गुमनाम भएर सहेको कोरोनाको पीडा

टंक पन्त २०७७ पुष २८ गते १७:०७ मा प्रकाशित

अफिसमा काम गरिरहंदा असहज महसुस भयो । सिर्जना वहिनीलाई जानकारी गराएर निस्किए । सिहदबार नजिक थापागाउंवाट धापासी जानुथियो तर वीचमा सामाखुसी  जानैपर्ने थियो । छोरा इशान साथमा थियो । ऊ केहीवेर पिंकुको सानो छोरी संग खेल्न थाल्यो तर म धेरै समय अडिन सक्ने अवस्थामा थिइन । छोरालाई एकैछिन पर्खिदा पनि मलाई वर्षौ भएजस्तो भइसकेको थियो । घर जाने क्रममा गाडी चलाउंदा वरीपरी देख्न समेत निकै कठिन भइसकेको थियो । घर पुगेपछि सोझै विस्तामा जानुपर्यो । विहान सद्धे अफिस गएको म फर्कदा अस्तब्यस्त भइसकेको थिए ।

मैले वुझिसकेको थिए, कोरोना सक्रमण त भएन ?। दुविधामा थिए, अस्पताल जाऊं कि घरमा नै कोरोना विरुद्ध लडौं ? श्रीमती घरमा थिइनन् । उनी तालिम दिनका लागि काठमाडौं वाहिर गएको दुइ साता हुन लागेको थियो । साना छोराछोरी संगै थिए ।

छोरी इशिकाले पिउनका लागि गुर्जो पानी, वाफ लिने र खुट्टा चोभ्ने तातो पानी तयार गरिदिइन । यो वेलासम्ममा मलाई शरिर दुखेर असैह्य पीडा भइसकेको थियो । स्टीम लिन र तातो पानीमा खुट्टा डुवाउन पनि सकिन । अव के गर्ने ? मनमा पटक पटक यही प्रश्न आइरह्यो ।

मनमनै निश्चित गरे । अरुलाई भनेर अत्याउंदिन । जसरी हुन्छ, कोरोना विरुद्ध लड्छु । अस्पताल जांदा पनि त्यही ज्वरो र खोकी घटाउने औषधि दिने हो, श्वास प्रस्वासमा समस्या नहुन्जेल अस्पतालले पनि केही गर्ने होइन । मनले कोरोना संक्रमण भयो भनिरह्यो, मुखले भने चिसोले गर्दा सन्चो नभएको भने । वुवा पनि वुटवलवाट भर्खरै काठमाडौं आउनु भएको थियो । मास्क लगाए, कोठामा नै वसे । वुवालाई नआत्तिन भने । उहांले मकरध्वज औषधि महमा पिनेर खान दिनुभयो । उहां आत्तिनुहुन्छ भने्र केबल ढाढ ज्यान दुखेको मात्र बताएको थिए । अर्को मलाई निकै चिन्ता लागेको थियो म बिस्तरामा पर्ने दिन पिकुलाई लिएर सामाखुशी गएकोले कतै उनीहरुलाई छुने त होइन भन्ने । त्यो चाहि भएन

संधै संगै सुत्ने छोरालाई छोरीले सुताउन लिएर गइन् । शायद उनलाई पनि कोरोनाको वारेमा शंका भइसकेको थियो । न त उनले मुख खोलेर कुरा गरिन्, न त मैले नै भने । हामी दुइले आफ्नै मनमा राख्यौं । रात जति छिप्पिदै गयो, शरीरका हड्डी समेत दुख्न थाले । रात मेरो लागि भयंकर भयो । उज्यालो हुने वेलामा निदाएछु । विऊझिएर यसो हेर्छु त, छोरा अघिनै आएर संगै सुतेको रहेछ । छोरालाई गम्लंग अंगालो हालौ जस्तो भएको थियो तर सकिन । आंखावाट वरर आंसु झरे ।

अघिल्लो दिनको दैनिकी दोहोरियो, गुर्जो र मह हाले पानी पिउने, वाफ लिने, घाममा वस्ने । तर घाममा वस्नै सकिन । जीऊ यति दुख्थ्यो कि, ओछेन वाहेक अन्यत्र अडिन नै नसक्ने । त्यो दिन त जसोतसो कट्यो, रात कटाउनै सास्ती । शरिरका हरेक अंग यसरी दुख्थे कि ओछेनवाट उठ्न समेत कठिन हुन्थ्यो । पेटको छाला यसरी दुखेको थियो कि हिंड्दा थामेर हिंड्थे ।

जति दिन वित्दै गए, गाह्रो हुने क्रम पनि थपिंदै गयो । तीन रात त सुत्नै भएन । दिउसो थोरै कम भए जस्तो हुन्छ राति भएपछि सुत्नै नहुने । कसलाई के भनौ ? दोश्रो र तेश्रो रात त मैले वत्ती वाल्दा पनि उज्यालो देखिन । आंखाले काम नगरेको हो कि दिमागले काम नगरेको हो भन्ने दुखाइले गर्दा भेउ नै पाइएन । वाथरुमसम्म जान पनि आंट आएन । ती रातहरु मैले के सोचेर विताए भन्ने अहिले सेयर गर्न सक्दिन । मनले निश्चय गरिरहन्थ्यो, मेरा जिम्मेवारी अझै वांकी छन्, हिम्मत हार्नु हुंदैन ।

तेश्रो रात असैह्य पीडा वढ्दै गयो । बुटवलमा रहनुभएकी आमा र तालीम दिन बाहिर गएकी श्रीमती मीनुलाई सम्झिए । रात्रिकालिन प्लेन चल्ने भैदिएको भए मीनुलाई आइहाल न भन्ने स्थितिमा पुगेको थिए । बुवा र छोरीलाई उठाउंछु भनेर उठ्न खोजे तर वत्तीको स्वीच समेत पत्ता लगाउन सकिन । विस्तारामा फर्कन्छु भनेर प्रयास गरे तर सकिन । रिंगटा भनन लाग्यो । थुचुक्क भुंइमा वसे । जीवनमा सवैभन्दा वढी आंशु शायद यही वेलामा झरे होलान् । केहीछिन पछि घस्रिएर बिस्तरामा पुगेपछि थाहा पाए, आंसुले गन्जी पुरै भिजेको थियो ।

मलाई कोरोना विरुद्धको लडाइमा मेरो वांकी जिम्मेवारीले साथ दिएको थियो । मीनु साथमा भएको भए शायद अस्पताल पुर्याउंथिन या त उनको ढाडसले पनि यो पीडा अलि कम हुने थियो । जति पटक मेरो जिम्मेवारी वांकी छ भन्ने महसुस हुन्थ्यो, त्यति नै पटक भावविह्वल हुन्थे । आंसुले आंखा टालिन्थे । भोलिपल्ट मीनुले धनगढीको कार्यक्रम छाडेर आउंछु भनिन्, दिउसो अलि सहज भएकोले सकेर मात्रै आउन भने ।

कुरा गर्दागर्दै अघिल्लो रातलाई सम्झिएछु । एकै छिन बोल्न पनि सकिन । निकै भक्कानिए । उनलाई पनि काममा केन्द्रित हुन गाह्रो पर्ला भनेर धेरै कुरा लुकाए । अघिल्लो रात कसरी विताए भनेर पनि सुनाइन । उनलाई मात्र होइन, अहिले यो लेख लेखिरहंदा कति पीडा सहे भनेर कसैलाई वताएको छैन । असजिलो भयो भनेको भए हाम्रै घरको तल्लो तलामा बस्ने बस्याल परिबार वा छिमेकी खड्का परिबारले तत्कालै सहयोग गर्नुहुन्छ भन्ने मनमा विश्वा थियो तर म ल्याव टेष्टवाट कोरोना भयो भन्ने सुन्न तयार थिइन । यो टेष्टले मलाइ मात्रै होइन, सवै परिवारलाई कमजोर वनाउंथ्यो ।

बिश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना महामारीले एक बर्ष पुरा गर्न थालेको थियो । नेपालमा पनि ११ महिना भएको छ । नेपालमा कोरोना महामारीबाट जोगिन लकडाउन भएको एक हप्ताबाटै थोरैथोरै समय कार्यालय जान थालेको र सोही समयमा चार पांच पटक बुटबल, गुल्मी पनि गएको र दुइ महिनापछि त नियमित रुपमा कार्यालय जादा पनि जोगिएकै अबस्था थियो तर अहिले आएर एकाएक कोरोनाले छोयो ।

५ दिन सम्म पर्खिए । किनकि दुइ चार दिन अलिक गाह्रो हुन्छ भन्ने कुरा म आफु पत्रकार भएको हुनाले सुनेको मात्र होइन, अरुले बताएको कुरा लेख्दै पनि आएको थिए । यसर्थ केही दिन पर्खिनुपर्छ भन्ने सोचेको पनि हो । तर ५ दिन सम्म पनि सामान्य ज्वरो, खोकी बाकी नै रह्यो, नाक मुख सुक्ने, शरीरका सबै अंगप्रत्यंग दुख्ने , टाउको दुख्ने भैरह्यो । अनि घरबाट १५ मिनेटमा हिडेरै पुगिने ग्राण्डी अस्पताल गएर चिकित्सकसंग राय लिए । उहाले पिसिआर जांच गराउन भन्नुभयो, केही औषधि पनि लेखिदिनुभयो । पिसिआर जांच गराउन लागिन । पिसिआर गराउंदा पोजेटिभ देखायो भने सबैलाई तनाब हुन्छ भन्ने मेरो बिश्लेषण थियो नै । अर्को कुरा पोजेटिभ आएपनि नआएपनि आफैंले आफैंलाई सम्हाल्ने हो भन्ने मनमा लाग्यो अनि नजिकै रहेको आमन्त्रण फार्मेसीमा पुगेर औषधि लिएर निकै गाह्रो गरी घर फर्किए ।

अन्य समयमा १५ मिनेटको बाटो त्यसदिन मलाई एक घण्टा भन्दा बढी नै लाग्यो । बाटोमा तीन चार ठाऊंमा बसे । छोराछोरीलाई साथमै लिएर आउनु पर्ने रहेछ भन्ने पनि लाग्यो । घर नजिकै रहेको पबित्र धार्मिक स्थल हरिहर मन्दिर, हरिहर सन्यास आश्रममा केही समय बिताएं । निर्मल ब्रम्हमचारीजीले तपार्ईले आत्मबल बढाउनुभएकोले जित्न सक्नुहुन्छ भनेर थप बल दिनुभयो । त्यस्तो बेला कसैले भेटेर ढाडस दिंदा पनि सहज अनुभुति हुंदो रहेछ । यस्तो बेला वास्तबमा भित्री मनदेखि को आफनो भन्ने सोचाई पनि आउंदो रहेछ । हुन त मैले अस्वस्थ भए भनेर सामाजिक संजालबाट सुचना पनि दिइन । अफिस र आफैं थाहा पाएर सोध्ने र भेट्न आउनेलाई बाहेक कसैलाई पनि भनिन । १० दिनसम्म त मोबाइल पनि अफ गरे । कुरा गर्न पनि पटक्कै जांगर लागेन । जब मोबाइल अन गरे त्यसपछि त स्वाथ्यलाभ र भेट्न आउने धेरैजनाको उपस्थितिले मलाई थप आत्मबल बढाउंदै गयो ।

छोरा इशानले अझैसम्म पनि मलाई कोरोना भएको भन्ने वुझेको छैन । अफिस गएर धेरै समय कुर्सीमा बसिरहेको कारणले मेरो जीऊ दुखेको अनुमान लगाउंछ । मलाइ थाहा छ, छोरीले वुझेकी छिन् तर यसवारेमा चर्चा गरेकी छैनन् ।

वावा, अव अफिस नजानु, वरु हामी घरमा थोरै ठाउंमा वसौ र धेरै ठाऊं भाडामा लगाऊ, त्यसो गर्दा हामीलाई पुग्ने पैसा आइहाल्छ, एकदिन छोराले आफ्नो विश्लेषण सुनायो । छोराको विश्लेषणले मलाई थप भावविह्वल वनाएको थियो । अस्वस्थ भएको वेला सानासाना कुराले पनि मन छुने रहेछ ।

मीनु घरमा नभएको गाह्रो भएको समयमा छोरी इशिका र छोरा इशान प्रमुख सहारा र आड भरोषामा खरो उत्रिए, जसले गर्दा पनि मुटु बलियो बन्दै गयो । खास गरी शरीरका सबै अंग, हात खुट्टाका औला– औलाका जोर्नी समेत दुख्ने अनि चल्न चटपटाउन पनि नहुंदा बितेको एक बर्षमा कैयौ हजारले यो जटिल समस्या भोग्नुपरेको सम्झिए । अनि कतिकति बेला कस्ता भेट्रान चिकित्कले समेत ज्यान गुमाउनुपरेको पनि सम्झिने स्थिति पनि नआएको होइन । मेरो सिंगो परिबार मात्र होइन, मलाई सम्झने र मैले पनि सम्झनेका अगाडि मलाई कुनै पनि हालतमा केही हुंदैन भन्ने आत्मबल पनि धेरै पटक बढाउंदा बढाउंदै पनि धेरै थोक सम्झिए त्यसलाई पनि पार गरेर आज मैले यो अनुभुति सहितको सामग्री लेख्न बसेको हुं । मलाई थाहा छ यो लेख पढेर मेरा परिवारबाट पनि किन नभनेको भन्ने भनाई सुन्नुपर्ने छ । तर कहिलेकाही यस्तै हुंदो रहेछ । यस्तो अफ्ट्यारो कसैलाई पनि नहोस । बिरामी त कति कति बेला सबै हुन्छन नै तर यो खालको बिमार कसैलाई नलागोस । नयां जीबन पाएको भन्न पनि मन छ तर त्यस्तो भनु पनि कसरी ?

जब दुखाइ केही कम हुदै गयो तर पनि भिन्नै खालको एकप्रकारको छटपटी हुन थाल्यो । ठ्याक्कै वर्णण गर्ने शव्द छैन तर के के भए जस्तो हुने अनि असहज हुने अबस्था पनि अरु एक दुइदिन आयो । हिंडेर कतै टाढा पुगेर आऊ जस्तो हुने तर दुइ पाइला हिड्यो कि फत्रक फुत्रुक जस्तो हुने गरी गलिने तर पनि शुरुको हप्ताको त्यो पीडा सम्झिदा त अहिले सन्चो नै भैसकेको अनुभुति भएको छ कमजोर भएकोले आराम गर्नुपर्ने भएर मात्र हो । यसरी दिन बित्दै गए । करीब १४ दिन पछि बल्ल तल्ल हिड्न सक्ने भएं  । तर थोरै हिडेपनि गाह्रो हुने, धेरै समय कम्प्युटर, ल्यापटपमा बस्दा पनि गाह्रो हुने भएकै छ । अझै केही समय थोरै काम र धेरै आराम गर्नुपर्ने छ । यस बिषम परिस्थितिमा सबैले आआफनो ख्याल गर्नुबाहेक अर्को बिकल्प रहेनछ ।

समाचारपत्रबाट      [email protected]

प्रतिक्रिया