आइतबार, साउन १७ २०७८
काठमाडौं ०५:५६
वासिङटन डिसी 20:11

छठ पर्व ,सामाजिक महत्व र यसको इतिहास

अरूण रूपाखेती २०७७ मंसिर ५ गते १:५२ मा प्रकाशित

कार्तिक शुक्ल चर्तुथि तिथिबाट छठ पर्व विधि पूर्वक पूजा कार्यको शुभारम्भ हुन्छ। छठ पर्व नेपाल र भारतका हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।

नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्र र भारतको बिहार ,ऊत्तर प्रदेश ,बंगाल र अन्य केही स्थानहरूमा श्रध्दा एवं भक्तिपूर्वक यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

कार्तिक महिनाको शुक्लपक्षको षष्ठी तिथिका दिन छठ पर्व मनाउने गरिन्छ । चार दिन सम्म हुने छठ पर्व विधिपूर्वक पूजा गरे तथा ब्रत बसेमा कामना अनुसारको भाकल पूरा हुने विश्वास राखिन्छ ।

छठ व्रतमा शारीरिक र मानसिक दुबै रूपबाट शुद्ध हुनुपर्दछ । छठको व्रतका नियम निकै कडा एवम् कठिन हुने गर्दछ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजा सहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

अग्नि पुराणका अनुसार चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको महाभारतमा वर्णन गरिएको पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ ।

पौराणिक ग्रन्थहरूमा छठ पर्वको प्रामाणिक उल्लेख छ, जसमध्ये ब्रम्हवैवर्त पूराणको निम्न श्लोकलाई प्रमुख आधार मान्न सकिन्छ-

षष्ठांशा प्रकृतेर्या च सा च षष्ठी प्रकीर्तिता l
बालाकाधिष्ठातृदेवी विष्णुमाया च बालदा ll
(ब्रम्हवैवर्त पुराण, प्रकृतिखण्ड, ४३/४/६ )

१) छठको पूर्वरुप (सूर्य उपासना) वेदमै पाइन्छ, तर छठी माताको प्राधान्य हुने गरी मनाइने वर्तमान छठको प्रारम्भ गुप्तकालतिर भएको जस्तो देखिन्छ ।

(२) नेपाल मण्डल (काठमाडौँ उपत्यका र वरपर) बाट सुरु भएको स्वस्थानी व्रतसँग यसको विकासलाई तुलना गर्न सकिन्छ । शास्त्रीय आधार पनि लिने, तर मुख्यतः लोक परम्पराबाट अनुप्रणीत । पुरानो समाजको जातीय अन्तरसम्बन्ध र अर्थतन्त्रको संयोजन पनि यसमा देखिन्छ ।

(३) छठ मुख्यतः भारतको बिहार र नेपालको तराइमा पर्ने मिथिलाञ्चल क्षेत्रको लोक पर्व हुँदै वरपरका अन्य समुदायमा विस्तार हुँदै गएको देखिन्छ । पहिचानको राजनीतिले यसको विस्तारमा ठूलो प्रभाव पारेको छ ।छठको महत्व क्रमश बढदै बढदैजादा नेपालको तराई भारतको बिहार हुदै हाल दक्षिण भारत लगायत संसारका विभिन्न देशहरूमा पनि हर्षोल्लासका साथ मनाऊन सुरू भै सकेको पाईन्छ ।

(अरूण रुपाखेती सेन्टरभील,भर्जीनीया )

प्रतिक्रिया