चेतनाले यत्र तत्र प्रज्वलित समाज !
सामाजिक अभियन्ताका बुलन्द आवाज !
छोराछोरीलाई समान शिक्षा दिन तयार अभिभावक !
सबै क्षेत्रमा गम्भीर अध्ययन अनुसन्धानको दाबेदार सरकार ।
यी त सब नाराबाजी मात्र लाग्छ मलाइ, महोदय !
प्रकृति प्रदत्त लैंगिकता नाराले बदल्न काँहा सक्छ र ?
बोल्ने कुरा सबै अभिनय मात्र हुन्
यथार्थता धेरै पर र टाढा छ दुर दराजमा ।
जीवन चक्र गज्जब छ,महोदय
चरा चुरुंगी किट पतंग जन्तु जनावरको पनि
झन् मान्छेको त कुरै छोडौ ?
गर्जन शान मान र अभिमान कति फरक फरक !
पशुकै हेरौ न महोदय ,
चाहे त्यो जुवामा नारेको गोरु वा राँगो किन नहोस
होक्काँ र गर्जन को दम्भ देखाउछ
बिचरा गाइ ! दुध त दिन्छ तर डर र त्रास कति कति !
एउटा बाटोको लुते कुकुरलाई लिउ न
सारा बाटोका छाउरी लाई अधिकार जमाउन खोज्छ,एक लौटी !
यी त केवल उदाहरणका निमित्त: पात्र मात्र हुन्, महोदय ।
घरको संघार वाट पाइला मात्र के अगाडी बढछ,
एउटी छोरीको घरमा खैला बैला शुरु हुन्छ ।
जीवन जिउने कस्ले ? सुख: दुख भोग्ने कस्ले ? त्यसको पर्वाह छैन ।
अनायास बरको टुंगो लाग्छ , अभिभाबक वाट
बिचरा मासुम छोरी, स्वजन अनि मान्यजन संग नतमस्तक हुन्छे ।
माफ रहोस महोदय,
अन्त त: कुनै नारी अछुतो छैन, यो सामाजिक परिदृश्य वाट
केवल हेराइ भोगाई र सोचाईको मात्रा मात्र फरक अनि भिन्न होला !
मानौ रंग मंचमा एउटा नाटकको पटाक्षेप उही,उस्तै !! फेरी उस्तै !!!
प्रतिक्रिया