मुलकमा सुविधा सम्पन्न तीन हजार ५०० वेड आइशोलनसन निर्माण गर्ने –स्वास्थ्यमन्त्री ढकाल

इनेप्लिज २०७७ कार्तिक २८ गते ०:२९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२७ कात्तिक।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश नं १ को सरकार,विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भईरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमन गर्नुभएको छ।

मन्त्री ढकालले कोरोना सङ्क्रमितको उपचारका लागि एचडियु र अक्सिजन सहितको एक सय वेडको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा गर्नुभयो।उहाँले सेन्टरको अनुगमन गर्दै सङ्क्रमितको उपचारका लागि अक्सिजन, आईसियु र भेन्टिलेटरको आवश्यकता देखिएकाले सरकारको यसलाई प्राथमिकता राखेको बताउनुभयो।

मन्त्री ढकालले सरकारले सुविधा सम्पन्न तीन हजार ५०० सय वेड थप गर्ने तयारी गरेको जानकारी दिदै दुुई हजार उपत्यकामा र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताउनु भयो।

उहाँले कोरोना सङ्क्रमितको उपचारमा समस्या नहोस् भनेर सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको छ भन्नु भयो । सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने बताउँदै मन्त्री ढकालले खोपका लागि आवश्यक तयारी भईरहेको जानकारी दिनु भयो।

उहाँले खोप परीक्षण सफल हुनसाथ आयातका लागि कानुनी समस्या नहोस भनेर अध्यादेश तयार गरिएको जानकारी दिनु भयो।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडा लगायतले प्रदेश सरकारको रु २ करोड,निजी क्षेत्रको रु १ करोड ५० लाख र महानगरपालिकाको रु २५ लाखको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिनु भयो।

मन्त्री ढकालले यसअघि कोशी अस्पताल विराटनगरको पनि अनुगमन गर्नुभएको थियो।

प्रतिक्रिया