तराई मधेसबाट लोप हुँदै झिँझिया

सञ्जय मित्र,रौतहट २०७७ कार्तिक ९ गते १६:५० मा प्रकाशित

सञ्जय मित्र,रौतहट,

दशैंको समयमा तराई मधेसमा दिदी–बहिनीहरुले मनाउने झिँझिया लोपोन्मुख अवस्थामा पुगेको छ।दशैंको घटस्थापना देखि नवमीको रातसम्म करिब हरेक गाउँमा विभिन्न समूहमा महिलाहरुले प्वालै प्वाल भएको घैटा भित्र बलेको दियो टाउकोमा राखी गीत गाउँदै नृत्य प्रस्तुत गर्ने झिँझियाको दृश्य अब विरलै देख्न पाइन्छ।

पहिले सबै उमेर समूहका महिलाले खेल्ने झिँझिया अब मुस्किलले कुनै कुनै गाउँमा खेलेको पाइन्छ,त्यो पनि साना बालिकाहरु द्वारा।तराई मधेसको करिब सबै भाषिक तथा जातीय समुदायमा प्रचलनमा रहेको झिँझिया विगत केही दशकदेखि लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरिन थालिएको छ।

सहर बजारका नयाँ पुस्ता युवाहरुले झिँझियालगायतका सांस्कृतिक सम्पदाप्रति उदासीन हुनु पनि चिन्ताको विषय भएको नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका सचिव सफिन्द्रप्रसाद यादवको भनाइ छ।हेर्दाहेर्दै झिँझिया लोप हुन लागेकोमा आफूलाई चिन्ता लागेको यादव बताउँछन्।

मौलिक लोकसांस्कृतिक गीति लय,मौलिक नृत्य तथा सांस्कृतिक परम्परा रहेको महिलाहरुको सांस्कृतिक उत्सव लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै सबैतिरबाट प्रोत्साहनको आवश्यकता रहेको रौतहटकी साहित्यकार रेणु गुप्ताको भनाइ रहेको छ।साहित्यकार गुप्ता भन्छिन्–लोपोन्मुख अवस्थामा पुगेको झिँझिया लोकनृत्यलाई बचाउनु वर्तमान पुस्ताको कर्तव्य हो।

झिँझियाजस्तो लोकसम्पदामा आधुनिक दृष्टिकोणले केही कमीकमजोरी होला तर तिनलाई हटाउँदै झिँझियालाई सन्देशमूलक बनाउनुपर्ने र स्थानीय सरकारले झिँझियालाई बचाउन ठोस योजना बनाएरै पहल गर्नुपर्ने अर्का साहित्यकार किशुनदयाल यादव श्रीकृष्णको भनाइ छ।झिँझिया हराउँदै जानु भनेको मौलिक सामाजिक–सांस्कृतिक लोप हुनु रहेकोले यसलाई संरक्षण तथा सम्बद्र्धन गर्न सम्बन्धित निकायको उचित ध्यान जानुपर्ने साहित्यकार श्रीकृष्णको सुझाव छ।
झिँझियालाई कतिपय सांस्कृतिक संस्थाहरुले मञ्चहरुमा प्रदर्शन गरेर सम्बद्र्धनको प्रयास गरेका छन्।संस्थाहरुले गरेको प्रयास अपर्याप्त रहेकोले मुख्य रुपमा स्थानीय सरकारले लोकनृत्य झिँझियाको प्रबद्र्धनमा ध्यान दिनुपर्ने बुद्धिजीवीहरुको राय रहेको छ।झिँझिया प्रवद्र्धनलाई पालिकाहरुले आफ्नो नियमित कार्यक्रममै राखेर प्रोत्साहन गर्नुपर्ने सर्लाहीको रामनगर गाउँपालिकाको शिक्षा संयोजक रामपवित्र साहको भनाइ छ।

रौतहटको गौर नगरपालिकाकी उपमेयर किरण ठाकुरले झिँझिया संस्कृतिको सम्बद्र्धनमा जुट्न सबैलाई आह्वान गरेकी छन्।झिँझिया खेल्ने बालिकाहरुको समूहमा सहभागी हुँदै उपमेयर ठाकुरले झिँझिया हाम्रो सांस्कृतिक सम्पदा भएकोले यसलाई बचाउन उचित ठानेर झिँझिया खेलेरै प्रोत्साहन दिएको बताउँछिन्।

प्रतिक्रिया