अस्ट्रियाको भियनामा आंतककारी आक्रमण – नेपालीहरु सुरक्षित

बाबा राजेश्वरी थापा २०७७ कार्तिक १८ गते ०:२६ मा प्रकाशित

संसारकै सुरक्षित मानिएको देश अस्ट्रियाको राजधानी भियनाको मुख्य शहरका विभिन्न ६ ठाउमा सोमवार साँझ ८ बजेको समयमा एक आंतककारी आक्रमण भएको छ। हातमा लामो बन्दूक र चक्कु बोकेका एक व्यक्तिले जथाभावी गोली चलाउदै हिडेको दृश्य एक प्रत्यक्षदर्शीले आफ्नो क्यामेरामा खिचेका थिए।

बन्दुकधारीको प्रहरीसंग दोहोरो भिड़न्त भएको अस्ट्रियन प्रहरीले जनाएको छ। यस घटनामा ठुलो क्षति भियनाको भित्री शहर स्वीडेनप्लाच भन्ने ठाउमा भएको छ। घाइते र मृतकहरु एकिन संख्या थाहा नभएपनि एकको मृत्यु १५ घाइते भएको र जसमा ७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। आरोपित मध्ये एक अपराधीलाई पुलिसले गोली हानी मारेको अनुमान छ।

मुख्य शहरलाई चारैतिरबाट बन्द गरिएको छ र ठुलो मात्रामा प्रहरी परिचालन गरी आंतककारीहरुको खोजी कार्य शुरु गरिएको छ । अस्ट्रियन सरकारले भियनावासीलाई घर भित्रै बस्न र नआत्तिनको लागि अनुरोध गरेको छ।

अस्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले देशवासीलाई सम्बोधन गर्दै भने, “हामी कठिन समयबाट गुज्रिरहेका छौं। म सबै आपतकालीन सेवाहरूलाई धन्यवाद दिन चाहन्छु जसले आफ्नो जीवन जोखिममा राखेरआज हाम्रो सुरक्षाको गरिरहेका छन। सम्पूर्ण देश पीडित, घाइते र उनीहरूको परिवारजनमा म गहिरो सहानुभूति व्यक्त गर्दछु,”। उनले युरोपेली युनियनका नेताहरु र अन्तर्राष्ट्रिय साझेदारहरुप्रति सहानुभूति र एकताको ब्यक्तिको लागि धन्यवाद दिए।

यस गोलीबारी कसले र किन गर्यो भन्ने जानकारी मंगलवार आउने छ। अहिले प्रहरी प्रशासनलाई सहयोग गर्न अस्ट्रियन सैनिकहरुको समेत परिचालन गरी अपराधीहरुलाई खोज्ने क्रम जारी छ।

एनआरएन अध्यक्ष बिनोद चौलागाईसंग नेपालीहरुको स्थिति बुझ्दा, भियनामा बस्ने सबै नेपाली सुरक्षित रहेको र कुनै अप्रिय घटना घटेको जानकारी नआएको जनाएका छन।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया