प्रेम कथा

सञ्जय साह मित्र २०७७ मंसिर २१ गते १८:१८ मा प्रकाशित

उत्तरवाहिनी बकेआले झन्डै घेरेको छ गाउँलाई । असारको आकाशले धर्ती तताएको छ भने गाउँलाई त्रास हुन्छ र रुझाएको छ भने धेरैको निद्रा हराउँछ । सोझो छैन, बकेआ ठाकुर पहिलदेखि नै टेंढो छ । कहिले सोझो बनेर कतिको उठिबास गराउँछ त कहिले झन् टेंढो बनेर सताउँछ कैयौँलाई । नदीको पनि मन हुन्छ क्यारे – कहिले सोझो बनेर बिगार्ने र कहिले टेढो बनेर पनि उठिबास गराउने ।

अलिकति पानी आउँदा पनि ठाकुरले तिवारीको घर खोस्रन थाल्छ । पोहोरदेखि तिवारीको घरलाई बकेआ ठाकुरले अलिक बढी सताउन थालेको सबैले देखेका छन् ।

पहिले ठाकुरले तिवारीलाई यसरी सताएको पुर्खौंपुर्खादेखि कसैले देखेसुनेका छैनन् । आँगनमै बसेर ठाकुरको शान्त र रौद्र रूप निस्पृह नयनले हेर्दै आएको छ तिवारी परिवार । “हे बकेआ ठाकुर, एई साल कथि होगेल ? काहेला खिसिआएल छा ?” मनमनै प्रार्थना गर्छन् घरका सबै ।

बिहानै बाढी बढेको छ । ठाकुरको रङरूप अलिक फरक छ । बढी हिलोमाटो कताकताबाट बगाएर ल्याउँदैछ, लैजाँदैछ । गर्जन छैन तर कुनै बेला नाच्दै बाढीको पानीको एक झोक्का आएर तिवारीको घडेरीमा ठोक्किन्छ । अलिकति माटो खोस्रेर लैजान्छ । माटो खोस्रेको पानीको झोक्का खुसी हुँदै उफ्रिँदै फर्केको देखेर तिवारीको मनमा पहिरो जान्छ ।

सबा पहर बेर उठेको छ । आज मङ्गलवार हो । आँगनछेउमा रहेको सानो सजिवनको एउटा हाँगामा आफूले लगाएको वस्त्र फुकालेर तिवारी झुन्ड्याउँछन् । मनभित्र डरको बाढी लिएर बकेआको हिलाम्मे पानीमा प्रवेश गर्छन् । एक डुबुल्की लगाउँछन् । अलिकति जीउ माडेको अभिनय गर्दछन् । स्नान गरेको भनी आफ्नै चित्त बुझाउन तिवारीले अर्को डुबुल्की पनि लगाउँछन् । बकेआले अलिकति धकेलेको अनुभूति हुन्छ । किन हो किन बाढीको पानीको घनत्व शरीरको अन्य भागभन्दा खुट्टामा बढी महसूस हुन्छ । तिवारीको खुट्टामा बकेआ ठाकुरले ढोगेको हो ।

हातमा जनै बेर्दै पूर्वाभिमुख भएर तिवारी सूर्यतिर हेर्दछन् । आँखा चिम्लन्छन् र ध्यान गर्छन् । बकेआको स्वरूपको धमिलो दर्शन हुन्छ । तिवारी विन्ती गर्छन् “हे बकेआ ठाकुर, तोहरा जमिनपर हम अतिक्रमण नकएले छी, हमरा जमिनपर भी तू अतिक्रमण नकरा ।” हामी दुवै आ–आफ्नै सीमामा रहौं । हिलोपानीमा डुबेको शरीर बाहिर निस्कँदा अझै हिलोमाटो रहेकै छ भने नुहाउनुभन्दा पहिले नै चिसिएको मन भने अझै ओभानो भइसकेको छैन ।

तिवारीको मनले देख्दछ – धमिलो पानीको प्रहार अलिक कमजोर भएको छ । हलुका शान्तिको आभाष हुन्छ । अलिकति उज्यालिएको मनको मधुर आभा सन्तोषको रूपमा छरिन्छ अनुहारमा ।

दिनभर बाढीले केही बिगारेको छैन । बाढीको बेग बढे पनि एक डल्लोसमेत खसालेको छैन तिवारीको घडेरीको । साँझसम्म उनलाई ठाकुरले आफ्नो कुरो सुनेको विश्वास भइसकेको छ ।

सुत्ने बेलामा चिन्ता र सन्तोष दुवै छ । कता हो कता बकेआ ठाकुरले अब कटान गर्दैन भन्ने विश्वासको मात्रा केही बढी छ तिवारीको मनमा । नदीको बाढी त हो नि, राति फेरि आक्रमण ग¥यो भने ! चिन्ताको एउटा सुइरोले मनमा घोचेपछि विस्मातको चिसो बतासले आङ सिरिङ हुन्छ । सन्तोष र चिन्ताको यही दोसाँधमा तिवारीलाई निद्रादेवीले अँगालो मार्छिन् । निद्रादेवीको काखमा उनलाई मातृत्वभाव अनुभूति भएको छ ।

सेतो धोती लाएको र धोतीकै केही भागले जिउ छोपेको खाइलाग्दो युवक निस्कन्छ । तिवारीको आँखा अगाडि नै युवक पानीबाट बाहिर आएको हो । सिर्रसिर्र चलिरहेको पुर्वैया हावाले युवकको धोती हल्का फरफराइरहेको छ । पानीबाटै निस्केको युवकको जीउ भिजेको छैन । धोती भिजेको छैन । केही सोध्नुभन्दा पहिले नजिकै आइसकेको युवकले तिवारीलाई भन्दछ –“म बकेआ हुँ । तपाईँहरू मलाई बकेआ ठाकुर भन्नुहुन्छ । म तपाईँकी छोरीसित प्रेम गर्छु । तपाईँकी छोरीसित बिहे गर्न चाहन्छु । तपाईँकी छोरीसित बिहे गर्नकै लागि म त्यत्ति टाढाबाट घुम्दै मोडिएर तपाईँको घरसम्म आएको हुँ । तपाईँकी छोरीसित बिहे गरेपछि यो गाउँलाई छाडेर म अन्यत्रै जान्छु ।” युवकको कुरा सुनेर अचम्भित हुँदै केही सोध्न चाहन्छन् । मनको वाक्य ओठबाट फुत्किन नपाउँदै युवक पानीमा पसिहाल्छ हेर्दाहेर्दै । अचम्म ! युवक पानीमा पस्दा छप्ल्याङछुप्लुङको आवाजसम्म आउँदैन ।

कस्तो अचम्मको सपना । यस्तो पनि सपना हुन सक्छ भनेर सपना समेत तिवारीले सोचेको थिएनन् । नदीले मान्छेसित बिहे गर्छु भन्ने प्रस्ताव आएको सपना ।

यस्तो पनि कहीँ हुन्छ ?
सपना सुनी रही मनगोई
अपन देखी अनकर होई ।

सपनामा देखेको कुरा कसैलाई नभन्ने हो भने अरुमा सर्छ । यही विश्वासले कसैलाई भन्दैनन् । भन्नू पनि कसरी ? यस्तो पनि सपना हुन्छ त । लाजैमर्दो सपना तर सपनालाई हटाउन पनि सकिँदैन ।

अर्को रात पनि सपनामा पुनरावृत्ति हुन्छ युवकको । फेरि युवक भन्दछ – “मेरो कुरोमाथि पत्यार लाग्दैन ? म साँच्चिकै तपाईँकी छोरीसित बिहे गर्छु । यस गाउँलाई बर्बादीबाट जोगाउनु तपाईँको कर्तव्य हो । म पनि चाहन्छु कि यो गाउँ मेरो ससुराली बनोस् ।”

हे भगवान ! कस्तो सपनाको पुनरावृत्ति भएको । कसैलाई भनूँ कि नभनूँ ? आ.. होस्, आज अन्तै सुत्छु । ओछ्यानमा सितो झरेको थियो कि ? आज सिरानीमुनि हँसुवा राखेर सुत्छु अनि कसरी आउँछ सपना, देखूँला ।

दिउँसो आँगनमा बसेका छन् तिवारी । मन्द भएको छ बाढीको गति । पानी पनि अलिक सफा छ तर धमिलोपनको मात्रा मात्रै कम भएको हो । उनकी छोरी बिस्तारै खोलामा पस्न खोज्छिन् । घँघरीलाई सम्हाल्दै पानीमा पहिलो पाइलो के हालेकी छिन् – एकैचोटि माछा उफ्रन्छ चारैतिर । पानीमा करेन्ट प्रवाहित भएजस्तो छ । कति माछा त पानीबाट बाहिर किनारमा पनि पुगेका छन् । धेरै टाढासम्म यो भएको छ । केटाकेटीहरू माछा टिप्न थाल्छन् । ठूलो माछो युवतीले पनि भेटाएकी छिन् । तिवारीले अर्को माछो समात्न भ्याएका छन् । टोलभरि माछाको भोजजस्तै भएको छ ।

“पहिलो पाइलोलाई मैले संस्कृति अनुरूप माछाको सलामी दिएको छु । बिहे हुनुभन्दा पहिले नै ससुरार पुगेकी युवतीलाई माछा कोसेली पठाउनु पर्छ । यो सबैभन्दा शुद्ध मानिएको हो । मैले त्यसै गरें । हाम्रो विवाह नहुन्ज्यालसम्म छोरीलाई मकहाँ नपठाउनू । अब पानीमा पाइला टेक्छिन् भने म भगाएर लैजान्छु । तपाईँहरूले छोरी डुबी भन्ठान्नुहोला ।

म फेरि पनि भन्छु, असारकै लगनमा छोरीसित मेरो बिहे गराइदिनुहोस् ।” सपना नदेख्नलाई सबै उपाय गरेर सुतेका तिवारीले तेस्रो रातको सपनामा आग्रहभन्दा चेतावनी बढी पाउँछन् उही युवकबाट । सपना हराएपछि निद्रा पनि हराएको छ । सुत्नुपर्ने कुनै प्रयोजनै बाँकी नरहेको लाग्छ ।

बिहान उठेर यही नदीको किनारतिरै दिसा गर्न जान्छन् सबै । दिसा धुने यही नै । लुगा धुनै पनि यसैमा हो । यहीको पानी गाईवस्तुले खान्छन् । आँगन घरको सबै काम यही नदीको पानीले गरिन्छ । नुहाउने पनि यही नै हो । भान्छाको लागि पानी मात्रै मठको इनारबाट ल्याउने हो ।

सबै कुरो थाहा हुँदाहुँदै पनि बिहान तिवारिनीलाई सुनाएर अलि झर्केको स्वरमा आदेश दिन्छन् – कौनो भी हालमे बेटीके पानीमे नपेठाबेके हए ।

एउटै सपनाको शृङ्खला कसैलाई पनि हुँदैन । सपनाको पुनरावृत्तिमाथि कसैको हक हुँदो हो त उसले मन परेको सपना फेरि पनि हेर्न खोज्थे र अझ मन पर्ने गरी सपनाको निर्माण गर्दै जान्थे । सपनामाथि नियन्त्रण नभए पनि तिवारीको सपना हरेक दिन पुनरावृत्ति र त्यसपछि फेरि अलिकति नयाँ कुरा थपेर सपना अलप भइरहेको छ । अलप भएको सपनाले त्रास र चिन्ता बढाइसकेको छ । अब केही गर्नुपर्ला कि भन्ने विचार मनमा आएपछि तिवारी मठतिर लाग्छन् । साधुबाबा पूजा गरिसकेर चनाइमरित बाँडिरहेका छन् । बडो श्रद्धाले तिवारीले हात थाप्छन् । चनाइमरित पिएपछि मठको आँगनमा रहेको इनारको छेउको तुलसीको बोटनेर मलिनो अनुहार लाएर बस्छन् । महाराजीलाई कस्तो कस्तो लागेर सोध्छन् – “काहे हो, कुछो भेल हए कि ?”

“जी, तन्का एगो सलाह करेके रहलई ह ।” तिवारीले सारा कुरो सुनाउँछन् । संयोगले त्यहाँ सुन्ने कोही हुँदैनन् । सारा वृत्तान्त सुनाएपछि तिवारीको मनको बहले निकास पाएको जस्तो हुन्छ । कता कता समाधान पाउने फराकिलो बाटोको प्रतीक्षामा हुन्छ तिवारीको मन । महाराजी भन्छन् – “भिहान मात्रे कुछो कहसकइछी ।”

मठबाट फर्केपछि तिवारिनीलाई पनि दिनदिनैको सपनाको कुरा सुनाउँछन् उनी । तिवारिनीले आफ्नो देआदिनलाई सुनाउँछिन् । तिवारीको घरमा आइरहने आफ्नो एकजना हितलाई पनि सुनाउँछन् । गाउँभरि यो सपनाको चर्चा चल्न थाल्छ । वृद्धवृद्धारूमा त्रासपूर्ण उत्सुकता छ भने नवयुवाहरूमा हँसीमजाकको एउटा मसला भएको छ ।

सुनेकाहरूले आफ्ना बेटीपतोहलाई नदीमा पस्न रोक लगाउँछन् । मठको कोइलामातालाई अब फुर्सद छैन । अरु मानिस पनि नदीको पानीमा पस्न डराउन थालेका छन् । साँझ हुँदासम्म यो कुरो थाहा नपाउने कोही छैन गाउँमा । आकाशमा कालो बादल बाक्लिन थालेको छ । गाउँका दरुआहाहरू नपुग्दा भठी पनि उदास छ आज । बढ्दो साँझसँगै गाउँमा अज्ञात त्रास पसेको छ । सम्साँझै गाउँ सुनसान भइसकेको छ ।

यस्तो सन्नाटापूर्ण रात त दशैंको पनि हुँदैन । धन्न, गड्याङगुडुङ मात्र गर्छ पानी पर्दैन । डर यति छ कि कतै धेरै पानी परेर आजैको रात गाउँ पो बगाउँछ कि बकेआ ठाकुरले ।

राति फेरि सपनामा युवकको हँसिलो अनुहार आउँछ । सम्वाद हुन्छ । तर्सेर झल्याँस्स बिउँझन्छन् र त्यसपछि बिहानको प्रतीक्षा हुन्छ ।आज रात कैयौँले यस्तै सपना देखेका छन् गाउँमा । सायद कुनै कुराको गहिरो छाप परेपछि सपनामा त्यही कुरा आउँछ । यद्यपि कहिल्यै कल्पनै नगरेको कुरो पनि सपनामा नदेखिने होइन । मस्तिष्क सक्रिय भएर त सपना आउने हो । महराजीलाई धेरैले सपनाको कुरा सुनाउँछन् । मठमा जम्मा भएकाहरूले निष्कर्ष सुनाउँछन् – भोलि बिराएर पर्सि लगन छ । त्यही लगनमा बिहे गरिदिनु उचित हुन्छ । लगनको साइत छ पाँच बजे साँझ ।

मजाक, त्रास, उत्साह र जिज्ञासाको सम्मिश्रणमा छ गाउँ । प्रतीक्षा छ लगनको समयको । नदी र मान्छेको बिहेको । विधि व्यवहार सुरु हुन्छ । गाउँमा बिलौकी माग्ने क्रम चल्छ । अदृश्य दुलहाको नाउँमा पनि गीतहरू गाइन्छन् । आम–महुआ पनि बिआहिन्छ । एउटी छोरीको बिहेमा गरिने सम्पूर्ण विधि पूरा गरेपछि दुलहीलाई नदी किनारमा उभ्याइन्छ । बिहेपछि गाइने बिदाइको गीत गाउन सुरु भएको छ । दुलहीले पनि गहभरि आँसु भरेर आफन्तहरूतिर नजर दौडाउँछिन् । सबैको गला अवरुद्ध छ । गीतहरिनहरू गीतको स्वरमा आफन्त र दुलहीको मौन सम्वाद कसैले सुनेका छैनन् ।

दुलहीलाई नदी छेउमा पु¥याउँदै गीतहरिनहरू गीत गाउँदै अलिअलि पछाडि सर्दै गरेका छन् । उत्सुकता र जिज्ञासा चरम उत्कर्षमा छन् । ठेटनाहरूले खिल्ली उडाउन बन्द गरेका छैनन् । देख्दादेख्दै सबैको सामुन्ने एकै निमेषमा समुन्द्रको भन्दा पनि ठूलो पहाडजस्तै बनेर पानीको एउटा छाल आउँछ र दुलहीलाई लैजान्छ । तिवारीकी छोरी गायब । कोकोहोलो मच्चिन्छ । कतिले हेर्न भ्याएका हुन्छन् र त्यही हुँदा पनि कतिपयलाई यो एक निमेष आँखा झिम्काएको जस्तो पत्तै हुँदैन ।

घटना र परिवेशले एक निमेष अनन्तको बन्दछ । सोही एक निमेषमा कसैको आफ्नो सन्तान अदृश्य हुन्छ भने … । झन् आमालाई कस्तो होला ? तिवारिनीको आँखाबाट मानौ बकैयाको बाढी बग्न थाल्दछ । अकल्पनीय र अलौकिक वज्रपात जो भएको छ ।

आँसु नथामिएको चार दिन बितिसकेको छ । चौथो रात सपनामा छोरी आउँछिन् र भन्छिन् – “गे माय, नरो । हम बहुत खुसी छी ।” तिवारिनीको आँसु बिलाउँछ र अनुहारमा सन्तोषको चमक मानौँ उज्यालो प्रकाशको लेपजस्तो देखिन थालेको छ ।

भयङ्कर ठूलो पानी पर्दछ । यस्तो वर्षा यस गाउँका मानिसले आफ्नो जीवनमा कहिल्यै देखेका छैनन् । पहाड पनि बर्सिरहेको छ । गाउँमाथि सङ्कट मडारिएको हो कि भन्ने डर लागिरहेको छ । तिवारीको परिवार भने डर र उत्साह सबैबाट मुक्त छ । तिवारीले एक जनालाई भन्छन् – केही हुँदैन ।

बाढीले बगाउँछ कि भन्ने रातमा नदी अचानक सुख्खा हुन्छ । त्यत्रो विशाल नदीको बाढी बिलाउँछ, हराउँछ । बिहान भएपछि कतैबाट खबर आउँछ – बकेआ ठाकुर सबा कोस पूर्व सरेछ ।

तिवारीलाई सपनामा बताएझैं दुई चार वर्षमा बकेआ ठाकुर धमिलो पानीको बाढी लिएर ससुराली गाउँ सोनरनिया आउँछन् ।

अनि जीवित छँदै तिवारीलाई गाउँलेले देवता मान्न थालेछन् । तिवारीले देखेछन् – गाउँको दखिन–पूर्व कुनामा उनको थान बनाएर पूजा गर्न थालेका छन् । आज पनि तपाईँ त्यहाँ पुग्नु हुन्छ भने मनसारामले तपाईँको कानमा आफ्नी छोरी र बकेआ ठाकुरको प्रेम कथा सुनाउँछन् । मलाई उनैले सुनाएका हुन् । कथा सुनेर मजस्तै तपाईँको पनि शिर श्रद्धाले निहुरिन्छ उनको अगाडि ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया