आकाश

गोपाल प्रसाद भण्डारी २०७७ कार्तिक २४ गते ३:५३ मा प्रकाशित

आकाशमा पार्थिव गन्ध छैन

जलीय अर्को रस वस्तु हुन्न

आकाशको वास्तव रूप छैन

आकाशमा स्पर्श विधान हुन्न।।१।।

 

आकाशको लक्षण शब्दमा छ

आकाशको श्रीगुण शब्द हुन्छ

आकाश यो व्यापक शान्त हुन्छ

स्वयम् छ रित्तो तर बस्न दिन्छ ।।२।।

 

हो पाँचमा एक आकाश तत्व

साक्षी भई बस्छ लिई महत्व

स्वतन्त्रता हो नभको प्रभुत्व

तटस्थता हो यसको शिवत्व ।।३।।

 

न आदि देखिन्छ न अन्त हुन्छ

अनन्ततामा प्रणवात्म हुन्छ

विशुद्धतामा गतिलो गनिन्छ

ब्रम्हाण्ड सारा नभमा अडिन्छ ।।४।।

 

यो राख्छ सारा ग्रहपिण्डलाई

पानी धरा तेज़ र वायुलाई

सम्मानले राख्छ सबै मिलाई

आकाश नै योग्य छ थेग्नलाई ।।५।।

 

अखण्ड आकाश छ दिव्य एक

मनुष्य पार्छन् भ्रमले अनेक

हो यो अविद्या यसमै छ लोक

आकाश टुक्रिन्न भए विवेक ।।६।।

 

हुँदैन आकाश कदापि कालो

आकाशको रड्०ग भनिन्छ नीलो

अध्यास हो यो व्यवहार जालो

रड्०गीन यो हुन्न छ शुद्ध पैलो ।।७।।

 

आकाशको हुन्न कुनै प्रकार

भनिन्छ षट्भावविकारसार

छन् लुप्त केही नभमा विकार

स्थायी छ आकाश र झेल्छ भार ।।८।।

 

छैनन् कुनै अड्०ग र काममार

हुन्नन् कुनै विध्न र छेकबार

आकाशमा छन् सब शब्दहार

आकाश आधार छ साधिकार ।।९।।

 

सक्तैन कोही नभ काट्न छिन्न

हल्लाउने तागत आँट हुन्न

समाउने व्यक्ति कदापि हुन्न

उडाउने तागत वस्तु छैन ।।१०।।

 

धरा नसक्ने दिन गन्ध शक्ति

दिंदैन पानी रसदार शक्ति

न तेजको चल्दछ रूप शक्ति

न वायुको स्पर्श रहन्छ मुक्ति ।।११।।

 

सोसिन्न भिज्दैन र जीर्ण छैन

घट्दैन बढ्दैन र जीर्ण छैन

झुक्दैन फुट्दैन र छिन्न छैन

झर्दैन सर्दैन र र दुष्ट छैन।।१२।।

 

सजीव निर्जीव कुनै नरोक्ने

ठूलो र सानो बलियो नतोक्ने

धनी भनी मान गरी नढोग्ने

आकाश नै हो सब वस्तु बोक्ने।।१३।।

 

आमा भने हुन्छ समानतामा

पिता भने हुन्छ विशालतामा

अर्धाड्गिनीझैं छ उदारतामा

आकाश हो यो गुरु योग्यतामा।।१४।।

 

न्यायी र भोगी अनि भद्रतामा

ध्यानी महात्मा सम सत्यतामा

ओङ्कारझैं यो छ पवित्रतामा

अतुल्य हो यो प्रभु सिर्जनामा।।१५।।

 

ज्ञानी र दानी सम उच्चतामा

हो यो प्रतिष्ठा प्रभुको विधामा

हो यो सुदामा सम मित्रतामा

अनन्य हो तत्व विशिष्टतामा।।१६।।

 

आकाश सत्ता छ अवर्णनीय

शरीरमा यो छ विचारणीय

छ व्याप्ति ठूलो र अचिन्तनीय

आकाशको देन छ शंसनीय।।१७।।

 

तुफान आँधी यसमा बहन्छन्

विमान उड्छन् सब दड्०ग हुन्छन्

पतड्०ग आनन्द लिएर घुम्छन्

राम्रा नराम्रा नभमा रहन्छन्।।१८।।

-गोपाल प्रसाद भण्डारी

 

 

प्रतिक्रिया