अस्ट्रियामा तीन नेपाली बच्चा मारिए- आमाले वकिल सामु मुख खोलिन

बाबा राजेश्वरी थापा भियना,अस्ट्रिया २०७७ कार्तिक ७ गते २१:५० मा प्रकाशित

बाबा राजेश्वरी थापा भियना,अस्ट्रिया । गत शनिवार १७ अक्टोबर २०२० अस्ट्रियामा बस्ने नेपालीहरुका लागि एक कहालीलाग्दो दिन बन्यो। एक नेपाली महिलाले आफ्ना नौ वर्षीय, तीन वर्षीय छोरीहरु र आठ महिने दुधे बालकलाई हत्या गरेको समाचारले अस्ट्रियावासी नेपालीहरुलाई शोकाकुल बनायो भने उक्त डरलाग्दो घटनाले अस्ट्रियाका सबै अखबारहरुमा ठुलो चर्चा कमायो ।

आफ्ना तीन सन्तानको हत्या पछि प्रहरी आकस्मिक कक्षमा आफैले टेलिफोन गरी प्रहरीलाई खबर गरेकी उक्त ३१ वर्षीय महिलाले आफै पनि आत्महत्या गर्न खोजेको र मानसिक सन्तुलन गुमाई उक्त अपराध गरेको अस्ट्रियन प्रहरीको प्रारम्भिक अनुसन्धान छ। यद्यपि की महिलाले आफ्ना सन्तानको हत्या आफैले गरेको स्वीकार प्रहरी समक्ष गरेको प्रहरीको भनाई छ। घरायसी झगडाका कारण उनका पति त्यस घटना हुदां घरमा नरहेको प्रहरीले जनाएको छ। उक्त घटना घटना शनिवार घटेको थियो र हत्याको आरोप लागेकी आमालाई प्रहरीको प्रारम्भिक अनुसन्धान पछि सरकारी वकिल समक्ष गत सोमबार १९ अक्टोबरमा पेश गरी थप हिरासतमा राखी अनुसन्धान प्रक्रियालाई अगाडी बढाइएको थियो।

अस्ट्रियाको कानुनले जर्मन आफ्नो मातृभाषा नभएका व्यक्तिहरुलाई सरकारी वा कानुनी कामकाज गर्न मान्यताप्राप्त दोभाषेको सुविधा दिन्छ र हाल उक्त महिलाको बयान लिने काम पनि दोभाषेको सहयोगमा भइरहेको छ। दोभाषे बाहेक अन्य कसैसंग पनि भेट्न उनले इन्कार गरेकी छिन।

विदेशमा बसी अपराधमा संलग्न हुने नेपाली नागरिकहरुलाई स्थानीय देशले तोकेको कानुन बमोजिम सजाय हुने व्यवस्था भएको र अन्य मुलुकको कानुनी प्रक्रियामा दबाब दिने अधिकार नेपाली कुटनैतिक नियोगहरु र राजदुतावासलाई छैन। नेपाली राजदुतलाई पनि उक्त महिलाले भेट्न इन्कार गरेको समाचार बाहिर आएको छ भने उनी मानसिक रोगले ग्रसित रहेका समाचार बाहिर आएपनि यसको पुस्टि अझै भएको छैन ।

वकिलको व्यवस्था:

वकिल लिन समेत इन्कार गरेकी उक्त महिलाले आजै आफ्ना पक्षका वकिल फ्लोरियन होवलवार्थसंग कुरा गरेकी छिन। उनका वकिलका अनुसार उनी मानसिक रुपमा निकै असक्त र सन्तुलन गुमाएको अवस्थामा छिन। आफ्ना वकिलसंग कुरा गर्ने क्रममा उनले पटकपटक “मेरा बच्चाहरु कहाँ छन? म कहाँ छु? म अझै यहाँ कति बस्नुपर्छ?” भनी प्रश्न गरीरहेकी छिन। साथै अपराध अनुसन्धानमा संलग्न अधिकारीहरुका अगाडी आलापविलाप गरी काप्दै रोइरहकी उनले, “ मैले मेरा बच्चाहरुलाई तकियाले सुतेको बेलामा थिचे” भन्दै उनी भुइमा ढलेको कुरा स्थानीय पत्रिकाले जनाएको छ।

स्थानीय पत्रिका होइटे(Heute) संग कुरा गर्दै उनका वकिल होवलवार्थले भने, “उनी आलापविलाप गरेर रुन्छिन, अनुसन्धान जारी छ र यसको ठोस तथ्यहरु म अझै टिप्पणी गर्न सक्दिन।” वकिलले भने, “ उनी मानसिकरुपमा विक्षिप्त छिन। पक्राउ परेको दिन जुन कपडा लगाएकी थिइन, आजसम्म पनि त्यही कपडा लगाएर थुनामा जाडोले कठांग्रिएकी छिन र म केही पैसाको व्यवस्था गरी उनलाई नुहाउन स्याम्पु र नयां कपडाको किन्ने व्यवस्था मिलाउने छु।”

उनलाई कस्तो सजाय हुन्छ भन्ने प्रश्नको उत्तरमा उनका वकिलले भने,” यदि मानसिक रोग वा असन्तुलनका कारण उनले यस अपराध गरेको प्रमाणित भएमा उनलाई उपचारको व्यवस्था गरी त्यही अनुसारको सजाय हुन्छ अन्यथा जन्मकैद हुन्छ ।”

घटनाको कारण बच्चा पाल्ने अधिकार गुम्ने डर:

अस्ट्रियाको कानुन अन्य युरोपेली मुलुक जस्तै रहेको छ। यदि लोग्नेस्वास्नीको सम्बन्धविच्छेद भएमा छोराछोरी १८ वर्ष नपुगेसम्म पालनपोषणको अधिकार दुवै आमाबाबुलाई हुन्छ। कानुनले महिलालाई अली धेरै सुविधा दिएको हुदां धेरै जसो सम्बन्धविच्छेदपछि छोराछोरीहरुलाई आमासंग बस्ने अधिकार दिइन्छ र पालनपोषण गर्न बाबुले अदालतले तोके बमोजिम शुल्क बच्चा १८ वर्ष नपुगेसम्म तिर्नु पर्ने हुन्छ र यदि बच्चाहरुले बाबुसंग बस्ने अधिकार पाए भने आमाले पनि अदालतले तोके अनुसार रकम पालनपोषणको लागि तिर्नुपर्ने हुन्छ ।

आमालाई कुनै किसिमको रोग लागेको खण्डमा र आमासंग बच्चालाई राख्दा कुनै खतरा देखेको खण्डमा छोराछोरी बाबुसंगै बस्न पनि पाउछन। आमा बाबुको सम्बन्धविच्छेद पछि पनि बच्चाको पालनपोषणको अधिकार हेरफेर हुनसक्छ । यस घटनालाई पनि पारिवारिक कलहसंग जोडिएको छ र बच्चाहरु पाल्ने आफ्नो अधिकार गुम्ने डरले उक्त महिलाले यस अपराध गर्न बाध्य भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको समाचार बाहिर आएको छ।

बालबालिकाको अन्त्येष्टिको जिम्मा बाबुलाई

हत्या गरिएका बालबालिकाका पिता भियनामै रहेका छन। उक्त महिलाका श्रीमान् र बच्चाका बुबा उनी भियनाको जोसेफस्टेट जेलमा अहिलेसम्म श्रीमतीलाई भेट्न गएका छैनन् भनी स्थानीय पत्रिकाले लेखेको छ। ती महिला हाल प्रहरीको निरन्तर अवलोकन रहेकी छिन ताकि उनले आफुलाई हानी हुने कुनै पनि काम गर्न नसकुन्। साथसाथै बालबालिरकाको अन्त्येष्टिको व्यवस्था गर्ने जिम्मेवारी बाबुको रहने छ।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया