चेलीको मन

बिमला निरौला फेयरफ्याक्स भर्जिनिया । २०७७ कार्तिक २९ गते ११:५१ मा प्रकाशित

सरिताको मन कम खुशी भएको छैन। यसपाली त धुमधामले तिहार मनाउन पाइने भएको छ।तिहारको मुखैमा पारेर विदेशबाट माईत आएकी सरिता विगत छ वर्ष देखि दाइको निधारमा हात लग्न पाएकी छैनन्। बिहे भएको वर्ष पनि जुठो परेर छेकिएको थियो, भने त्यसपछि उनी अमेरिका गईहालीन्। बिरामी आमा हेर्न भनि आएकी सरितालाई एकैछिन फुर्सत छैन। घर र आमाको रेखदेख र धेरै पछिको आफन्त इष्टमित्र साथी भाइसंग पनि भेटघाट अनि रम्न पर्ने। समय बचाएर तिहारको किनमेलमा पनि जानु छ। आमाको औषधि उपचार अनि थरी थरी डाक्टरकोमा लाँदा र ल्याउँदा फुर्सद नै छैन उनीलाई।

लक्ष्मीपूजाको दिन पनि सरितालाई भ्याइ नभ्याइ भइरह्यो।घरको काम भ्याएर उनी माइत पुगिन्।माइतीमा किनमेल, सजिसजाउ,सेल पकाउने नैवेद्य फलफूल र पूजा सामग्री सबै बन्दोबस्त मिलाएर फेरी घर गइन्।सरिता घरमा परिवारका साथ धुमधामले पूजा गरिन्र खुशियाली मनाइन।यसरी लक्ष्मीपूजा नमनाएको पनि धेरै वर्ष भइसकेको रहेछ।अबेलै भए पनि आमालाई औषधि खुवाउन सरिता पु:न माइती पुगिन्। “दाइ शरद भाउजू पुर्याउन बिराटनगर गएको आज आठ दिन भैसक्यो कुनै अत्तोपत्तो छैन।पंचक लाग्नु भन्दा पहिले नै आउंछु भनेको मान्छे” उनी मनमा कुरा खेलाउंछिन्। “खै तेरो दाइ आज सम्म पनि आइपुगेन, यस्तै हो बुझिस् यो शरद जोइटिङ्ग्रेको कुनै भर छैन।त्यसकी बुढीले “पर्दैन् जान, किन जानु पर्यो तिहार भरि यतै रमाइलो गरेर बस्नु पर्छ अनि संगै जाउँला” भनी भने त्यो उतै बस्न बेर लगाउंदैन। लोग्ने स्वास्नी नै तास भने पछि हुरुक्कै हुन्छन्, हेर है नानी!” आमा छोरासंग झोक्किनु हुन्छ। एकोहोरो छोरा बुहारीको तीतो पोखेर फत्तफत्ताउनु हुन्छ “पोहोर साल तिर पनि त टीका लगाएको छैन क्यारे आखिर। बरु तपाईं र म सँगै जाउँला, अहिले यतै रमाइलो गरेर बस्ने हो बस्नुस्, हत्तारिएर किन जानु पर्यो” भनेर स्वास्नीले भनी भने यो शरद नआउन पनि सक्छ बुझिस्” आमा छोरा छिट्टै नआएकोमा दिग्दार हुँदै बिरह पोख्नु हुन्छ। “आमा पनि के नचांहिदो कुरा गरिरहेको, मलाई त दाइले छिट्टै आउँछु भनेको छ। मलाई विश्वास छ मेरो दाइ जसरी पनि मेरो हातको टिका लगाउने गरी साइतमा नै आइपुग्छ। बरु नभ्याउने भयो भने ऊ प्लेनबाट भएपनि पनि आउँछ नै” सरिता दाइ आइपुग्ने कुरामा ढुक्क भैरहेकीछिन्। ‘मलाई राम्ररी याद छ नि आमा उसले मलाई कति धेरै माया गर्थ्यो भन्ने कुरा त, उसकै प्रयासले मात्र म यहाँसम्म आइपुगेकी हुँ। दाइले मलाई कहिले दु:खी हुन दिएन, मेरो आँखामा पानी कहिले आउन पाएन। अनि उसले गरेर नै कहिले बुबाको अभाव महशुस गरिन मैले। म अमेरिका हुँदा पनि दाइलाई धेरै याद गर्थे आमा तपाईको जत्तिकै माया लाग्थ्यो र सम्झि रहन्थें। सरिताको आँखा धेरै पल्ट भिज्दै ओबानो हुँदै गरिरह्यो।

चाडबहाड़को बेला सरिता किनमेलमा व्यस्त रहिन्। धेरै वर्ष पछिको तिहार, ठूलो हौसला पनि छ।बाल्यकालका यादहरु पनि ताजा छन्।बच्चा बेलामा तिहारमा खुव रमाइलो लाग्थ्यो तर आभावले धेरै खुम्चिनु पर्ने हुन्थ्यो।रहरलाई मनमै दबाएर बस्नु पर्थ्यो।दाइको लागि भने-भने जस्तो किन्न नसकेको तीतो क्षण सम्झिएर मन चसक्क भयॊ। यस पटक दिल फुकाएर खर्च गरिरहेकी छिन। उत्कृष्ट सामानहरूको छनोट गरिरहेकी छिन्। दाइलाई सुहाउने पहिरन र भाउजूको छनोटको ख्याल गरेर अमेरिकाबाट ल्याइदिएको सामान पनि झिकेर ठिक पारेकी छिन् ।दाइलाई मनपर्ने मिठाई, मसला,फलफूलहरू,मालाहरु,विशेष विशेष परिकारहरु सम्पूर्ण सामग्री र खानेकुराहरु सबै आज दाइकै स्वादमा दाइकै लागि तयार भएका छन्। टिकाको दिन आज सरितालाई झनै भ्याई नभ्याई छ, भान्सामा नै काम गर्दा गर्दै मध्यान्नी भैसकेछ।घण्टाघरमा ट्यांग टयांग बाह्र बजेको आवाज आउँछ।अरु सबै सामग्री र पूजाको सामग्री सहित तयार पारेर घडी हेर्दा एक बजिसकेको रहेछ।“ला।ज्योतिसले त दुई बजे भित्र मात्र टिकाको साहित छ भन्नुभएको थियो” सरिताको मन झसंङ्ग हुन्छ।मनमा नाना कुरा लिंदै सोफामा बसेकी सरिताका आँखा झिपिक्क हुनपुग्छ। किरिङ्गरिङ्ग किरिङ्गरिङ्ग फोनको आवाज आउँछ। जुरुक्क उठेर सरिता फोन कानमा जोड्छिन्, उताबाट आवाज आउँछ “को बोलेको नानी हैन? नानी हेर्नुन दाइ टीका लागाउने गरी आउन पाउनु भएन। यहाँ आमालाई अली सन्चो छैन, त्यसैले दाइ बस्नु भएको हो। दाइको निधार खाली छैन। उहाँले मेरो काकाकी छोरीको नन्दको हातबाट टिका लगाई सक्नु भयो। बरु तपाईं पनि दाइलाई कुरेर नबस्नु, कोही भए टिका लगाए हुन्छ। अनि हामी सायद अब अर्को हप्ता मात्र आउँछौँ होला, ल त नानी राम्ररी बस्नु, अहिले राख्छु है त? बाई !” भाउजूले एकोहोरो बोलेर बाई भनेर पनि सरिता फोन कानमा नै जोडी टोलाई रहेकी छिन्। “मेरो कोही पनि र सबै पनि मेरो दाइ मात्र हो भाउजू” सरिताको मन बोल्छ र आँखा गिला हुन्छन्। आमाका दुई दिन अगाडिको शब्दहरु सरिताका कानमा गुञ्जिन थाल्छन।घडीमा आँखा पुग्दा सवा दुई भैसकेको रहेछ।भाउजूको फोन संगै टिकाको सम्भावना र साइत गुज्रिसकेको अनुभुती गर्छ चेलीको मन ।

-बिमला निरौला फेयरफ्याक्स भर्जिनिया ।

प्रतिक्रिया