” हामी यता छौँ “

गम्भीर दुवाडी गजुरी-५,धादिङ्ग २०७७ पुष २१ गते २३:१७ मा प्रकाशित

एक हुल पूर्वतिर बाट
अर्को हुल पश्चिमतिर बाट
बेलगाम दौडेका
हतास र हतारमा
सोध्दै र खोज्दै थिए
हजुर कता ।
यता कि उता।

दौड्को तमासा
गाली गलौजको धमाका
ताण्डव नृत्यको परिकार
आफू अनुकूलको डम्फूको तालमा
परर्र… ताली बज्यो

धर्तीका सजीव प्राणीहरु
अङ्कमाल गर्दै भन्दै थिए
यो मिलन
ऐतिहासिक एकीकरण हुनेछ
एक्कासी लाम्खुट्टेको साइरन बज्यो
पुन: भाग दौड
कोही दक्षिण
कोही उत्तर
हेर्दा हेर्दै तामझामको अन्त्य

उडुस दगुर्यो
उपिया फड्कियो
भागदौडको पदचापले
घाइते जुम्रा शरणार्थी भयो
लाम्खुट्टे आफ्ना
दल बल सहित उपस्थित भयो

साथीहरु ।
हामीमा सब समेट्ने दर्शन छ
हिमाल पहाड तराई
कोही छैन पराइ
न निल्नु न ओकेल्नुको अवस्थामा
तपाई हामी मिल्नुको कुनै विकल्प छैन
भागवण्डा बाहेक सबै मिल्छ
आउनुहोस् आउनुहोस्
कुनै शङ्कोच नमानी
आउनुहोस्
हामी यता छौँ
जीवात्माहरुलाई
रसाइ रसाइ शोष्नुपर्छ
फकाइ फकाइ टोक्नुपर्छ
अटेरीलाई ठोक्नुपर्छ
सर्वाङगिण बिकासको लागि
राजधानी यसै मध्यविन्दुलाई मानौँ
हाम्रा झुण्ड मुण्ड तुण्डलाई छानौँ
गाउँ फर्क अभियानमा खटाऔ

र,
भन्न लगाऔ
उ.उ.जु.ला.वादको *
ऐतिहासिक नारा
‘ हामी यता छौँ ‘

* उडुस उपिया जुम्रा र लाम्खुट्टे हामी यता छौँ

गम्भीर दुवाडी
गजुरी -५ , धादिङ्ग

प्रतिक्रिया