वीपीको कोभिड अस्पताललाई चुस्त दुरुस्त राख्न मन्त्री घिमिरेको निर्देशन

इनेप्लिज २०७७ असोज २९ गते २१:२५ मा प्रकाशित

विराटनगर,२९ असोज।प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताललाई चुस्त दुरुस्त राख्न आज पदाधिकारीलाई निर्देशन दिनुभएको छ।

मन्त्री घिमिर टोली सहित कोभिड अस्पतालमा बेतिथि बढेको भन्दै धरान पुग्नु भएको थियो ।उहाँले कोभिड १९ अस्पताल संचालन भएको चार महिनामा उपकरणहरु विग्रिनुको कारण र कोरोनाका गम्भिर प्रकारका विरामीहरुले कोभिड अस्पतालमा उपचार नपाउनुको कारणबारे जानकारी लिनु भएको छ । मन्त्री घिमिरेले प्रतिष्ठानका कमजोरीहरु तत्काल सुधार गर्न पदाधिकारीलाई निर्देशन दिनुभयो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले प्रतिष्ठानको कोभिड १९ अस्पताल संचालन भएको चार महिनामा कसरी भेन्टिलेटर विग्रियो भनेर प्रतिष्ठानका पदाधिकारीहरुलाई प्रश्न गर्नुभएको थियो । उहाँले प्रतिष्ठानको कोभिड अस्पताल धरानको मात्रै होइन प्रदेश र प्रदेश बाहिरका गम्भिर प्रकृतिका विरामीले उपचार पाउनु पर्नेमा पछिल्लो समय उपचार नपाईरहेको गुनासो आएको छ भन्नु भयो।

बैठकमा प्रमुख जिल्ला अधिकारी पोखरेलले बुँदागतरुपमा डेढ दर्जन जति सुझावहरु प्रतिष्ठानका पदाधिकारीहरुलाई दिनुभएको छ । सामाजिक विकास मन्त्रीसंगै प्रतिष्ठानमा मन्त्रालयका सचिव, प्रदेश ल्याब प्रमुख, स्वास्थ्य महाशाखा प्रमुखको टोलीमा सहभागिता रहेको थियो । बैठकमा प्रतिष्ठानको धर्मशालालाई आइसोलेसनबाट पुरै कोभिड अस्पतालको रुपमा विकास गर्नेबारे पनि छलफल भएको बताईएको छ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढीसकेको र चाडै पुरा हुन जानकारी दिनुभयोे।कोभिड अस्पतालको नौ वटा भेन्टिलेटर मध्ये पाँच वटा चलिरहेको र बाँकी चार वटा विग्रिएकोले मर्मत भईरहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताउनुभयो।

 

प्रतिक्रिया