रामप्रसाद खनाल सँग जन्मदिनका दिन चट प्रश्न झट उत्तर

इनेप्लिज २०७७ असोज ७ गते ०:०८ मा प्रकाशित

आज जन्मदिन भन्छ नि तपाईँको फेसबुकले, हो ?
पहिला पहिला आमा बा ले भन्नुहुन्थ्यो,अहिले फेसबुकले भन्छ।आमा र फेसबुकका अनुसार हो रे ।

कहाँ जन्मिनु भएको तपाईँ ?
गुल्मी धरम पानी मैन डाँडाको घरकै गाई गोठमा,पराल माथि भन्नुहुन्छ आमा ।

कति वर्ष हुनु भो नि ?
खुइलिएकै तालु हेरेर अनुमान लाउनुस् न हो।के उमेर सोध्या भन्या।अम्रिकाँ उमेर बताउन हुन्न भन्छन्।

अहिले सम्म कहिल्यै जन्मदिन उत्सवको रूपमा मनाउनु भाछ ?
म जन्मदिन मनाउन लायक छैन र आज सम्म जन्मदिन उत्सवको रूपमा कहिल्यै मनाएको पनि छैन ।

किन नि त्यस्तो ?
बा,आमाले जन्माइदिनु भयो, हुर्काइदिनु भयो,पढाई दिनु भयो, बढाइ दिनु भयो,संस्कार सिकाउनु भयो।गुरुहरूले शिक्षा दीक्षा दिनुभयो।म सँग जे छ त्यो मेरो आफ्नो केही होइन,वहाँहरूले दिएको, सिकाएको नासो मात्र हो,म त वहाँहरूलाई पछ्याउने पछुवा मात्र हुँ।मैले के फुर्ती गर्नु । त्यसर्थ म जन्मदिन मनाउन लायक छैन र आज सम्म जन्मदिन उत्सवको रूपमा कहिल्यै मनाएको पनि छैन ।

तर अहिले त जन्मदिन फेशन जस्तै भएको छ नि,तपाईँले पनि त मनाउनु पर्ने होइन र ?
जन्मदिनको उत्सव आफूले होइन अरूले योगदान हेरेर मनाइदिने चिज हो जस्तो लाग्छ मलाई।फेरी मैले के नै नापेको छु र जन्मोत्सव मनाउन।

आज तपाईँको जन्मदिन । के गर्ने त उसो भए ?
बा आमालाई नमन गर्ने।भगवानसँग मलाई असल मान्छे बनाइदिनुस् भनेर प्रार्थना गर्ने ।

त्यति मात्रै ?
बुढीले पकाएको दाल भात तरकारी स्याम्म बजाउने सधैँ झैँ ।अरू के गर्नु नि !

घरमा जन्मदिन मनाउने चलन छैन र ?
न हजुर बा ले मनाए,न बा ले।मैले के मनाउनु । अहँ त्यस्तो चलन छैन हाम्रो घरमा ।

छोरा छोरीको, भाउजू को नि ?
फेसबुकलाई ठेक्का पर्या छ।अघिल्लो दिन देखि भोलि पल्ट सम्म फेसबुकले नै मनाइदिने गर्या छ सबैको ।

हा हा । छोरा छोरीले मान्छन् जन्मदिन नमनाएर ?
यस्तो जोइटिङ्ग्रे बाउ परे पछि छोराछोरीले नमानेर के गरुन् ।

साँच्चै हो भन्या ?
किन खेल खेल जस्तो लाग्यो र । हो भन्या । छोरा छोरी त म भन्दा कडा । जन्मदिन भन्यो भने अनि के भयो त भन्दै हाँस्न थाल्छन् । हामी कहाँ जन्मदिन उत्सव मनाउने चलन छैन । जुन दिन मनाउन लायक भइएला बिचार गरौँला ।

पत्रकार, कलाकार, गायक जस्तो मान्छे । त्यसै लायक हुनुहुन्छ नि ?
धन्यवाद तपाईँको मूल्याङ्कनको लागि तर म आफूलाई आज सम्म कहिल्यै जन्मदिन उत्सवको रूपमा मनाउन लायक ठानेको छैन ।

भावी योजना के छन् नि ?
गीत गाउने, कविता लेख्ने, सत्रौँ पुस्तक प्रकाशनको तयारीमा छु । कोरोनाले मेरा केही योजना माथि धावा बोल्यो, अब म कोरोना माथि धावा बोल्ने तयारीमा छु ।

आज सम्म कति पुस्तक लेख्नु भयो ?
१६ वटा।गीत,कविता, गजल देखी नियात्रा सम्म ।

सत्रौँ पुस्तक के हुन्छ ?
कविता सङ्ग्रह हुन्छ।

अरू केही ?
अठारौँ पुस्तक अङ्ग्रेजी कविता सङ्ग्रह हुने छ । तयारीमा छु ।

गीत कविता कति जति लेख्नु भयो आज सम्म ?
गीत करिब १३ सय जति र कविता,गजल १५ सय नाघे कि।

गीति एल्बम नि ?
४८ वटा प्रकाशित भई बजारमा छन्।

एउटै मान्छे गीतकार,गायक,सङ्गीतकार, साहित्यकार, पत्रकार । कस्तो लाग्छ आफैलाई ?
सबैभन्दा पछाडि पङ्तिको मान्छे । साधारण मान्छे । छलछाम नजानेको मान्छे । इमानदार मान्छे थान्छु म आफुलाई ।

अमेरिकामा बिजनेसहरूमा पनि त्यत्तिकै व्यस्त र सफल हुनुहुन्छ भन्छन् नि मान्छेहरू ?
त्यो तपाईँहरू सबै सबैको आशीर्वाद,माया, शुभेक्ष्या हो । मैले आफूलाई सफल बनाउन अझ धेरै गर्न बाँकी छ ।

तपाईँलाई सबैभन्दा मन पर्ने कुराहरू ?
गीत सङ्गीत,पत्रकारिता,साहित्य, कलाकारिता,धर्म कर्म, संस्कृति र समाजसेवा ।

सबै भन्दा मन नपर्ने कुरा नि ?
नेपाली फोहोरी राजनीति, नेता र नेताका झोलेहरू देख्दा कन्सिरी तातेर आउँछ।अझ त्यस माथि विदेशमा बसेर नेपालको राजनीति गर्छु भन्नेहरूलाई देख्दा त झन् वाकवाकी आउँछ भन्या ।

नेपालको वर्तमान अवस्था हेर्दा कस्तो लाग्छ ?
छाती पिटी पिटी चिच्याउन मन लाग्छ तर के गर्नु म चिच्याएर मात्र केही नहुने रहेछ । त्यति सानो, त्यति राम्रो स्वर्गको टुक्रा जस्तो देश नेपाल अहिले हरि कङ्गाल मात्र होइन नर्क जस्तो बनाउन थाले हर क्षेत्रमा दलका नेता र तिनका भतुवाहरूले । शतिले श्राप गरेकै हो हाम्रो देश ।

अहिलेको वर्तमान राजनीति नि ?
ओली, प्रचण्डले देखाउन के नै बाँकी छ र ? त्यस माथि देउवा हेर्नुस् । रा.प्र.पा, मधेशबादी सबै सबै दल एकीकरण गरेर एउटै पार्टी बनाए हुन्छ । नाम मात्र फरक छ । सबै एउटै ड्याङका मुला जस्ता लाग्छ मलाई त । किसी से कोइ कम् नही हे भन्छन् नि हिन्दीमा । मलाई त्यस्तै लाग्छ ।

शतिले श्राप गरेकै हो हाम्रो देश भन्नुभयो, होला र भन्या ?
नभा किन यस्तो ? राम्रो गर्ने सब पाखा, दले, दाश, भतुवाहरु सब काखा।भ्रष्ट,अनैतिक,अधर्मी, राक्षसी प्रवृत्तिका मान्छेहरूको राज छ।अनि शतिले श्राप गरेकै हो हाम्रो देश किन नभन्ने त ??

अन्त्यमा अरू केही भन्नु छ कि ?
सत्य तितो हुन्छ । माथि भनेका कुरा पनि तिता छन् नपचे हाजमोला खाएर भए पनि पचाइदिनुहोला । तपाईँलाई धन्यवाद, तपाईँको मिडियालाई धन्यवाद यी तिता कुरा ओकल्ने मौका दिनुभएकोमा ।

– प्रस्तुती: विश्वराज थापा / Enepalese.com

प्रतिक्रिया