राजनीतिक वादको मात्र पछि लाग्ने लेखकहरू लोभी, स्वार्थी र चोरबाटोबाट फाइदा कुम्ल्याउन खोज्नेहरू मात्र हुन् : वरिष्ठ साहित्यकार, दामोदर पुडासैनी ‘किशोर’

इनेप्लिज २०७७ मंसिर १० गते १:४४ मा प्रकाशित

वरिष्ठ साहित्यकार, दामोदर पुडासैनी ‘किशोर’

दामोदर पुडासेनी ‘किशोर’ यस समयको अत्यन्त सक्रिय साहित्यकार हुनुहुन्छ । उहाँका पाँच नियात्रा सङ्ग्रहहरू, आठ कवितासङ्ग्रहहरू र एक दर्शन कृति गरि चौध सङ्ग्रह प्रकाशमा आएका छन् । ती सबै कृतिहरू पाठकहरूले मन पराएका कृतिहरूमा पर्दछन् । नेपाल सरकारको नायव महालेखापरीक्षक । सहसचिव जस्तो उच्च पदमा लामो समय सेवा गरेको अनुभव मात्र होइन देशका सतहत्तर मध्ये छयहत्तर जिल्लामा पुगेर त्यहाँका पीडा र परिस्थिति नजिकबाट बुझेको अनुभव पनि छ । विदेशका पनि पचासभन्दा बढी मुलुकमा पुगेर अधिकांश देशहरू र त्यहाँको जनजीवनबारे पुडासैनीले कृति प्रकाश समेत गरिरहनु भएको छ । दामोदर पुडासैनीको लेखनले नेपाली नियात्रा लेखनमै नयाँ मोड लियो भन्ने पनि अधिकांश समालोचक तथा पाठकको मत पाइन्छ । उहाँका साहित्यिक कृतिहरूमा शैलीगत र विषयगत नवीनता र नवीन आविश्कारका छापहरू भेटिने भएकोले पनि बढी पठनीय बनेका पाइन्छन् । दामोदर पुडासैनी काममा प्रतिवद्ध, लेखनमा जीवन अर्पिने मात्र होइन सबैसँग मिलनसार, हँसिलो र प्रेमिल व्यवहार गर्ने स्वभावको देखिनुहुन्छ । वरिष्ठ साहित्यकार दामोदर पुडासैनीसँग पत्रकार एवं साहित्यकार सुमित्रा सुमीले गर्नु भएको अन्तरङ्ग वार्ताको प्रमुख अंश यहाँ प्रस्तुत छ— सम्पादक ।

यतिखेर विश्व कोविड–१९ को सन्त्रासले आक्रान्त छ । मान्छे ज्यान जोगाउन एक्लै बस्न बाध्य छ । तपाईं के कस्ता कार्यमा लागिरहनु भएको छ ?

स्वभाविक हो बहिनी कोविड–१९ ले यतिखेर विश्व मानवजगत जीवन र मरणको दोसाँधमा डराइरहेछ । कोराना भाइरसको सन्त्रासले मान्छे मान्छेसँग भागिरहेछ । घरबाट बाहिर निस्कदा कुन षड्को कोरोनाले छुन्छ, त्यो पत्तै हुँदैन । त्यसैले सजगतापूर्वक जीवन जोगाइराख्नु परेको छ । यस अवस्थामा केही सिर्जनशील र जीवन उपयोगी काम गर्न सकिने रहेछ । यो अवधिमा मैले सिर्जनाकर्ममा समय लगाएँ । परिणामतः केही नियात्रा सङ्ग्रह र केही कविता सङ्ग्रहहरूले जन्म लिएका छन् । साहित्यिक कृतिहरूको अध्ययन अरु बाक्लो बनेको छ ।

मान्छेहरू जीवन सङ्घर्षपूर्ण छ भन्छन् । साँच्चै जीवन सङ्घर्षपूर्ण नै हो ? यहाँलाई कस्तो लाग्छ ?

सङ्घर्ष विना जीवन हुँदैन । सत्यको लागि र सत्य स्थापना गर्नको लागि संसारमा जीवन छ । जीवनको अस्तित्व राख्न कुनै न कुनै =तत्वहरूसँग लडिरहन जरुरी पनि छ । जीवनलाई ढाल्न खोज्ने तत्वहरूले चारै दिशाबाट घेरिरहन्छन् र आक्रमण गरिरहन्छन् । जीवन सुरम्भ र सफल बनाउन हामीलवे तिनीहरूका साथ कडा व्यवहार गर्नै पर्दछ । रोग, भोक र शोकका बिरुद्ध लडेर सुखी र सम्ववृद्ध जीवन अघि बढाउन पनि सङ्घर्ष निरन्तर गरिनै रहनु पर्दछ । जीवनरक्षाको लागि, राजनैतिक, आर्थिक र प्राकृतिक प्रतिकुलताहरूलाई जित्न पनि सधै डटेर खट्न जरुरी हुन्छ नै । जीवन सम्वृद्ध बनाउनु भनेको पनि आपूmलाई मजबुत पार्ने र आपूmलाई अहित गर्नेहरूलाई नाश गर्नु पनि हो । एउटा सैनिक युद्धमा आआफूलाई बचाउने र शत्रुलाई सिध्याउने रणनीति अंगीकार गरिन्छ । प्राचीन कालमा भाला र ढालको प्रयोग गरिन्थ्यो । भाला शत्रु नाश गर्न र ढाल शत्रुको प्रहारको प्रतिरक्षा गर्न । अहिलेसम्म पनि युद्धमा हतियारको नीति ‘हान्ने’ र ‘रोक्ने’ विषयनै केन्द्रित छ । जीवनमा पनि यो नीति जरुरी छ— राम्रा तत्वलाई सम्बर्द्धन गर्ने र खराव तत्वलाई नष्ट गर्ने । खराव तत्व लाई नष्ट गर्न सकिएन भने जीवन रहँदैन, राम्रा तत्वहरूलाई बढाइएन भने जीवन अघि बढ्दैन । क्षण क्षणमा सजगता र क्षण क्षणमा सबलताले मात्र जीवन सार्थक बन्दछ । यसको लागि लडाई अपरिहार्य छ जीवनमा ।

लामो समयदेखि साहित्य सिर्जना गर्दै आउनु भएको छ । साहित्य के हो ? अथवा जीवन र साहित्यबीच कस्तो सम्बन्ध रहन्छ ?

जीवन र जगतको बारेमा अभिव्यक्त गरिएको दृष्टिकोण सहितको कलात्मक प्रस्तुति साहित्य हो । जीवनका अर्थ, उपयोगिता, सार्थकता र निस्सारताका बारेमा साहित्य सिर्जना गरिन्छ । जीवनमा के भइरहेछ मात्र होइन, के हुनुपर्दछ भन्ने कुराहरू पनि साहित्यमा समेटिन्छ । यो कुरा जगतको हकमा पनि लागु हुन्छ । जिन्दगी नलेखिएको खाली कागज जस्तै हो, व्यक्ति आफैले त्यसलाई सार्थक बनाउने हो । जिन्दगीसँग अतृप्ति र असन्तुष्टि हुन्छन् । कृयाशील नभए एक क्षण पनि टिक्न सकिँदैन जीवनमा । जिन्दगी भनेको भोगाइ पनि हो । नभोगेसम्म बुझ्न गाह्रो पर्छ जिन्दगी । जिन्दगी साँच्चै ठूलो उपलब्धी हो । यो सोचे र खोजेजस्तो ठ्याक्कै त हुँदैन, तर असिमित संभावनाबीचमा सफलता हासिल गर्न जरुरी छ जीवनमा । जीवन नभए जगतको पनि के अर्थ ? जीवन र साहित्य दुवै परिभाषामा अटाउन सक्तैनन् । जीवन सधैं सङ्घर्षबाट अघि बढ्दछ र स्वतन्त्रता र स्वाभिमान चाहन्छ । सिर्जना वा साहित्यको मूल ध्येय पनि त्यही हो । सार्थक, सौम्य र सुन्दर साहित्य जीवन जस्तै हुन्छ । सुन्दर जीवन र सुन्दर साहित्य उस्तै उस्तै हुन् ।

जीवनमा अध्ययन आवश्यक छैन, साहित्य जरुरी छैन भन्नेहरू हाम्रो समाजमा धेरै छन् । साहित्यलाई अनुत्पादक भन्नेहरूलाई के जवाफ दिनुहुन्छ ?

यो संसारमा अवस्थाहरू फेरिइरहन्छन् । मान्छेका विचारहरू पनि नवीन रुपमा आइरहन्छन् । बिचारलाई नवीन परिस्थितिसँग तादात्म्यता कायम गर्न अध्ययन आवश्यक छ । अध्ययन गरिएका विषयहरू, त्यसबाट बनेका विचार, वाद, सिद्धान्त र दर्शनहरू साहित्यिक रङ्गमा लेखिन जरुरी छ । त्यस्ता साहित्यले जीवनलाई सङ्कटबाट बचाउन र नयाँ बाटो खन्न उत्प्रेरित गर्दछन् । जीवनमा सिक्ने भनेकै अप्ठेरोहरूबाट हो । ध्यानपूर्वक, होशपूर्वक र निडरताकासाथ कार्य गर्ने हो भने संसारमा असजिलो र अप्ठेरो भन्ने केही छैन । अप्ठेरोसँग जुध्नु पनि अध्ययन गर्नु हो । अध्ययन गर्नु र साहित्य लेख्नु भनेको भावि पुस्तालाई अनुभव, दृष्टिकोण, सिद्धान्तको कोसेली तयार गरिदिनु पनि हो । त्यसले भावि समाज र संसार अझ उज्यालो बनाउन मद्दत गर्दछ । साहित्य भनेको किनबेच गरेर नाफा नोक्सान निकाल्ने विषय होइन । साहित्यको एउटा अक्षर वा शब्द मात्र सिर्जना गर्नुपनि मान्छेको लागि नवीन आविश्कार सुम्पनु हो । त्यसैले साहित्य अनुत्पादक भन्नु जीवन र जगतको गति र अर्थनै नबुझ्नु हो जस्तो मलाई लाग्दछ । अध्ययन नगर्ने, विचार पैदा नगर्ने, चिन्तन मनन नगर्ने र निर्णयमा नपुग्ने हो भने मान्छे हुनुको पनि के अर्थ ?

समाजमा केहीले उदण्डी स्वभाव देखाइरहेछन्, केहीले विद्रोही स्वभाव देखाउँदैछन् र केही घमण्डीहरू छन् । त्यस्ताहरूलाई मत्थर पार्न किन नसकिएको होला ?

समाज र बादल उस्तै हो । क्षण क्षणमै रुप फेर्ने र क्षण क्षणमै गर्जने, चम्कने, वर्सिने र बिलाउने । समाज समथर मरुभूमि बाँचिरहन सक्तैन, बाँच्नुपनि हुँदैन । समाजमा असन्तोषी, अतृप्त, लोभी र मात्तुरहरूको जमात छ । यिनीहरू आवश्यक पनि पर्छ समाजलाई । मान्छे अतृप्ति, असन्तुष्ठि र अभावको सघन जङ्गलमा प्रवेश गर्छ, तर, त्यसबाट अघि बढ्ने हिम्मत, जाँगर र प्रयास अघि बढाउँदैन । परिणामतः जघन्य अपराधसमेत गर्न अघि बढदछ । त्यसैको फलस्वरुप मान्छेले चोर्छ, बलात्कार गर्छ, डकैती गर्छ, हत्या गर्छ, यस्तै यस्तै । असन्ताष मान्छेको आवश्यक तŒव हो, तर, असन्तोषलाई उन्मादतिर मात्र धकेल्नु र त्यसतर्फ अघि बढ्ने सही बाटो अवलम्वन नगर्नाको कारण समाजमा अपराध घटेका छन् । विद्रोह र घमण्ड एक हदसम्म ठीक हुन्छ तर त्यसैको आडमा अरुको क्षेत्रमा प्रहार गर्नु भने ठीक होइन । त्यस मानेमा लेखक पनि विद्रोही हुन्छ नि । राज्यसत्ता सधैं यथास्थिति बचाउन चाहन्छ । समाज सधैं अग्रगतिमा अघि बढ्न चाहन्छ । साहित्यकारले भने सामाजिक मानसिकता बुझेर आफ्ना सिर्जना मार्फत् प्रतिकारका हतियारहरू प्रहार गर्दछ ।

तपाईंका सबै कृतिहरू बजारमा छिटोभन्दा छिटो बिक्छन् । कस्तो साहित्य वा कृति लेखियो भने पाठकले बढी रुचाउँछन् ?

पाठकलाई चमत्कार दिन सकियो भने बजारमा कृतिको माग बढी हुन्छ । पाठकको रुची बुझेर र पाठकलाई तान्न सक्ने क्षमताको विकास गरेर कृति लेखियो भने मात्र पाठकको रुची भित्र पर्दछ । लेखकले पहिलो कुरा त लेख्ने विषयमा अध्ययन बेस्सरी गर्नु प¥यो, दोस्रो कुरा उसले नयाँ ढङ्गबाट लेख्न सक्नु प¥यो, तेस्रो लेखकले तयार गरेको कृतिले मान्छेमा आशा र उमङ्ग सिर्जना गर्न सक्नु प¥यो ।

अनि, प्रतिभा चाहिं ?

प्रतिभा र नदी उस्तै उस्तै हुन् । नदी बग्दै गएपछि सङ्लो बन्छ, मेहनत, प्रयत्न र निरन्तरताले प्रतिभा निखारिन्छ र राम्रो दिशा पहिल्याउन मद्दत मिल्छ ।

कुनै राजनीतिक वाद मनपर्छ ?

म कुनै राजनीतिक वादको पछि हिँड्ने लेखक होइन । एउटा सच्चा लेखक नुै वाद, सिद्धान्त, दर्शन र विचारको पछि लाग्दैन । बरु, नयाँ नयाँ विचार, सिद्धान्त र दर्शन निर्माण गरेर मान्छेहरूलाई नयाँ बाटो देखाउँछ सच्चा लेखकले । आधुनिक कालसम्म ईश्वरको सर्वोच्चता स्वीकारिएको थियो । त्यसबेलासम्म लेखक सर्वोच्च थियो, इतिहासको विश्वास गरिन्थ्यो, आदिम आदर्श, मूल्य मान्यता गर्ने महाख्यानको सर्वोच्चता स्वीकारिएको थियो । त्यसैबीच नित्सेको ‘ईश्वरको मृत्यु’ (डेथ अफ गड), रोलाँ वार्टको ‘लेखकको मृत्यु (डेथ अफ दि अथर), फुकुयामाको ‘इतिहासको अन्त्य’ (डेथ अफ हिस्ट्री, ल्योतारको महाख्यानको अन्त्य’ (इण्ड अफ ग्रयाण्ड न्यारेटिभ) कृतिहरू प्रकाशमा आएपछि पुराना विचारहरू गल्र्याम् गुर्लुम ढले । अहिले त ती पछिल्ला विचारहरू पनि पुराना भैसके । दश हजार वर्षयता समाजमा कृषिको उद्भव भएपछि समाजमा उचनिचको निर्माण भयो । कार्ल माक्र्स र म्याक्स बेवरले बर्ग र बर्गसङ्घर्षको चर्चा पनि गरे । विश्वमा समाजवाद, पूँजीवाद, साम्यवादका दर्शनहरू अघि बढे । तर, पूर्ण केही देखिएनन्, पूर्ण कुनै हुँदैनन् पनि । त्यसैले म कुनै राजनीतिक वादको पछि लाग्ने पक्षमा छैन । राजनीतिक वादको मात्र पछि लाग्ने लेखकहरू लोभी, स्वार्थी र चोरबाटोबाट फाइदा कुम्ल्याउन खोज्नेहरू मात्र हुन् । तिनीहरू असल लेखक होइनन् ।
जीवनमा सफल कसरी बन्ने होला ?

सफलताको निश्चित नापो छैन । सफलता भनेको मान्छेको सांस्कृतिक र वैचारिक स्तरमा भर पर्ने कुरा हो । त्यो मुख्यतः सामाजिक स्थितिमा भर पर्दछ ।

तपाईं हरेक दिन लेख्नुहुन्छ ?

हो म हरेक दिन केही न केही पढिरहेको हुन्छु र केही न केही लेखिरहेकै हुन्छु । मेरा हरेक क्षणहरू खोजमा अघि बढ्न रुचाउँछन् ।

   सुमित्रा सुमी

प्रतिक्रिया