नसोध मलाई

रविन थपलिया क्यानडा २०७७ कार्तिक २२ गते १:५१ मा प्रकाशित

हिउँदमा सुक्खा र बर्खामा हिले पहिरो बग्ने भीर
भीरको डिलमा ढलपल ढलपल तिम्रो घर
घर भित्र खेलिरहेको अबोध छोरा
छोरो खेलाउदै गरेकी सुन्दरी जवान जहान,
छोडेर
तिम्रो हावाजहाज थानकोट काट्यो।
थानकोट काट्ने बित्तिकै
एअर होस्टेस संग वाईन माग्यौ होला
सीमाना काट्ने बित्तिकै
नेपाललाई सतोसराप गर्यौ होला
दुईजना भेट्ने बित्तिकै
देश हाँकेर थाकेको गफ दियौ होला
पैसाको थुप्रोमा लडेको
संसारको सबै बिद्या पढेको
दुनियाँलाई जागिर दिएर पालेको
कैयौंलाई टिपेर फालेको
ठाउँको ठाउँ मान्छे गालेको
अलौकिक गोटि चालेको
यस्तै बहुलट्ठी सानाठुला गफ दियौ होला
तर
नसोध मलाई
तिमी गएपछि घर के भयो ?

रविन थपलिया
क्यानडा

 

प्रतिक्रिया