पशु बधशालाको अभावमा मानिसहरु अस्वस्थकर मासु खाँदै

मनोज दाहाल २०७७ पुष १४ गते २२:१५ मा प्रकाशित


मनोज दाहाल,

विराटनगर,१४ पुस (रासस): उचित बधशालाको अभावमा विराटनगरबासीले स्वच्छ,स्वास्थ्कर मासु खाने चाहना पुरा हुन सकेको छैन।

उन्नाईस वटा वडा रहेको विराटनगर महानगरपालिकाले एक मात्र सुन्दर, आधुनिक बधशाला निर्माण गर्ने उद्देश्यले पनि यो नगरबासीको चाहना पूरा गर्न सक्दैन।ठूलो क्षेत्र भएको र सबै क्षेत्रका मानिसहरु एकै ठाउँमा मासु खरिद गर्न पनि गाह्रो हुने भएकोले बधशाला नगरबासीको सहुलियत एवं सुविधाको दृष्टिकोणले तीन वा चार ठाउँमा बधशाला निर्माण गर्नु पर्ने आवश्यकता देखिएको छ।

यसको अभावले गर्दा नै नगरको विभिन्न स्थानमा अहिले मासु पसल राखेका पाइन्छ।ती पसलहरु निश्चित माप दण्ड पनि पूरा गर्न सकिरहेका छैनन्।जसले गर्दा मानिसहरु अस्वस्थकर मासु खान बाध्य हुन्छ।ती मासु पसलेहरुले काटेर राखेका खसी बोकामा झिङ्गा लागि रहने,बाहिर बाट आउने धुलो पनि लाग्ने समस्यालाई उचित बधशालाले नै निराकरण गर्न सकिने उपभोक्ताहरुको भनाई छ।विराटनगरको सीमवर्ती बजार रानी देखि शिरान तर्फ वा विराटनगर महानगरपालिकाको उत्तरी सीमा पहडगछ सम्ममा १०० औँको सङ्ख्यामा त्यस्ता मासुल पसलहरु छन्।

ती सबै मासु पसललेहरुले आफ्ना इच्छा अनुसार खसी बोका काट्ने र विक्री गर्ने गरेको तथा यसबाट निस्कने फोहोर पदार्थहरुको उचित व्यस्थापन गर्न नसक्दा दुर्गन्ध हुने समस्या देखिएको छ।मासु पसल वरपरका अन्य पसले वा घरधनीहरु पनि यस्तो समस्याबाट बाहिर निस्कन सकेको छैन्।मासु पसलमा सरकारी निगरानीको अभावले गर्दा खसीको मासु हो कि बाख्रोका मासु हो त्यो पनि छुट्याउन उपभोक्ताहरुलाई समस्या हुने गरेको छ।

यी सबै समस्यको समाधान निश्चित ठाउँमा पशु बधशालाको व्यवस्था भएमा मात्र गर्न सकिने स्थानीयबासी राजेश श्रेष्ठले जानकारी दिनुभयो।

हुन त विराटनगर महानगरपालिकाले पशु बधशालाको धारणा नल्याएको पनि होइन् तर यो काम कछुवातालमा हुने भइरहेकोले नगरबासी यसबाट हैरान भएका छन्।यसले चोक चोकमा हुने मासु पसलहरुलाई व्यवस्थित गर्न पनि मद्दत गर्न सक्छ । दिनमा ५०० वटा भन्दा बढी खसी विराटनगर क्षेत्रमा काटिने गरेको विराटनगर बसपार्क स्थितका करिया मासु पसले जानकारी दिनुभयो।उहाँले अहिले पनि दिनमा पाँच देखि छ वटा खसी काट्ने गरेको र मानिसहरुलाई स्वस्थकर मासु खुवाउ पसलमा सिसाले घेराबेरा गरेको बताउनुभयो । यस्तै, घेराबेरा अरु पसलेले गर्न सकेका छैनन्।जसले गर्दा समस्या हुनु स्वभाविक हो उहाँको भनाई छ।

महानगर क्षेत्रमा खुल्ला रुपमा चैपायाको वध गर्दा त्यसबाट सर्वसाधारण नागरिकको स्वास्थ्यमा असर पर्ने गरेको छ।विराटनगरमा सुविधा सम्पन्न पशु वधशाला निर्माण शुरु भएपनि अहिलेसम्म विभिन्न कारणले सम्पन्न हुन सकेको छैन।

विराटनगर–८ मा एक विगाहा आठ कठ्ठा जग्गामा विसं २०६६ बाट नै निर्माण शुरु गरिएको वधशाला अहिले जीर्णअवस्थामा पुगेको छ।विराटनगर महानगरपालिकाले उक्त बधशाला निर्माणका लागि अहिलेसम्म रु एक करोड १९ लाख खर्च गरिसकेको छ।

निर्माणाधीन रहेको बधशालाको विराटनगर महानगरपालिकाले अहिलेको संरचनासम्म आईपुग्न रु एक करोड १९ लाख खर्च गरिसकेको महानगरपालिकाका भेटेरेनरी शाखा प्रमुख हीरालाल कामतले बताउनु भयो।

निर्माणाधीन बधशालाका लागि विस्तृत निर्माण परियोजना लगातको रुपमा रु २१ करोड २५ लाख ८० हजार तयार गरी पशु सेवा विभागमा संशसोधनका लागि पठाएको उहाँले जानकारी दिनु भयो।

हेफर इन्टरनेशनलले तयार पारेको डिपीआर संशोधनका लागि पठाईएको आएपछि निर्माणले कार्यले गतिलिने छ।आर्थिक लगायतका अन्य विभिन्न कारण बधशाला समयमा सम्पन्न हुन नसक्नु दुःखद हो।

विराटनगरमा सुविधा सम्पन्न पशु बधशाला निर्माणका लागि प्रदेश सरकारले गत दुई आर्थिक वर्षमा करीब रु आठ करोड बजेट विनियोजन गरेको थियो। आर्थिक बर्ष २०७५–०७६ मा करीब रु.तीन करोड विनियोजन गरिएकोमा खर्च नभएर फिर्ता भयो भने दोश्रो पटक २०७६–०७७ मा रु पाँच करोड विनियोजन गरेको थियो।

प्रदेश नं १ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका अनुसार गएको वर्षमा विनियोजन गरेको बजेट फ्रिज भएपछि चालु आर्थिक वर्षमा बजेट विनियोजनको व्यवस्था नभएको जानकारी दियो।मन्त्रालयले बजेट विनियोजन मात्र गरेर के गर्नु काम पनि हनु पर्यो नी भनाई राखेको छ।

विराटनगरमा व्यवस्थित पशु वधशाला नहुँदा जथाभावि रुपमा पशुवध गरिने गरेको छ।सार्वजनिक स्थल,धार्मिक क्षेत्र,नदी,सडकको किनारा तथा नालामाथि जथाभावी बध गरी मासु बिक्री गर्नाले सर्वसाधारण जनताको स्वास्थ्यमाथि गम्भीर असर परिरहेको छ।

होटल व्यवसायी संघ प्रदेश अध्यक्ष राजन श्रेष्ठले प्रदेशको राजधानीमा एउटा व्यवस्थित बधशाला निर्माण नहुँदा पाहुनालाई स्वस्थ्यकर मासु पस्कन समस्या भएको बताउनु भयो।उहाँले विदेशीलाई स्वस्थकर एवं छालारहित मासु खुवाउनु पर्ने आवश्यकतालाई यहाँका केही मासु पसलेले मात्र पूरा गरेको छ।कुनै पनि चौपायाको छालायुक्त मासु खानु स्वास्थ्यका लागि निकै हानी हुने गरेको अध्यक्ष श्रेष्ठको भनाई छ।

विराटनगरमा माछा मासु गरेर दैनिक १० देखि १२ हजार केजी हाराहारीमा खपत हुने गरेको भेटेरेनरी शाखा प्रमुख कामतले बताउनुभयो।व्यवस्थित बधशालाको अभावमा जथाभावी काटेर बिक्री गर्दा स्वास्थ्यमा गम्भीर समस्या पुर्याउने विज्ञहरु बताउने गर्दछन्।

जथाभावी गरिने बधका कारण वातावरणमा समेत असर भएकोले हामीले कैयौँ पटक आवाज उठाउँदा पनि समस्या जहिको त्यही छ स्थानीय केवल कार्कीले जानकारी दिनुभयो।

विराटनगर–९ का गृहणी सरस्वती श्रेष्ठले सार्वजनिक स्थानमा पशुबध गर्दा त्यसका हाड,छाला जताततै फालिने गर्दा समाजमा दुर्गन्ध फैलिने गरेको बताउनु भयो ।सार्वजनिक स्थानमा बधका कारण भुस्याहा कुकुरको सङख्यामा वृद्धि भइ रेविज लाग्ने डर नगरबासी देखिएको विराटनगर–११ का अर्जुन सुवेदीको भनाइरहेको छ।

बालबालिकाहरुलाई सार्वजनिक स्थल, चोक, सडकमा मासु काट्ने गरिदा मनोवैज्ञानिक असर विराटनगर–१० का राजेश सिंह डंगोलले बताउनु भयो।उहाँ भन्नु हुन्छ–मुलुकमा शाकाहारीको दिनप्रतिदिन वृद्धि भइरहेको अवस्थामा सार्वजनिक स्थलमा गरिने पशुजन्य बध रोक्नु आवश्यक छ।

होटल व्यवसायी भविष श्रेष्ठ प्रदेशको राजधानी रहेको विराटनगरमा अविलम्व व्यवस्थित बधशाला निर्माण कार्यलाई द्रुतगतिमा सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो ।

विराटनगर महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा पशुबधशाला निर्माणको कुरा समावेश गरेपनि कार्यन्वयन हुन सकेको छैन।महानगरले चालु आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा भने खुल्ला रुपमा पशुहरुको बध गर्ने कार्यलाई नियन्त्रण गरी व्यवस्थित रुपमा प्रदेश सरकारसँगको साझेदारीमा आधुनिक तथा सुविधा सम्पन्न पशु बधशालाको निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख गरेको छ।

एशिया टेक होटलका प्रमुख पुण्य भट्टराईले खुल्ला रुपमा गरिने चौपायाको बध नियन्त्रण गरी स्वदेशी विदेशी पाहुनालाई स्वस्थ्य मासुजन्य सामाग्री उपलव्धताका लागि प्रदेश र स्थानीय सरकारसँग आग्रह गर्नु भएको छ।

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया