो।ताल क्षेत्रमा वनभोज र घुम्नका लागि आन्तरिक पर्यटकहरु मोरङ,सुनसरी,झापा,इलामबाट समेत आउने गर्दछन्।ताल क्षेत्रबाट सीमावर्ती भारतीय शहरी क्षेत्रको दूरी सरदर १२ किलोमिटर मात्र रहेकाले यहाँ भारतको जोगवानी,वीरपुर,फूल्काहा,घुस्की,बस्मतिया जस्ता शहर एवं कस्वाबाट अधिकांश पर्यटकहरु घुम्न आउने गरेको पूर्व अध्यक्ष चौधरीले बताउनु भयो।

कोरोना महामारीको बन्दाबन्दीको समय भन्दा अगाडि वर्षातको महिना वाहेक दैनिक एक हजार देखि एक हजार ५०० पर्यटक घुम्ने आउने गरेका थिए।

तालको घुम्नका लागि वार्षिक रुपमा आन्तरिक र वाह्य गरी पाँच लाख पर्यटकहरुको सो क्षेत्रमा आउने गरेका छन् । जसमा सबै भन्दा बढी भारतीय नागरिकको उपस्थिति देखिने ताल संरक्षणमा लामो समय खर्च गर्नु भएको पूर्व अध्यक्ष चौधरीले बताउनु भयो।

विस २०७५ पूर्व ताल हेर्न आउनेको सङ्ख्या निकै कमी देखिन्थ्यो भने अहिले पर्यटकहरुको आवागमनमा एक्कासी वृद्धि भएपछि यो ठाउँले राम्रो महत्व पाएकोमा हामीलाई खुशी लागेको स्थानीय दुखाराम चौधरीले जानकारी दिनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं उद्योगपति राजेन्द्र राउतले औद्योगिक नगरीका साथै प्रदेशको राजधानी विराटनगर बाट पश्चिम थोरै दूरीको अन्तरमा रहेको यो विशाल तालको विकासमा निजी क्षेत्र पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै तालको आधुनिकीकरण गर्न,आकर्षण बनाउन प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिनु भयो।

यस क्षेत्रमा आन्तरिक पर्यटकहरु अधिकांश विदाका दिन र शनिबार आउने गर्दछन् भारतीयहरु शनिवार, आइतबार अन्य विदाका दिन आउने गरेको स्थानीयवासी रामचन्द्र मेहताले बताउनु भयो।

बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले गाउँपालिकाको मुख्य आकर्षणको केन्द्रको रुपमा रहेको यस तालको विकास गर्नुका साथै थप भौतिक पूर्वाधारहरुको विकास गर्न पालिकाले आवश्यक कार्य योजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले पालिकाको निश्चित आम्दानी र स्रोतले एकैपट धेरै काम गर्न नसक्ने भएपछि गाउँपालिकाले यसलाई उच्च प्राथमिकता राखेको प्रतिक्रिया दिँदै प्रदेशकै गहनाको रुपमा रहेको यो तालको उचित विकास, रेखदेख एवं संरक्षणमा हाम्रा नजिकका प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्नु पर्ने कुरामा जोड दिनुभयो।

होटल व्यवसायी संघका प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठले आवश्यक पूर्वाधारको निर्माण भएमा पूर्व क्षेत्रका लागि मात्र नभएर सबै सबै क्षेत्रका पर्यटकहरु आउने र यसबाट शहर केन्द्रित होटल व्यावसायमा मद्दत पुग्ने धारणा राख्नुभयो ।उहाँले वामे सर्न लागेको पर्यटन क्षेत्रमा पर्यटक मैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिँदै भारतीय पर्यटकको आगमन वृद्धिका लागि बन्द सीमा नाका खोल्नु पर्ने सुझाव दिनुभयो।

पर्यटन व्यवसायीहरुले यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुमा पर्यटन वृद्धिका लागि भारतीय नागरिक मुख्य रहेकोमा उनीहरुको सहज आपागमनको व्यवस्थामा सरकारको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिएका छन्।

बर्जु तालमा साइवेरियाका विभिन्न प्रजातिका चराहरु हिउँदको समयमा आउने र फागुन पछि आआफनै देश फकिर्ने गरेको स्थानीय शिक्षक मुसहरु यादवले जानकारी दिनुभयो।उहाँले सो समयमा ११५ प्रजातिका चराहरुले चरण एवं बसोबास गर्ने गरेकोले अमेरिका, बेलायत, फ्रान्स,जर्मनी लगायतका चरा अन्वेषण्कहरु आउने गरेको जानकारी दिनु भयो।

ताल क्षेत्रको वरपरमा सिमसार क्षेत्र भएकाले चरा,बनस्पति र जलचर जीवजन्तुुका विषयमा अध्ययनरत विद्यार्थी तथा सोधकर्ताहरुलाई आफ्ना सोध तयार गर्न र ज्ञान हासिल गर्न लागि उपयुक्त स्थल भएको छ।

पौराणिक कथा अनुसार यो तालको विषयमा महाभारतमा पनि उल्लेख भएको र राजा विराटको गौशालाका गाई चर्ने चरण क्षेत्र भएको मान्यता रहेको छ । पहिले ३५० विघा क्षेत्रफलमा फैलिएको बर्जुताल पञ्चायत कालमा अतिक्रमण भएका कारण अहिले यसको क्षेत्रफल १५२ विघामा सीमित हुन पुगेको संरक्षण समितिका पूर्व अध्यक्ष चौधरीले बताउनु भयो।

उहाँका अनुसार ताल क्षेत्रको वरिपरि स्थानीय बर्जु चौधरीको जग्गा रहेकोले उनकै नामबाट तालको नाम ‘बर्जु’ रहन गएको जानकारी दिनु भयो। पर्यटकहरुलाई तालमा रमाउनका लागि १४ वटा चार सिटको खुट्टाको डुङ्गा र एउटा ठूलो यान्त्रिक डुङ्गाको व्यवस्था गरिएको छ।

चार सिटेका लागि प्रतिव्यक्ति शुल्क रु १०० र अन्यका लागि प्रतिव्यक्ति रु ५० शुल्क लिने गरिएको छ।तालको वरिपरि घुम्ने स्थानमा पर्यटकहरुलाई थकान मेटाउन विश्रामका लागि फलामेको कुर्सिको समेत व्यवस्था गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी( नेकपा )की केन्द्रीय सदस्य भगवती चौधरीले ताल क्षेत्रको विकास गरी यस क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर उकास्ने गरी कार्य योजना बनाउन विशेष पहल भइरहेको विचार राख्नु भयो।

यसैगरी ताल क्षेत्रमा प्रवेशका लागि प्रतिव्यक्ति रु १० शुल्क उठाइने गरिएको र संकलन गरिएको ताल क्षेत्रको विकासमा खर्च गरिदै आएको छ।

राष्ट्रपति चुरे तराई मधेस विकास समितिको रु तीन करोड ६६ लाखको लागतमा नेपाली सेनाले ताल पुनःनिर्माण कार्य सम्पन्न गरी विस २०७३ मा हस्तान्तरण गरेको हो ।तालको चारैतर्फ बाटो,चार बटा बनभोज स्थल सेड शौचालय, छातासहितको ६० वटा बस्ने ठाउ“, बालवालिकाको पार्क,तालको मध्यमा मन्दिर र चरा बस्न आइसल्याण्ड आदि निर्माण भएको छ।

अर्को होटल व्यवसायी पुण्य भट्टराईले ताल यस क्षेत्रको मुख्य आकर्षणको केन्द्र रहे पनि यसको समुचित प्रचार प्रसार र सो क्षेत्रमा पर्यटक मैत्री खानपानको सहज व्यवस्था गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो।

बर्जु गाउँपालिकाका उपप्रमुख सङ्गीता रायले यस क्षेत्रका ‘सान’को रुपमा रहेको यो तालको विकासमा पालिकाले आवश्यक बजेटको व्यवस्था गर्नुका साथै यसको प्रचार प्रसारका लागि विगतमा ताल महोत्सव आयोजना सम्पन्न गरेको जानकारी दिनु भयो।

विराटनगर–११ का युवा भरत शर्माले तालले आफूलाई मोहनी लगाएकोले विदा र फुर्सदको समयमा तालमा पुगेर प्रशस्त मनोरञ्जन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो।

स्वच्छ वातावरण,खुला आकाश, फराकिलो स्थान, ग्रामीण क्षेत्र जस्ता गुणले भरिएको यो स्थानमा पर्यटकहरुलागि बास बस्न हासस्टेको पनि व्यवस्था भएमा यसले अझ महत्व पाउने र यसबाट स्थानीय संस्कृति, परम्परा खानपिन, रहनसहनका बारेमा पनि पर्यटकले जान्ने बुझ्ने भएकोले यसतर्फ युवाहरु अगाडि आउनु पर्ने आवश्यकता देखिएको छ।

पूर्व क्षेत्रको ऐतिहासिक नगरी विराटनगरबाट १२ किमीको दूरीमा पश्चिममा रहेको यो ताललै सबै उमेर समूहका लागि उपयुक्त मानिएको छ । यसक्षेत्रको समुचित विकास गर्न सरकारले अब पनि ढिलो गर्न नहुने, नभए सम्भावित क्षेत्रहरु लुप्त तथा ओझेलमा पर्ने समय आउन बेर नलाग्ने स्थानीयहरुको गुनासोमा सरकाले ध्यान दिनु पर्ने आवश्यकता देखिएको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया