प्रवासी प्रवाहमा अभि सुबेदी

इनेप्लिज २०७७ असोज १२ गते २१:३४ मा प्रकाशित

वरिष्ठ साहित्यकार,समालोचक एवं प्राध्यापक डाक्टर अभि सुबेदीले नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्दा विशेष ख्याल गर्नुपर्ने विचार व्यक्त गर्नु भएको छ। नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न अंग्रेजी र अन्य भाषामा अनुवाद गर्नुपर्ने आवश्यकतामाथि जोड दिंदै सुबेदीले तर अनुवादका लागि मात्र अनुवाद गर्न नहुने सुझाव समेत दिनु भएको छ। ‘अनुवाद गर्दा भाषागत ज्ञान र शील्पको समेत आवश्यक छ’ नेपाली र अंग्रेजी दुवै भाषा र साहित्यमा विशेष दख्खल राख्ने प्राज्ञिक व्यक्तित्व सुबेदीले भन्नुभयो।

एनआरएन आइसीसीको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिको साप्ताहिक अनलाईन कार्यक्रम प्रवासी प्रवाहको आइतवारको शृंखलामा बोल्दै बहुआयामिक व्यक्तित्व सुबेदीले नेपाली साहित्यको धरातल फराकिलो हुँदै गएको समेत बताउनु भयो।

शंकर लामिछानेपछि नेपाली साहित्यमा हाइकुलाई परिचित गराउन विशेष योगदान गर्नु भएका सुबेदीले हाइकुको आजको अवस्थाका बारे टिप्पणी गर्दै भन्नुभयो,-‘हाइकुको मर्म बुझ्नु जरुरी छ,तर अहिले यसको शब्द चयन र मर्मको नै दुरुपयोग भएको छ,कतिपयले जे पनि हाइकु हुन्छ जस्तो ठान्नु भएको देखिन्छ,त्यो गलत हो। ‘ जापानी हाइकुलाई अंग्रेजीमा अनुवाद र आफैंले हाइकु लेखेर नेपाली साहित्यमा योगदान पुर्याउनु भएका प्राध्यापक सुबेदीले कुराकानीका क्रममा साठ्ठीको दशकतिर नेपाल आएका हिप्पीहरुबाट आफु प्रभावित भएको विषय र आफ्नो लेखनीका बारे समेत चर्चा गर्नु भएको थियो।

हिप्पी नदेखिने हिप्पी कार्यक्रममा प्रस्तोता गौतम दाहालले हिप्पीहरुको प्रभाव तपाईंका नाट्य लेखनमा पनि पाउन सकिन्छ कि भनेर सोधेको जिज्ञासामा नाट्य विधामा समेत सशक्त प्राध्यापक सुबेदीले यसको प्रभाव बारे आजसम्म आफुलाई कसैले प्रश्न नगरेको भन्दै हिप्पीहरुको संगतको प्रभाव आफ्नो ‘आरुका फूलका सपनाहरु’ र अन्य केही नाटकमा रहेको छ भन्नुभयो। ‘हिप्पीहरुलाई नदेखिकनै म भैंसी चराउदै अंग्रेजी पढ्दै गर्दा तेह्रथुममा नै हिप्पी भैसकेको रहेछु,स्थानीय विषयलाई नै वैश्विक चेतनासंग जोड्नु नै मेरो विशेषता रहेछ,चरित्र विरोधाभाष र अराजक नै रहेछ,जसलाई पछि राजधानी आएर हिप्पीलाई भेटेपछि थाहा पाएँ’ सुबेदीले भन्नुभयो।

बिम्वहरुको प्रयोग अधिक गर्न रुचाउने सुबेदीले आफु नाटक,कविता र निबन्धमा बढी रमाउने जानकारी समेत दिनुभयो। डायस्पोराका सर्जकहरुको योगदान उल्लेख्य रहेको भन्दै प्राध्यापक सुबेदीले अर्ध साहित्यिक,अर्ध राजनीतिक लेखनी धेरै रहेको आफुले पाएको बताउनु भयो।

प्राध्यापक डाक्टर अभि सुबेदीसंग प्रवासी प्रवाहको आइतवारको शृंखलाको सुरुवातमा एनआरएन आइसीसीको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापा,एनआरएन आइसीसीका पूर्व अध्यक्ष एवं समितिका सल्लाहकार जीवा लामिछाने र प्राध्यापक सुबेदीका विद्यार्थी समेत रहेका अमेरिकाको मेरिल्याण्ड राज्य विधान सभामा निर्वाचित डेलिगेट ह्यारी भण्डारी (भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा सक्रिय रहेर राज्य संसदमा निर्वाचित पहिलो नेपाली-अमेरिकी युवा हुन्।) ले समेत कार्यक्रममा प्राध्यापक सुबेदीलाई स्वागत गर्दै संक्षिप्त मन्तव्य व्यक्त गर्नु भएको थियो।

सोही क्रममा एनआरएनका संस्थापक समेत रहेका लामिछानेले प्राध्यापक सुबेदीलाई युरोप भ्रमणका लागि अनुरोध समेत गर्नु भएको थियो।

नेपाली साहित्यमा अराजक र राजनीतिमा समाजवादी भनेर वीपी कोइरालाले आफुलाई चिनाउने गरेको प्रसंग उल्लेख गर्दै प्राध्यापक सुबेदीले वीपी धेरै साहित्य र संस्मरण लेख्ने व्यक्ति भएको र स्वतन्त्रता,मुक्ति र मानव अधिकारका लागि उहाँले उठान गरेको विषय महत्वको भएको र आफु वीपीको तिनै अडानबाट प्रभावित भएको भन्दै उहाँले ‘सान्दाजुको महाभारत’ नाटक पनि यिनै विषयमा केन्द्रीत रहेको उल्लेख गर्नु भयो ।

वीपीले अदालतमा दिएको बयानको प्रसंग उल्लेख गर्दै सुबेदीले वीपीका बारे आफुले ‘आख्यानकार वीपी कोइराला’ कृतिमा धेरै विषय उल्लेख गरेको बताउनु भयो। कार्यक्रम संचालिका भगवती बस्नेत र गौतम दाहालले संयुक्त रुपमा संचालन गरेका थिए।

प्रतिक्रिया