जसको आदेशबिना स्वयम्
प्रवेश गर्न सक्दैन पवन
नयन खोल्न सक्दैन गगन
हल्लिने हिम्मत गर्दै गर्दैन धरती
मित्रको मस्तिष्क समेत पुग्न सक्दैन
दुश्मनको सबै चिन्तन नै समाप्त हुन्छ
अनन्त अगम जो छ सृष्टिका लागि पनि
मेरो हिमाल
मेरो शिरको सेतो पगरी झैँ
श्वेत हिमाल अनन्त उभिएको छ
विश्वकै शिरको पगरी बनेर
संसारको मुस्कान आफूमै समेटेर मेरो हिमाल
शान्त चित्त स्थिर र सौम्य
श्वेत दन्त लहरले
धरणी लाई मुस्कुराएको बनाउँछ
मेरो हिमाल मुस्कुराएको देखेर
भुलाउँछ दुनियाँले आफ्नो दुःख
मेरो हृदय बीच गुलाब मुस्कुराउँछ
दुनियाँको पीडा भुलाएर
हृदयमा प्रेम,सौहार्द्र र सुखानुभूति भर्ने
मेरो हिमाल
अनेक पीडा आफ्नै छाती भित्र लुकाएर
मुस्कानको पाठ सिकाउँछ।
त्यो अविचलताले लक्ष्यमा अडिग रहेर
अप्ठ्याराहरू सित पौठे जोरी खेल्दै
मुस्कान साथ स्वागत गर्नुपर्छ पीडालाई पनि
र,बन्नुपर्छ विश्वको पगरी
नझुकाई स्वाभिमानको सगरमाथा
अमूक दिइरहेछ सन्देश।
सञ्जय “मित्र”
मित्रनगर, गरुडा – ४,रौतहट
प्रतिक्रिया