कविता :पशुत्वकाे बली

अर्जुनराज पन्त २०७७ कार्तिक २ गते २१:३७ मा प्रकाशित

लैना पाडा दुधे पाठा परेवाका चल्ला
बली दिँदै गर्छन हरे धर्म भनि हल्ला !

मासु खाने रहर भए काट अन्तै बरु
मन्दिरमा बली नदेउ पशु पन्छीहरु।

तिमी मात्रै जान्नौ त्याहाँ जान्छन् अरु पनि
बाल बच्चा मृगी राेगी दर्शन गर्न भनि।

साथ लागेर बाउआमाको बच्ची त्याहाँ गा’ कि
बली दिएको दृश्य देखि झण्डै बेहोस भा ‘कि!

रुँदै रुँदै भनि उसले मेरो मने पाठी
लतारेकाे किन यहाँ काटि उसकाे घाँटि?

देख्दा खेरी रगत आज मन्दिर वरिपरि
नराम्ररी तर्सि बच्ची रुँदै बिलाप गरि!

पुजा गरे बाउआमाले उसले मुहार छोपि
झिकिकन् उसका बाउको शीरमा भा ‘को टोपी।

न त खाइ प्रसाद केहि न त लगाइ टिका
यस्ता ठाँउमा नलेउ भन्दै राखि निधार फिका!

बलीयोले निर्धा प्राणी काट्दा यस्ताे गरि
गलत सन्देश दियो कि खै यस्ले लोकै भरि?

मन्दिरको भिडलाइ हेर्न बिदेशी नि आ’को
सबै थरि दृश्य खिच्ने क्यामरा नि भा’ को ।

एकाेहाेराे हेर्याे त्यहाँ खाेज्याे फाेटाे खिच्न
किन काँमे उसका हात खै सकेन त्याे थिच्न !

बली दिएकाे दृश्य देखि भइ निकै दङ्ग
के गरेकाे यस्तो भन्दै शाेध्याे सबै सङ्ग

एउटै उत्तर पायाे उसले धर्म गर्या भनि
छक्कै परि गर्याे त्यहि अर्को प्रश्न पनि ।

लाै त देखाउ अरु त्यस्ताे मैले भने जस्ताे
धर्म भन्ने यस्तो रै छ पाप चाँहि हुन्छ कस्तो ?

घुम्दै आउला फेरि अर्को एकादशिका दिन
शाेध्ला पश्न बधशाला याे बन्द भयाे किन ?

सके राेक यस्तो प्रथा राेज अर्को बाटो
नरिवलकाे बली देउ चाैपाँयाकाे साटाे

सक्दैनाे त्याे राेक्न भने अर्को मेसाे गर
बनाउ एउटा बधशाला त्याे मन्दिर भन्दा पर

काेहि कसैलाई जान नदेउ त्यसका वरिपरि
जे मन लाग्छ त्यतै गर नदेखिने गरि।

पशुत्वकाे बली देउ पशु पन्क्षी हैन
शुद्ध हाेला मर्ने चाेला मिल्ला धर्म चैन

नहुँदामा पशुत्व त्याे तिमी मानब भित्र
अनि बल्ल फेरिनथ्याे कि याे समाजकाे चित्र!

-अर्जुनराज पन्त ,बाग्लुङ मुलपानि ,हाल टेक्सास अमेरिका

( कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य ‘काेइली’का समेत लेखक हुन)

प्रतिक्रिया