इंग्ल्याण्डमा बिहीबारदेखि एक महिना लामो लकडाउन गर्ने प्रस्ताव, घरमै बस्न प्रधानमन्त्रीले गरे आग्रह

इनेप्लिज २०७७ कार्तिक १५ गते २०:०३ मा प्रकाशित

लन्डन (जीएनएन) — कोभिड -१९ को तीव्र संक्रमण रोक्ने प्रयास स्वरुप ब्रिटिश सरकारले इंग्ल्याण्डमा बिहीबारदेखि झन्डै एक महिना लामो लकडाउन गर्ने प्रस्ताव गरेको छ ।

शनिबार बेलुका एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरि दोश्रो लकडाउन गरिने घोषणा गरे।
तर स्कुल, कलेज र विश्वविद्यालयहरु भने खुलै रहने छन् ।

रेस्टुरेन्ट र पबहरु बन्द हुने छन्, तर टेक अवेहरु भने खुलै रहने छन्। सुपर मार्केटहरु पनि खुलै रहने छन्।प्रधानमंत्री जोन्सनले ब्रिटिश संसदमा प्रस्तावित लकडाउनबारे बुधबार बहस गरिने र त्यस पछि मतदान पनि हुने बताए। संसदले लकडाउन गर्ने पक्षमा मतदान गरेमा बिहीबार, ५ नोभेम्वर देखि डिसेम्बर २ तारिख, २०२० सम्म इङ्गल्याण्ड भरि लागु हुने छ।

ब्रिटेनका अन्य राज्यहरुमा पनि प्रान्तीय सरकारहरुले कोरोना संक्रमण रोक्न विभिन्न उपायहरु घोषणा गरेका छन्। दैनिक मृत्युदर ४ हजार बढी हुनसक्ने उल्लेख छ ।

बेलायतमा कोभिड-१९ का कारण हुने मृत्यु दैनिक एकहजारसम्म पुगेको थियो । बेल्जियम, फ्रान्स र जर्मनीमा लकडाउन घोषणा गरीए पछि युरोपमा सबैभन्दा प्रभावित ब्रिटेनले पनि लकडाउन गर्न लागेको हो ।

“आआफ्नो घरमै बस्नोस्, एनएचएसलाई जोगाउनोस् र मानिसहरुको ज्यान बचाउनोस्,” प्रधानमंत्री जोन्सनले भने। ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवालाई ‘एनएचएस’ भनिन्छ।

ब्रिटेनमा दस लाख भन्दा बढी मानिसहरुलाई कोरोना संक्रमण भएकोमा ४६,००० भन्दा बढीको ज्यान गइसकेको छ।

प्रतिक्रिया