कोरोनामा पिटरको क्रिसमस

बाबा राजेश्वरी थापा २०७७ पुष १० गते ११:४० मा प्रकाशित

कोरोना महामारी शुरु हुनु अगाडीको कुरा! घरेलू कामदार चाहियो भन्ने विज्ञापन देखेर मैले मेरो आवेदन पठाए । भोलीपल्ट एकपटक समय मिलाएर भेट्न बोलाए पछि म पिटरको घर गएको थिए । रेलस्टेशनबाट टाढा भएकोले मलाई लिन पिटर गाड़ी लिएर आएको थियो। बाटोमा जांदा उसले मेरो बारेमा सबै सोध्यो र म नेपालबाट पढ्नको लागि जर्मनी आएको सुनेर खुशी भयो। गाडीबाट ओर्लिएपछि दुई हात फैलाउदै मलाई भन्यो, “आजसम्म जीवनमा नेपाली भेटेको थिइन, के म तिमीलाई अंगालो मारेर मेरो घरमा स्वागत गर्न सक्छु?” पैसठ्ठी नाघेर अवकाश जीवन शुरु गरेको पिटर मेरो हजुरबुबा जस्तै लाग्यो र मैले उसको आत्मीयता सहर्ष स्वीकारें।

ठुलो बगैचा, स्वीमिंग पुल र दरबार शैलीको ठुलो घर रहेछ। उसकी श्रीमती ब्रिगिट्टा लामो समयदेखि बिरामी परेकीले घरेलु कामदार खोजेको कुरा उसले बतायो। मैले गर्नुपर्ने कामको जिम्मेवारी सम्झाउदै घरका कोठाहरु देखायो । उसका दुई छोरा मध्ये एक वैज्ञानिक रहेछ र अमेरिकामा बस्दोरहेछ, अर्को डाक्टर रहेछ र दुबईको एक अस्पतालमा काम गर्दोरहेछ । एक मात्र छोरी सफ्टवेयर इन्जिनियर जो एक इटालियनसंग प्रेमसम्बन्धमा रहेर अहिले उतै गएकी रहिछे ।

छोराछोरीहरुका बारेमा कुरा गर्दा उनीहरुका कोठा देखाउदा निकै भावुक देखिन्थ्यो । पिटरले उसका छोराछोरीका कुरा गरिरहदा उसकी श्रीमतीले भनी,” घरको सफाई गर्दा छोराछोरीका कोठाहरु सफा गर्न नभुल्नु।” उसले पनि थप्यो,” हो हो। उनीहरु यहाँ नभएपनि उनीहरुका यादहरु जोडिएका छन, त्यसैले सामानहरु जसरी राखिएका छन, त्यसरी नै राख्नु जस्ताको तस्तै!” म अचम्ममा परें। मैले त नेपालमा हुदां सुनेको थिए, खैरेले आफ्ना छोराछोरीलाई हामी नेपालीले जस्तो माया गर्दैनन्, न त छोराछोरीले नै आमाबाबुको वास्ता गर्छन। अठार वर्ष नपुगुन्जेल मात्र हो छोराछोरी आमाबाबुसंग बस्ने, त्यसपछि त घर छोडेर हिड्छन। मैले सानो स्वरमा सोधे, “ तिमीहरुको छोराछोरी तिमीहरुलाई भेट्न आउछन?” दुवै बुढाबुढीले एकै स्वरमा भने, “किन नआउनु आइहाल्छन नि अप्रिलमा इस्टर छ सबै आउछन, हरेक चाड र जन्मदिन हामी एकसाथ मनाउछौ।” ब्रिगिट्टाले औला देखाउदै भनी,” इस्टर आउन दुई महिना बांकी छ।” अन्त्यमा मलाइ काम दिन दुवै बुढाबुढी राज़ी भए।

मार्च महिनामा कोरोना महामारी शुरु भयो, सरकारले सुरक्षा नीतिमा कडाई गर्न थाले पछि पिटर र ब्रिगिट्टाले मलाई उनीहरुकै घरमा बस्न अनुरोध गर्न थाले। मेरो युनिभर्सिटी पनि अनलाइन पढाई हुन्थ्यो र बुढाबुढी महामारीका कारण अत्यन्तै डराएका थिए। उनीहरुका छोराछोरी आउन सम्भव थिएन, त्यसैले उनीहरुले पनि मलाई त्यही बसिदिन अनुरोध गरे र मैले त्यही बस्ने निर्णय गरें। अचानक ब्रिगिट्टा बिरामी परी, पहिले सामान्य देखिए पनि उसलाई कोरोनाको लक्षण देखियो। पिटर र मैले एम्बुलेंस बोलाएर अस्पताल पठायौ। हामीलाई पनि परीक्षण गरियो तर हामीलाई संक्रमण भएको रहेनछ। उता ब्रिगिट्टाको स्वास्थ्य दिनप्रतिदिन बिग्रन थाल्यो, दुर्भाग्य उसलाई भेट्न समेत अस्पताल जान पाइएन । पिटरका छोराछोरी हरेक दिन फोन गरेर हालखबर बुझ्थे, उनीहरुलाई पनि जर्मनी फर्किन सम्भव थिएन, लकडाउन र महामारीको प्रभाव संसारभर परेको थियो ।

इस्टरको अघिल्लो रात अस्पतालबाट फोन आयो, ब्रिगिट्टाको स्वास्थ्य अत्यन्तै नाजुक भएछ र उसलाई अन्तिम बिदाई गर्न पिटरलाई भिडीयो कलमा जोडिन अनुरोध गरे। दुई महिना अगाडी सपरिवार इस्टर एकसाथ मनाउने सपना देखेकी ब्रिगिट्टा मृत्युसंग दिनदिनै पराजित हुदै गइरहेकी थिइन। बर्बर आँसु झारेर पिटरले ४० वर्षदेखि वैवाहिक सम्बन्ध गांसिएकी जीवनसंगिनीसंग बिदा र माफी माग्यो । अनेकौ प्रयास पछि पनि ब्रिगिट्टालाई बचाउन अस्पताल सफल भएन । दुखको कुरा ब्रिगिट्टाको अन्त्येष्टि समेत राम्रोसंग गर्न पाएन पिटरले।

जीवनसंगिनी गुमाए पछि सधै चिन्तित मुद्रामा घोरिरहेको हुन्थ्यो ऊ। नराम्रोसंग खान्थ्यो न बोल्थ्यो। पटकपटक छोराछोरीलाई फोन गर्थ्यो तर महामारी विभिन्नरुपमा विकसित हुदै गयो। सरकारका विभिन्न चरणका सुरक्षा नीतिका कारण उसका छोराछोरीलाई बाबु भेट्न आउन त्यति सहज थिएन। यता पिटर मानसिकरुपमा शिथिल बन्दै गएको थियो। सम्झाउने कोशिस मैले गर्थे तर उसको विचलित मनलाई मेरो सान्त्वना भन्दा पनि उसैका छोराछोरीको साथ जरुरी थियो। दिन बित्दै जांदा ऊ दिनप्रतिदिन शारीरिक र मानसिकरुपमा कमजोर हुदै गएको थियो। चिन्ताका कारण ऊ राम्रोसंग हिडडुल समेत गर्न नसक्ने भएको थियो। एकदिन बगैंचामा ह्विलचेयरमा राखेर मैले उसलाई डुलाउदै गर्दा अचानक ऊ डांको छोडेर रुदै भन्यो,” क्रिसमसमा पनि छोराछोरी भेट्न पाइन भने म पनि मर्छु होला।” उसको यी शब्दले मलाई अत्यन्तै पीडा महसूस भयो। म उसको घरेलु कामदार भएपनि आफ्नै सन्तान जस्तै व्यवहार दुवै बुढाबुढीले गर्थे र बुढीको मृत्युपछि त मलाई पन्ध्र मिनेट आफ्नो अगाडी देखेन भने पनि एकदमै आतिन्थ्यो ऊ।

म मनमनै सोच्न थाले क्रिसमसमा पिटरलाई उसका छोराछोरीसंग कसरी भेटाउने। आखिरमा एउटा योजना बुने। क्रिसमस आउने तीन हप्ता बाँकी थियो। म मेरो परीक्षा छ तीन घण्टामा फर्किन्छु भनेर पिटरको नीजि चिकित्सक कहाँ पुगे। ऊ पिटरकी राम्रो साथी पनि थिई, उसलाई सबै कुरा बताएँ । उसले भनी, “ म उसलाई डिप्रेशनको औषधि लेखिदिन्छु , अरु मैले केही गर्न सक्दिन।” मैले धेरै हात जोडेपछि ऊ बल्लबल्ल राज़ी भई मेरो योजना बमोजिम पिटरका सबै छोराछोरीलाई इमेल लेखेर उसको ज्यान खतरामा रहेकोले तुरुन्तै बाबुलाई भेट्न आउन। डाक्टरले फेरि पनि मलाई चेतावनी दिई, यदि यो योजना हामी दुई बाहेक अरु कसैलाई थाहा हुनेछैन किनकी किर्ते काम गर्नु पनि अपराध हो, यस अपराधमा पनि जेल सजाय हुनसक्छ । डाक्टरको जागिरको सुरक्षाको लागि र पिटरको खुशी फर्काउन मैले डाक्टरलाई मेरै योजना अनुसार पिटरका छोराछोरीलाई डाक्टरले झुठो विवरण दिई इमेल लेखेको र यस कामको लागि म एक्लै जिम्मेवार छु र कानुनी कारवाही भएमा सजायको लागि पनि म एक्लै तयार छु भनी एक करारपत्र लेखि हस्ताक्षर गरिदिए । मनमा डर त लागेको थियो तर एक दुखी र महामारीको त्रासमा आफ्नो परिवार भेट्न नपाएको बुढो बाबुको लागि सजाय भोग्न म तयार भए।

पिटर हरेक दिन बिहान मलाई आज कति तारिक हो भनेर सोध्थ्यो। म उसको मन भाव बुझ्थे, ऊ जान्न चाहन्थ्यो क्रिसमस आउन कति दिन बाँकी छ। क्रिसमसमा फेरि लकडाउन घोषणा भयो तर यो सुनेर पिटर फेरि रुदै भन्यो,” म त छोराछोरीको मुख हेर्नै नपाई मर्छु।” दिनभर केही खाएन, मैले उसको आंखा छलेर डाक्टरलाई हाम्रो योजना के भयो भनेर सोधे, उसले आफ्नो काम आफुले गरिसकेको बताई ।

डिसेम्बर २३ तारिकको दिन पिटरको घरको ढोकामा कसैले जोरजोरले घण्टी बजायो। म ह्वीलचेयरमा पिटरलाई लिएर ढोका खोल्न गए। ढोका खोल्दा अगाडी पिटरका तीन सन्तान फुलका गुच्छा बोकेर आंखा भरी आंसु पारेर उभिएका थिए ।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया