सर्वोच्चलाई पनि नपर्खने र चुनावलाई पनि नमान्नेले संसद विघटनलाई प्रतिगमन भन्नु पराजित मानसिकता : सहरी विकास मन्त्री प्रभु साह

सञ्जय मित्र,रौतहट २०७७ पुष १६ गते १२:२१ मा प्रकाशित


सञ्जय मित्र,रौतहट

सहरी विकास मन्त्री तथा नेकपाको प्रदेश २ का अध्यक्ष प्रभु साहले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपिशर्मा ओलीको कदमको समर्थन गर्दै ताजा जनादेशको लागि जनतामा जानु प्रतिगमन नभएको स्पष्ट पारेका छन्।
गृह जिल्ला रौतहटको गरुडामा आयोजित जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री साहले केही नेताले संसद विघटन गरी ताजा जनादेशका लागि जनतामा जानुलाई प्रतिगमन भन्न नहुने बताएका छन्।संसद विघटन गरेर प्रधानमन्त्रीले देशको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएको नभई ताजा जनादेशका लागि जनतामा जानको लागि मिति घोषणासमेत गरिएकोले प्रधानमन्त्री ओलीको कदम लोकतान्त्रिक भएको जिकिर मन्त्री साहले गरेका छन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालप्रति कटाक्ष गर्दै मन्त्री साहले जनताले चुनाव पराजित गरे पनि प्रधानमन्त्री बन्ने र कार्यकर्ताले अध्यक्षमा हराए पनि पार्टीको अध्यक्ष बन्ने प्रवृत्ति नै प्रतिगमनकारी भएको र जनतामा जान डराउनेले प्रतिगमन भन्न उचित नभएको बताएका छन्।

माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचन्डको समूहले संसद विघटनपछि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको विषयमा सर्वोच्चको फैसलालाई पनि नकुरेको तथा ताजा जनादेशमा पनि जान नचाहेर सडकमा गएकोले पराजित मानसिकता देखिएको मन्त्री साहले बताएका छन्।

आफ्नै पार्टीको सरकारमाथि आफ्नै पार्टीका नेताहरुले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नेजस्तो गम्भीर षड्यन्त्र गर्ने प्रचन्ड–नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्तावमा आफूले हस्ताक्षर नगरेको स्पष्ट पार्दै मन्त्री साहले गत असार महिनामा कुनै प्रयोजनको लागि गराइएको हस्ताक्षरलाई अविश्वासको प्रस्तावमा राखिएको भन्दै आफ्नो सहीको कीर्ते गरिएको आरोप पनि लगाएका छन्।

मन्त्री साहले नेकपा अध्यक्ष प्रचन्डलाई माओवादलाई पूर्णतया विसर्जन गरिसकेको आरोप पनि लगाएका छन्।प्रचन्डले माओवादी पार्टी हुँदाको अवस्थाका सबै सिद्धान्तलाई बिर्सदैँ गएको आरोप लगाउँदै प्रचन्डमाथि इमानदार कार्यकर्ताको मूल्यांकन गर्ने क्षमताको अभाव रहेको आरोप पनि लगाएका छन्।

चुनावमा जान पनि डराउने र सर्वोच्च अदालतको फैसला कुर्न पनि नसक्नेहरुले पार्टी र सरकार विरुद्ध निरन्तर षड्यन्त्र गरेको यथार्थ सबैले बुझनुपर्ने मन्त्री साहको भनाइ छ।चारैतिर बाट पार्टी नेताहरुले घेरेपछि बाध्य भएर प्रधानमन्त्रीले ताजा जनादेशमा जाने बाटो रोजेको मन्त्री साहको भनाइ छ।

नेकपाको प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य सत्यनारायण मन्डल,रेखा झा, अबुल कलाम आजाद,कुन्दन कुशवाहा लगायतले मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीको बचाउ गरेका थिए भने प्रचन्ड–नेपाल समूह माथि खनिएका थिए।

हजारौँको सहभागिता रहेको कार्यक्रममा मन्त्री साहलाई ५१ किलो फूलको मालाद्वारा गृह जिल्ला रौतहटमा स्वागत गरिएको छ।

जसपाका केन्द्रीय सदस्य बबनसिंह गरे नेकपा प्रवेश
संविधानसभा सदस्य तथा पूर्वसाँसद बबन सिंह नेकपामा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सिंहले सहरी विकास मन्त्री प्रभु साहबाट टीका र माला लगाई प्रधानमन्त्री ओली समूहको नेकपामा प्रवेश गरेका हुन् । नेकपामा प्रवेश गरेपछि पूर्वसाँसद सिंहले प्रदेश २ सरकार चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । यसै गरी प्रमोद यादवसहित जसपाका विभिन्न तहका नेता तथा कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् । यसै गरी नेपाली काँग्रेसका लालबाबु साह पनि सयौँ कार्यकर्तासहित नेकपामा प्रवेश गरेका छन् ।
नेकपाको ओली समूह प्रदेश २ मा बलियो हुँदै गएको विश्लेषण गरिन थालिएको छ ।

प्रतिक्रिया