राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने – मुख्यमन्त्री राई

इनेप्लिज २०७७ पुष १६ गते ०:५० मा प्रकाशित


विराटनगर,१५ पुस।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा देखिएको राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताउनु भएको छ।

किरात राई यायोक्खा महानगर समितिद्वारा उद्यौली पर्वको उपलक्ष्यमा विराटनगर–११ स्थित किरात राई यायोक्खा सामूहिक चुल्लो भवन( खिम)को आज उद्घाटन गर्दै जनतामा सङ्घीय र प्रदेशमा रहेको स्थिर सरकारको अन्यौता सम्वन्धी निरासा केही समयभित्र सकारात्मक दिशा लिनुका साथै विकास र समृद्ध कार्य द्रुत रुपमा अगाडि वढ्ने विश्वास व्यक्त गर्नु भयो।

मुख्यमन्त्री राईले हाम्रो संविधानले सवैजात जातिका सम्पन्थमा स्पष्ट पहिचान तोकको छ भन्दै सङ्घीयतामा मुलुकमा सवै क्षेत्रमा वसोवास गर्ने नेपालीहरुको हक अधिकारी स्थापित गरेको बताउनु भयो।

उहाँले सङ्घीयतामा विकासको पहुँच जनतासम्म्म पुग्छ भन्ने उदाहरण वर्तमान भवन निर्माणबाट देखिएको चर्चा गर्दै सडक,अध्यारोमुक्त घर,रोजगारी,जेष्ठ नागरिक सम्मान बालबालिकको अधिकार संरक्षण,गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नागरिकको सहज र सरल पहुँच सङ्घीयतामा सम्भव हुन्छ भन्नु भयो।

मुख्यमन्त्री राईले लोकतन्त्रमा हामीले हाम्रो भाषा,धर्म र संस्कृति संरक्षणको संगठित रुपमा कार्य गर्नुपर्ने बताउँदै अन्यथा नेपालीेको पहिचान हराउने धारणा व्यक्त गर्नु भयो।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले चुल्ला हाम्रो मौलिक परम्परा हो भन्दै आफ्नो थलो छोडेर आएकाहरुको व्यवहारिक समस्या सामुहिक रुपमा समाधान भएको बताउनु भयो।

महानगर समितिका अध्यक्ष विष्णुकुमारी राईको सभापतित्वमा भएको उक्त उद्घाटन समारोहमा वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने,सामाजिक अभियन्ता वसिम आलम र आदिवासी जनजाति महासंघ मोरङ अध्यक्ष दिलवहादुर थेवे लगायतले सरकारले सवै जातजातिको धर्म,सस्कृतिको सम्मान एवं संरक्षण गर्नु पर्नेमा जोड दिनु भयो।

विराटनगर –११ स्थित तीन कठ्ठा १५ धुर जग्गामा दुई तल्लो भवनमा एक सामूहिक चुल्हो (खिम),दुई सभा हल लगायत पाँच बटा कोठा रहेका छन्।

सङ्घीय सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रु २५ लाख,प्रदेश नं १ सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले रु ६० लाख तथा उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु १० लागत तथा अन्य दाताहरुको गरी रु एक करोड १० लाखमा भवन निर्माण कार्य सम्पन्न गरिएको हो।

सोही अवसरमा मुख्यमन्त्री राईले रु ४० लाख मूल्य बरावरको एक कठ्ठा जग्गा निशुल्क उपलव्ध गराउने मेजर मानवहादुर राई लगायत अन्य दातालाई सम्मान पत्रद्वारा सम्मान गर्नु भएको थियो।

मुख्यमन्त्री राईले सञ्चारकर्मी नारायणभक्त राईद्वारा लिखित किरात राई समुदायको प्रथाजनित कानुन पुस्तकको समेत विमोचन गर्नु भयो।

प्रतिक्रिया