हिमालका आवाजहरू : एक समीक्षा

चूडामणि काफ्ले २०७७ मंसिर २० गते ११:१३ मा प्रकाशित

चूडामणि काफ्ले

१.पृष्ठभूमि

दामोदर पुडासैनी ‘किशोर’(२०१९) नेपाली साहित्याकाशका एक उज्ज्वल नक्षत्र हुन् । विशेषतः नेपाली साहित्यका निबन्ध (नियात्रा) र कविता विधामा उनको लेखनी निकै क्रियाशील रहेको पाइन्छ । देशविदेशका विभिन्न गन्तव्यको यात्रापछि उनको कलमबाट यात्राका प्रेमिल तरङ्गहरू (२०६५), नमेटिएका चित्रहरू (२०७०),मायालु हुम्ला (२०७१), सिमानाका रङ्ग ः सिमानाका तरङ्ग (२०७३) र पर्खालभित्रको राजधानी (२०७३) जस्ता नियात्राकृतिहरू प्रकाशित भइसकेका छन् । साहित्यकार पुडासैनीमा नियात्राकार÷निबन्धकारका साथै कवि व्यक्तित्व पनि निकै समृद्ध छ । उनले आफ्नो साहित्यसृजनाको थालनी पनि कवितालेखन (२०३४ : शहीद)बाट नै गरेको पाइन्छ । (अवस्थी , २०७६ः १०) उनका हालसम्म प्रकाशित कृतिहरूको लेखाजोखा गर्दा नियात्राभन्दा कविताकृतिको सङ्ख्या नै अधिक रहेको पाइन्छ । उनका अहिलेसम्म नौ कवितासङ्ग्रह प्रकाशनको उज्यालोमा आइसकेका छन् ; ती हुन् :
(क) आफन्तका अनुहारहरू (२०४९),
(ख) आँखाको खोजीमा (२०६२),
(ग) आलोकित आयाम (२०६३),
(घ) आकारको खोजीमा (२०६३),
(ङ) समयको सहीछाप (२०६९),
(च) पहाड र प्रेम (२०७१)
(छ) उज्यालो खोजिरहेको घाम (२०७४),
(ज) सहरबिनाको सहर (२०७५),र
(झ) हिमालका आवाज (२०७६) ।

यस लेखमा कवि पुडासैनीको नवीनतम कवितासङ्ग्रह हिमालका आवाज (२०७६)का बारेमा चर्चा गर्ने सन्दर्धमा यहाँ विषयप्रवेश गरिएको छ ।

२.विषयप्रवेश

हिमालका पाइला कवि दामोदर पुडासैनी ‘किशोर’को नवीनतम कवितासङ्ग्रह हो । यो ‘हिमालका आवाज’ एउटै शीर्षक तथा भावभूमिमा रचिएका ५०कविताको सङ्कलन हो । दोभान प्रकाशन,काठमाडौंद्वारा २०७६मा प्रकाशित यस कवितासङ्ग्रहमा कवि पुडासैनीले हिमाली परिवेश र जनजीवनलाई नजिकैबाट नियालेका छन् । कविले एउटै भावविशेषमा केन्द्रित भएर यहाँ सुन्दर काव्यात्मक अभिव्यक्ति प्रकट गरेका छन् । सृष्टिसंरचनामा हिमालको मौलिक पहिचान छ । हिमाल युगौंदेखि अटल र अविचल रूपमा हाम्रो सामुन्ने उभिएको छ । हिमाल उचाइको आकाशबाट संसारका गतिविधि अवलोकन गर्ने प्रत्यक्षदर्शी हो । ऊ संसारका उतार चढावहरूको एक्लो साक्षी पनि हो । संसारको परिवर्तनशीलताको हिमालले निर्निमेष रूपमा अवलोकन गरिरहेको छ । युगीन परिवर्तन उसका लागि क्षणभर अङ्कमाल गर्न आउने कुहिरो वा बादल जस्तै हुन् । हिमालसँग दृढता,उच्चता र कठोरता मात्र हुँदैनन् ; कोमलता र संवेदनशीलता जस्ता वैशिष्ट्य पनि भरिभराउ हुन्छन् । हिमाल स्वच्छ छ ; स्निग्ध छ ; सुन्दर छ र पवित्र छ । यो सभ्यताको पहरेदार हो । हिमाली सौन्दर्य अनुपम छ । हिमालमा दीपावलीको कुनै अर्थ हुँदैन ; यो आफैंमा देदीप्यमान र जाज्वल्यमान छ । हिमाल जलराशिको अपार भण्डार मात्र होइन ऊर्जाको अजस्र स्रोत पनि हो । अर्थात् यो जलशक्ति र ऊर्जाशक्तिको मूलाधार हो । हिमचुलीको आरोहणमा बेग्लै आनन्द र अनुभूति हुन्छ । उकालो उक्लिँदाको आकर्षण र आरोहणपछिको अतुलनीय सन्तुष्टिको महिमा अवर्णनीय छ । हिमालका यिनै अनमोल आकर्षण तथा भावसत्यलाई कवि दामोदर पुडासैनी ‘किशोर’ले आफ्नो कवितासङ्ग्रह हिमालका आवाजमा अभिव्यक्त गरेका छन् ।

हिमाल चट्टानै चट्टानयुक्त निर्जन उच्च पर्वतशृङ्खला मात्र होइन । यहाँ याक,नाक,झोक्पा,भेडा,च्याङ्ग्रा,खच्चर आदिका पदचापहरू पनि छन् । हिमाली पशुका घाँटीमा झुन्डिएका घन्टीका टिङ टिङ ध्वनिले वातावरण नै गुञ्जायमान छ । चराचुरुङ्गीका सुमधुर साङ्गीतिक कलरव छन् । यहाँ डाँफे मुनालका मनोरम नृत्यमुद्रा छन् । हिमालमा मलेवाका वायुपङ्खी वेग छन् । घामको पहिलो झुल्काले हिमाललाई नै म्वाइँ खान्छ । सूर्यास्तपूर्वको अपूर्व रक्तिम आभा पनि हिमालकै स्पर्शमा हाँसिरहेको हुन्छ । लालीगुँरास र सुनगाभाको बैंसले हिमालकै तारुण्य बढेको छ । धुपी र देवदारका बोटहरूले हिमालकै शोभावृद्धि गरेका छन् । हिमालमा के छैन ? यहाँ उत्साह छ ; उमङ्ग छ ; आशा छ र विश्वास छ । जे खोज्यो त्यही छ हिमालमा । हिमालमा पुगेपछि रित्तो हात लिएर कसैले फर्कनु पर्दैन । यस्ता अमूल्य उपहारहरू लिएर हिमालले हाम्रो भव्य स्वागत गरिरहन्छ । यस्तो दिव्य आकर्षण र मोहनी धर्तीको अर्को गोलाद्र्धमा पाउनु असम्भव छ भने हुन्छ ।

कवि पुडासैनीले हिमालका आवाज कवितासङ्ग्रहमा यस्तै अनमोल भावनाहरूलाई आकर्षक अभिव्यक्तिका माध्यमबाट अघि सारेका छन् ।  हिमाली सृष्टिमा कुहिराको साम्राज्य छ । घाम र कुहिराको पौंठेजोरी चल्छ हिमालमा । कहिले घामले जित्छ कुहिरालाई र डिलमुनि पछारिदिन्छ । कहिले कुहिरो विजयी बन्छ द्वन्द्वमा र विजयोत्सव नै मनाउँछ हिमालमा । कुहिराले घामलाई झ्याप्पै छोपिदिन्छ राहुले छोपे जस्तै गरी । त्यतिखेर वास्तविकतालाई नै विलुप्त पार्छ कुहिराले । गाउँबस्ती र भिरपाखा कता हुन् ; बाटो र बटुवाहरू कता हुन् ; पशुपन्छी र वृक्षवनस्पति कता हुन् र मान्छेहरू कता के गर्दै छन् ; केही पत्तो हुँदैन कुहिराको रजाइँमा । सांसारिक सम्पूर्ण गतिविधिमा कुहिराको आवरण छ ; कविकै शब्दमा ः

किन कैदमा छन् सुकिला फूलहरू ?
किन बतासहीन बनेका छन् रूखहरू ?
बलात् हिँडिरहेका भरिया र यात्रीहरू पनि
किन परिरहेका छैनन् कसैको नजरमा ?
तिम्रो घाम पनि बेकम्मा बनेर लुकेको छ
तिम्रो जून पनि रोशनीहीन डुबेको छ कालकोठरीमा
गाउँ,बस्ती,बाटो, मान्छे,पन्छी वा पशु नै किन नहुन्
सबै धूलोका कण कणमा हराएका छन् (पुडासैनी,२०७६ः१४)

हिमाल युगौंदेखि हाम्रो सामुन्ने प्रतीक्षारत छ । प्रतीक्षामा आशा र आगमनको दृढ विश्वास हुन्छ । प्रतीक्षालाई प्रेमको पहिलो अध्यायका रूपमा परिभाषित गरिन्छ । प्रियजनसितको मिलनको कल्पनामा डुब्न प्रतीक्षा नै सहयोगी हुन्छ । कुराइका पलपलमा प्रियतमको मिठो स्पर्शको काल्पनिक संसार हुन्छ । यो एउटा कठोर तपस्या हो । तपस्याले नै सफलताको चुलीमा पु¥याउने गर्छ । जहाँ प्रेमीप्रमिका हुन्छन् त्यहाँ प्रतीक्षा हुन्छ । प्रतीक्षाको परिणाम नै प्राप्ति हो ; प्रसन्नता हो ; खुसी हो । प्रतीक्षामा ठूलो शक्ति हुन्छ । जीवन बँचाइ पनि एउटा प्रतीक्षा नै रहेछ । प्रतीक्षाको समाप्तिमा जीवन,खुसी,आशा,उमङ्ग र उत्साह सबै समाप्त हुन्छन् । भेटघाट र बातचितमा भन्दा प्रतीक्षामा असीम आनन्द छ ; अनौठो आकर्षण छ । त्यसैले प्रतीक्षाको महिमागान गर्दै कवि लेख्छन् ः

(क) बाँच्नु पनि
पर्खनु रहेछ एउटा जीवन
म मृत्युको पर्खाइमा जीवन तेजिलो पारिरहेछु

(ख) तिमीलाई भेट्नुभन्दा
पर्खनु मिठो छ कैंयौं गुना
तिमी त तिमी भैहाल्यौ
ठीक यो क्षणमा
म संसारमा सबै प्रेमीलाई कुरिरहेछु (पुडासैनी,२०७६ः२३)

हिमालमा कुहिरो र घामको लुकामारी चल्छ । झरी र बादल हिमालका निकै प्रिय छन् । झमझम झरीले स्नान गराउँदा प्राप्त हुने असीम आनन्द च्वास्स पोल्ने घामले कसरी दिन सक्छ र ? घामले त पोल्छ र पगाल्छ मात्र । हिमाललाई कहिले बादल तथा कुहिराको दोलाइँ ओढ्ने मन हुन्छ र कहिले झमझम झरीमा नुहाइरहन मन हुन्छ । बादल र झरी बिना ठिङ्ग उभिनुको कुनै अर्थ छैन । बादल तथा झरीको मिठो स्पर्शले हिमालमा जीवन भरिदिन्छ । वर्षाले अझै अग्लिन्छ उचाइ । झरीले एकाग्रता दिन्छ । बादलले घुम्टो ओढाएर दुलही बनाउँछ तर घाम चाहिँ अचानक आएर घुम्टो उघारी साउती मार्न थाल्छ । हिमाली सौन्दर्यका यी अनुपम छटालाई कविले यसरी काव्यवाणी दिएका छन् ः

कति निरस हुन्थ्यो होला मलाई
एकोहोरो हिमज्योति स्तम्भले
संसारभर किरण छरिरहन
कति गाह्रो हुन्थ्यो होला मलाई
एकोहोरो घामका कडा आँखाहरूले
मेरा अङ्गप्रत्यङ्गको अस्मिता बचाउन
झरी बर्षन्छ,कुहिरोले सुमसुम्याउँछ
र त जागा भैरहन्छु म घरीघरी (पुडासैनी,२०७६ ः२५)

हिमालले साहसी आरोहीलाई आरोहणका लागि आह्वान गर्छ । होस नपु¥याईकन गरेको आरोहण कहाँ सफल भएको छ र ? होस नपु¥याईकन गरिएका आरोहण मात्र असफल भएका होइनन् आरोहीले जीवन नै भन्न नपाएका धेरै दृष्टान्तहरू हाम्रै सामुन्ने प्रशस्त छन् । मनोरथले मात्र आरोहण गर्छु भन्नु पनि मनको लड्डु घिउसँग खानु जस्तै हो । हुन त चढ्नैहरूकै पाइला यदा कदा चिप्लिन सक्छन् । आरोही नै लड्न र पछारिन सक्छन् । त्यसैले कदम कदममा होस राखेर वा सचेतता अपनाएर हिमाल आरोहण गर्नुपर्छ । आरोहणमा फुकेर पाइला चाल्नुपर्छ । हिमशिखर ईश्वर सदृश छ भन्ठानेर आरोहणको आराधन गर्नुपर्छ । पाइला पाइलामा फूल चढाउनुपर्छ ; अक्षता अर्पण गर्नुपर्छ ; बत्ती बाल्नुपर्छ र धुप धुवाउनुपर्छ । लरतरो सङ्कल्पले आरोहण कहाँ सफल हुन्छ र ? त्यसैमा तन,मन र धन समर्पित गर्नुपर्छ । शिखरलाई माया गर्नुपर्छ र सर्वस्व सुम्पिनुपर्छ । तन्मयतापूर्वक गरिएको आरोहण असफल हुनै सक्तैन । आरोहणपछि प्राप्त हुने सफलता अनुपम छ ; सम्मान,इज्जत र प्रशंसा अतुलनीय छ । आरोहणको सफलताले संसारमै सुवास फैलाइदिन्छ । चढिसकेपछि लड्ने कुनै सम्भावना रहँदैन । चढाइका कठिनाइलाई सफलताले बिर्साइदिन्छ । परिश्रमको फल मिठो हुन्छ भनेझैं पीडा र कठिनाइ प्रसन्नता वा खुसीमा बदलिन्छन् । हिमाल आरोहणले जीवनका उचाइ आरोहण गर्न पनि सिकाउँदै आएको छ । एकपछि अर्को हिमशिखर आरोहणमा सफलता हासिल गरे जस्तै जीवन उद्देश्यका उच्च उचाइहरू आरोहण गर्दै जीवनलाई सफलताको शिखरमा पु¥याउनुपर्छ । कवितामा यसो भनेर कवि पुडासैनी जीवनलाई संसारकै सर्वोच्च शिखर आरोहण झैं आफ्नो लक्ष्यको शिखर चुम्न अग्रसर हुनुपर्ने भावना अभिव्यक्त गर्छन् ; उनी लेख्छन् ः

(क) चढ या नचढ तिम्रो खुशी
नचढी फेदीमै बस्नेले
उचाईका असीम दृश्य देख्दैन
आऊ,साहस गर
साहसीले नै त हो चढ़ने म माथि (पुडासैनी,२०७६ ः २७)

(ख) चढिसकेपछि चढ़ने ठाउँ बाँकी हुँदैन
उचाइमा पुगिसकेपछि
सान,मान र आन बेग्लै हुन्छ
चढाउनेसँग पनि गाँसिन्छ इज्जÞत
चढिनै सकिएपछि
चढाउनेले नै फैलाउन थाल्छ वासना पर पर
चढिसकिएपछि खसिएला भन्ने डर नै हुँदैन (पुडासैनी,२०७६ ः२६)

हिमालसँगको सङ्घर्ष कदापि सहज हुँदैन । यो निकै चुनौतीपूर्ण छ । शिखर चुम्न हिँडेको व्यक्ति बीचैमा ढल्न सक्छ । यो महत्त्वपूर्ण जीवन यति सजिलै हामीबाट टाढिन्छ पत्याउनै नसकिने सत्य । चढ्दै गरेको चौरी अचानक भिरबाट गुल्टिन्छ । के जीवन यत्तिकै लागि हो त ? गम्भीर प्रश्न खडा हुन्छ । हिमाल चढ्दै गरेको एउटा आरोही ढलेका अरू आरोहीहरूकै शव कुल्चँदै अघि बढ्नुपर्ने हुन्छ । अक्करमा उक्लिँदै गर्दा अकस्मात् आएको हिमपहिरोले आत्मीय साथीलाई नै चुँडेर लैजान सक्छ । अर्को साथीलाई बाढी जस्तै आएको हिमनदीले नबगाउला भन्न सकिँदैन । हिमतालमा डुबेको अर्को साथी अझै माथि उत्रिएको देखिँदैन । यस्तै सङ्घर्षका बीचबाट एउटा आरोही अविचल रूपमा उकालिनुको विकल्प रहँदैन । त्यसैले चुनौतीपूर्ण आरोहणमा होसियारीपूर्वक कदम चाल्नुपर्छ ; कविकै शब्दावलीमा ः

अक्करमा चढ्दा चढ्दै
हिमपहिरोले लग्यो एउटा साथी
हिमनदीले बगायो अर्को साथी
हिमतालमा डुबेको अर्को साथी अहिलेसम्म निस्किएको छैन
म भने चुचुरोमा उभिएर
एक आँखाले माथिल्लो चुचुरा हेरिरहेछु
र,अर्को आँखाले हराएका साथीहरूको बाटो खोतलिरहेछु
मनले भने भन्यो—
होशियारी र गति नहुने हो भने
तिमी पनि हराउनेछौ यतै कतै बाटोका गल्छेडाहरूमा (पुडासैनी,२०७६ः२०)

हिमालको गीत निकै कर्णप्रिय हुन्छ । गीतसँगसँगै हिमालका हर्षाश्रु बर्सेका हुन्छन् । दिनरातभरि हिमालले रागहरू अलापिरहन्छ । गीत र सङ्गीतका लयले हृदय आनन्दित भइरहन्छ । यस गायन र साङ्गीतिक लयमा प्रकृतिको अनौठो जादु प्रदर्शित हुन्छ । सङ्गीतका सुमधुर मूच्र्छनाले अनौठो अनुभूति भइरहन्छ । विशाल बादलको खास्टोमा गुटमुटिएर हिमाल जलसङ्गीतका लयहरू गुन्जाइरहेको हुन्छ । हिमालको सन्निकटतामा कविहृदयमा अनुरागका भावनाहरू तँछाड मछाड गरिहेका छन् । बिहानको झुल्के घामले मायाको सुन्दर उपहार लिएर आएको हुन्छ । हिमालका बादलराशि माथि माथि अक्कासिएका छन् र हिमनदीहरू निरन्तर तलतिर बग्दै छन् । यी बादल तथा नदीहरूको मोहनी अनौठो छ । मान्छेका मनमा विरह तथा दुःखका घाउहरू भए पनि हिमालका मायालु स्पर्शले ती सबै निको हुन्छन् ।

हिमालको कुनै खास परिधान हुँदैन । संसारमा परिधानले भ्रम सिर्जना गरेका छन् । समाजमा विकृति र विसङ्गतिको चाङ छ । आवरण र त्यसका भ्रमले सर्वत्र अन्याय,अत्याचार र विभेद मौलाएका छन् । कोही पूजाआजा र कर्मकाण्डका पीत परिधानका भ्रम छरिरहेका छन् । विकास निर्माणमा भ्रष्टाचार घुस र लुट छ । खेलकुदमा लागू औषधीको उन्माद छ । समाजका अङ्गप्रत्यङ्गमा विश्वासघात र कृतघ्नता मौलाएका छन् । व्यापारमा कालोबजारीको बिग्बिगी छ । फूलको सुवासमा पनि विषाक्तता भरिएको हो कि भन्ने आभास हुन्छ । यत्र तत्र सर्वत्र कृत्रिमताको भ्रम व्याप्त छ । धर्ती र आकाशले पनि भ्रम फैलाइरहेको पो हो कि भन्ने अनुभूति हिमालले गरेको छ ।

हिमाल कदापि स्वाभिमान बिर्सँदैन । उसलाई कुर्सीको खेलमा कुनै चासो छैन । संसार कुर्सीको खेलमा प्रतिस्पर्धारत छ । हिमालका आफ्नै इच्छा,आकाङ्क्षा , चाहना र सपना छन् । आफ्नै उज्याला आशादीपहरू छन् । हिमालसँग मान्छे मान्छे बीचको सम्बन्धमा जस्तो कालो कुहिरो छैन ; कुनै कल्मष छैन । हिमाल संसारको युद्ध,लडाइँ र झैझगडामा सामेल हुँदैन ; मात्र माया,प्रेम,स्नेह र सद्भावनामा साथ दिन चाहन्छ हिमाल । हिमालको भौतिक स्वरूप मात्र सबै थोक होइन । उसभित्र मन र मुटु पनि लुकेका हुन्छन् ; हिमालभित्र उत्साह,उमङ्ग र खुसीका छालहरू छचल्किएका हुन्छन् । साहस,आँट र शूरताका विशाल फाँटहरू फैलिएका हुन्छन् । हिमाल जून र ताराका गीतको गुनगुनाहटमा आह्लादित हुने गर्छ अनि सूर्यास्त र सूर्योदयलाई महोत्सवका रूपमा मनाउने गर्छ । कवि पुडासैनीले यस्तै यस्तै उत्कृष्ट र उच्च भावतरङ्गहरूले हिमालका आवाज कवितासङ्ग्रहलाई सजाएका छन् ।

३.अन्त्यमा

हिमालका आजाज मुक्त लयमा रचिएका कविताहरूको सङकलन हो । कविले २०७६सालका भदौ र असोज महिनाको सगरमाथाको सन्निकटतालाई कविता सिर्जनामा सार्थक तुल्याएका छन् । भावतारल्यको गम्भीरतालाई सुन्दर शब्दावली,प्रतीक , विम्ब अलङ्कारहरूले मूर्तता प्रदान गरेका छन् । बाह्य लयको आयोजन नभए पनि भावलाई आन्तरिक रूपमा सजाइएका कवितारू उत्कृष्ट बन्न पुगेका छन् । यस्तो उत्कृष्ट सिर्जनाका सर्जक तथा कवि पुडासैनीलाई हार्दिक बधाई ज्ञापन गर्दै यस वर्ष अर्को कृतिमा सफलता प्राप्त होस् भन्ने शुभकामनाका साथ यो कलम बन्द गर्ने अनुमति लिन्छु ।

सन्दर्भ सामग्री

अवस्थी,महादेव(डा.)(२०७६),‘पुडासैनीको साहित्ययात्रागत परिपक्व जैविकीका नवीन प्राप्तिका रूपमा हिमालका आवाज ’ हिमालका आवाज , काठमाडौं ः दोभान प्रकाशन ,पृ ८—१९ ।

पुडासैनी ‘किशोर’,दामोदर (२०७६), हिमालका आवाज , काठमाडौं : दोभान प्रकाशन ।

प्रतिक्रिया