किमाथाङ्का बाटो समृद्धिको आधारशिला

मोहम्मद सदरुल २०७७ पुष ७ गते ११:४१ मा प्रकाशित


मोहम्मद सदरुल,

विराटनगर,७ पुस(रासस) : नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने किमाथाङ्का बाटो उच्चप्राथमिकतामा पर्नु पर्ने आवश्यकता देखिएको छ। भूपरिष्ठित नेपाल राष्ट्रलाई भूजडित गर्न मद्दत पुग्ने यो बाटोले संखुवासभा, तेह्रथुम, धनकुटा जिल्ला मात्रलाई नभइ पुरै नेपाललाई पनि उत्पादन एवं समृद्धिको ढोका खोल्ने अनुमान गरिएको छ।

नेपालको आय आर्जनमा महत्वपूर्ण योगदान रहने योबाटोले नेपाल, भारत र चीनसँगको सम्बन्धलाई अझ फराकिलो र विस्तार गर्नमा मद्दत पुग्ने अनुमान निजी क्षेत्रले टडकारो रुपमा उठाएका छन्।

संखुवासभाको खाँदवारी देखि चेम्पाङसम्म १३४ किमी बाटो बनिसकेको छ भने चेम्पाङ देखि माथि सीमासम्मको १४ किमी बाटोको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले लिएको सडक डिभिजन कार्यालय संखुवासभाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो । चीनसँग जोडिने यो बाटोको चीन तर्फबाट नेपाल तर्फ आउने करिव १० किमी बाटोको काम भएको छ । नेपाल क्षेत्रको बाँकी १४ किमी बाटोको खुल्ने वित्तिकै यो बाटोले पूर्णता पाउने बताइएको।

उहाँले यो बाटोका काम तत्काल भौगोलिक कठिनाई र अत्यधिक चिसोको कारण आउने माघ १५ देखि काम नेपाली सेनाले शुरु गर्ने र अहिले तत्काल बाटोमा आवश्यक पर्ने सामान वा सामग्रीहरु जुटाउनमा नेपाली सेना जुटेको जानकारी दिनुभयो।

खांदबारी देखि शिरान तर्फ ८० किमी बाटोमा साना सवारी साधनहरु सजिलैसँग सञ्चालनमा आएको र त्यहाँ भन्दा माथि चेम्पाङसम्म ट्रयाक्टरबाट आवत तथा ढुवानीको काम भइरहेको डिभिजनल इन्जिनियर श्रेष्ठले बताउनुभयो।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले किमाथाङ्का बाटोको माथि तर्फ ट्रयाक खोल्न नेपाली सेनाले जिम्मा लिइसकेको अवस्थामा यो काम छिट्टै हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो बाटोको निर्माणसँगै पहाडी जिल्ला वा विकट क्षेत्रमा हुने अभावलाई हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको सीमावर्ती बजार भारतको जोगबनी देखि उत्तर चीनसँग जोडिने यो बाटो लगभग २०० किमी को छ । विराटनगरको रानी देखि सुनसरी, धनकुटा, खाँदवारी तेह्रथुम हुँदै चीनसम्म जाने यो बाटोले विश्वका दुई शक्तिशाली राष्ट्र चीन र भारतको व्यापारलाई नजिक बनाउनुका साथै यसबाट नेपालले प्रशस्त लाभ लिन सकिने अनुमान गर्न सकिन्छ ।यसैकारणले नेपाल सरकारले मुलुकमा पर्ने विभिन्न समयको अप्ठ्यारालाई पार गर्न यो अवधारण ल्याएको र यो बाटोको काम उत्तर दक्षिण व्यापारिक विस्तार आयोजना निर्देशनालयबाट भइरहेको छ ।
गएको मङसिर ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अनुगमन एवं निरीक्षण गर्नुभएकोले यो बाटो छिट्टै निर्माण हुने जनप्रतिनिधिहरुका विश्वास पनि बढेको पाइएको छ।

चीनको सबै भन्दा ठूला बजार भारत र भारतका पनि सबै भन्दा ठूला बजार चीन भएकोले यो बाटो प्रयोगबाट यी दुबै देशलाई व्यापार गर्न सजिलो हुने यहाँका उद्योगी एवं व्यापारीको भनाई छ । भारतको चिनियाँ बजार र चीनको भारतीय बजारमा सजिलो एवं सरल पहुँच हुने यो बाटो बन्नु पर्ने विराटनगरका व्यापारीहरुले अढाई दशक अगाडि देखि उठाई रहेका छन् ।

यो निर्माण भएपछि सञ्चालनमा आएमा प्रदेश न.१ को राजधानी विराटनगर एक महत्वपूर्ण ट्रान्जिटप्वाइन्ट बन्न सक्ने र यसबाट सबै क्षेत्रले बराबारी लाभ लिन सकिने अनुमान निजी क्षेत्रका उद्योगी एवं व्यापारीको भनाई छ।

वि.स.२०४६ को राजनीतिक परिवर्तन पछि बनेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला देखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यो बाटोको विषयमा चर्चा गरिसकको नेपाल उद्योग वाणिज्य महासंघको पूर्वकेन्द्रीय उपाध्यक्ष किशोर प्रधानले जानकारी दिनु भयो।

अहिले किमाथाङ्का बाटोको शिरानतर्फबाट दुई लेनको ट्रयाक खोल्ने काम शुरु भएपनि यो बाटो चार लेनकै बन्नु पर्ने उहाँको धारणा छ । आर्थिक सामाजिक, सांस्कृति दृष्टिले पनि यो बाटो महत्व निकै छ यसबाट दुई देशको हुने व्यापारबाट नेपालले प्रशस्त लाभ लिन सकिने उपाध्यक्ष प्रधानको भनाई छ।
नेपाल ट्रान्जिट प्वाइन्ट भएकोले यो मार्गको प्रयोग एवं उपयोगले यहाँका होटल व्यावसाय,पर्यटन, आवतमा वृद्धि, सडक प्रयोग गर्ने सवारी साधनबाट कर सङ्कलन हुनुका साथै यहाँका उत्पादन, संस्कृति परस्पर आदानप्रदान हुने अनुमान लगाउन सकिन्छ।

समुन्द्री मार्ग प्रयोग गरेर चीनका सामान भारतको कोलकता र भारतको सामान कोलकताबाट समुन्द्री मार्ग हुँदै चीन जाने अवस्थामा यो बाटो अत्यन्त छोटो र लाभदायी हुने भएकोले यी दुबै देशले बाटो निर्माणमा चासो देखाउनु पर्ने आश्यकता देखिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले यो बाटोको निर्माण भएपछि चीनसँग नेपालको सम्पर्क र सम्बन्ध विस्तार हुने भन्दै भारतसँग पनि जोड्न मद्दत पुग्ने यो बाटो नेपाल र प्रदेश न.१ को समृद्धि र विकासमा कोशे ढुङ्गा सावित हुने बताउनुभयो । उहाँले यो बाटो बन्नु पर्ने विषयमा निजी क्षेत्रले ३० वर्ष अगाडि देखि आवाज उठाइरहेको बताउँदै यो बाटो निर्माण गर्न प्रदेश वा सङ्घीय सरकारले अरु तिर बजेट कटौती गरेर भएपनि यसको निर्माण लगाउनु पर्ने धारणा राख्नुभयो।

केन्द्रीय सदस्य राउतले उद्योगलाई आवश्यकता पर्ने कच्चा ल्याउन र तयारी बस्तुहरु सेवा क्षेत्रमा पु¥याउन तथा यी बस्तुहरुको अभाव उद्योगीहरुले भोग्नु पर्ने समस्यालाई पनि निराकरण गर्न यो बाटो समयमै सम्पन्न हुनु पर्ने कुरामा जोड दिनुभयो।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले किमाथाङका बाटो बाटो मात्र नभएर प्रदेश नं.१ को विकास र समृद्धिको आधारशिला हो भन्नु भयो । उहाँले यो बाटो निर्माण भएमा प्रदेश नं.१ देशभरिमै सबै भन्दा नमुना प्रदेश बन्न कसैले पनि रोक्न नसक्ने प्रतिक्रिया दिनु भयो।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले किमाथाङ्का बाटोले हाम्रा मित्र राष्ट्र चीन र भारतसँगको सम्बन्धलाई अझ प्रगाढ गर्नुका साथै सगरमाथा अवस्थित यो प्रदेशमा पर्यटक भित्र्याउन,यहाँका सुन्दरता, चेतनालाई विस्तार गर्न पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो।

नेपालको पूर्वी क्षेत्रलाई गुल्जार बनाउन र आर्थिक रुपमा बलियो बनाउन तथा धार्मिक,सांस्कृति, सामाजिक सद्भाव बढाई यी दुबै विकासित राष्ट्रबाट प्रयाप्त फायदा लिन किमाथाङ्का बाटो प्राथमिकतामा पर्नु पर्ने केन्द्रीय सदस्य रेग्मीको भनाई छ।

संखुवासभा चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले सिङ्गो मुलुकको हीतमा हुने यो बाटो पूर्वी पहाडी जिल्लाको लोकमार्गसँग पनि जोडिने भएकोले यो बाटोले नेपालका लागि विशेष महत्व राख्ने बताउनुभयो।उहाँले २०७२ सालमा आएको महाभूकम्प र केही वर्ष पहिले नेपाललाई भारतले लगाएको नाकाबन्दी जस्ता कार्यलाई निस्तेज पार्न र आफ्नो आवश्यकताका सामानहरु सजिलैसँग तेस्रो मुलुकबाट आयात गर्न यो बाटोले निकै मद्दत गर्ने बताउनुभयो । नेपाली जनता र राजनीतिक दलकोे आँखा खुलेकै कारण रक्षा मन्त्रालय मार्फत हुन लागेको यो काम नेपाली सेनामा आएको र विश्वमै ख्याति कमाएको नेपाली सेनाबाट यो काम समयमै सम्पन्न हुने विश्वास प्रमुख खत्रीले व्यक्त गर्नुभयो।

तराईको उत्पादन, सेवा वा बस्तु पहाड र पहाडको उत्पानद, सेवा बस्तु तराईमा सजिलै पु¥याउन मद्दत गर्ने यो बाटोको निर्माणमा ढिलाई गर्न नहुने बुद्धिजीवीको भनाई छ।

प्रतिक्रिया