डिजे बाजा माथि रौतहटमा प्रतिबन्ध

इनेप्लिज २०७७ असोज २२ गते १४:४९ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय रौतहटले डिजे बाजा माथि प्रतिबन्ध लगाएको छ।जिल्लाको धार्मिक,सामाजिक,राजनैतिक कार्यक्रमहरुमा अत्यधिक चर्को आवाज निकाल्ने डिजे साउन्ड सिस्टमको प्रयोग बढिरहेको सन्दर्भमा जिल्ला सुरक्षा समिति तथा जिल्लास्तरीय कोभिड –१९ संकट व्यवस्थापन केन्द्र रौतहटले डिजे साउन्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयमा सिफारिश गरेको थियो।

चर्को स्वरमा डिजे साउन्ड सिस्टम संचालन गरिँदा ध्वनि प्रदूषण हुने,स्वास्थ्यमा समस्या आउने,शान्ति सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकूल प्रभाव परी विभिन्न दुर्घटनाहरु समेत भएको तथ्यलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय रौतहटले डिजेमाथि प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।

डिजे साउन्डको प्रयोगको विषयलाई लिएर जिल्लाको विभिन्न भागमा विरोध भएको देखिन्छ।डिजे साउन्ड सिस्टममा अश्लील गीत गाउने तथा अश्लील नृत्य गर्ने भएकोले पनि यसको विरोध हुँदै आएको हो।

दुर्गापूजा,विश्वकर्मा पूजा,सरस्वती पूजा तथा महायज्ञहरु संचालन गरिँदा कैयौँ दिनसम्म लगातार डिजे बाजाको प्रयोग गर्ने चलन बढेको थियो।यसै गरी विवाह, छठियार तथा अन्य मांगलिक कार्यमा पनि डिजे बाजाको प्रयोग गर्ने प्रवृत्तिको विकास भइसकेको थियो।

गत तीन वर्षदेखि डिजे साउन्ड सिस्टममाथि प्रतिबन्ध लगाउनु पर्ने माग गर्दै आएका दुर्गा भगवती गाउँपालिकाका युवा चञ्चल झाले जनस्वास्थ्य र सामाजिक सद्भावको दृष्टिकोणले निर्णय निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन्। डिजेको चर्को आवाजले बालबालिका तथा विभिन्न किसिमका बिरामीलाई नकारात्मक असर पार्ने गरेको पनि झाको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयको आदेशको वर्खिलाप भए गरिएको पाइएमा डिजे साउन्ड सिस्टम जफत गरी प्रचलित कानुनबमोजिम कारवाही गरिने पनि प्रजिअ यादवले जनाएका छन्।

प्रतिक्रिया