प्रदेश नं १ मा दुई लाख नागरिकको पिसिआर परीक्षण सम्पन्न

इनेप्लिज २०७७ मंसिर २७ गते १४:०० मा प्रकाशित

विराटनगर,२७ मङ्सिर।प्रदेश नं १ मा दुई लाख सर्वसाधारण नागरिकको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ।

प्रदेशका एक लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि जम्मा दुई लाख १७८ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड –१९ निगरानी,तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा.रविन्द्र निरौलाले जानकारी दिनुभयो।

उक्त परीक्षणमा २८ हजार ८१२ जनामा कोरोना सङ्क्रमण देखिएका छन्।

पिसिआर परीक्षणमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सवैभन्दा बढी ६३ हजार ९२६ जनाको परीक्षण गरेको छ भने प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले ४८ हजार ७४४,कोशी अस्पताल विराटनगरले ४१ हजार ९००,नोवेल शिक्षण अस्पतालले १८ हजार ७३०,मेची अस्पतालले १० हजार ९५८,कनकाई पीसीआर प्रयोगशालाले छ हजार ९८३, विराट शिक्षण अस्पताल वुढीगंगा मोरङले चार हजार १४६, न्युरो अस्पतालले दुई हजार ८३२ र अन्य प्रयोगशालाहरुमा एक हजार ९५९ जनाको रहेको छ।

प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ५८ जना सङ्क्रमित थपिएका छन्। उक्त अवधिमा गरिएको ४६२ जनाको पिसिआर परीक्षण गर्दा झापा र सुनसरीका २०–२०,मोरङ्गका १०मध्ये विराटनगरमा चार,इलामका चार, संखुवासभा र प्रदेश १ बाहिरका दुई÷दुई जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आज ४५ जना सङक्रमित निको भै घर फर्केका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २३ हजार ५८२ पुगेको छ।

 

प्रतिक्रिया