चितवनको साहित्यिक पत्रकारिता सम्बन्धी गोष्ठी

इनेप्लिज २०७७ भदौ ३१ गते १:०९ मा प्रकाशित

सञ्जय मित्र,रौतहट,

प्रेस काउन्सिल नेपालले चितवनको साहित्यिक पत्रकारिता सम्बन्धी एक दिवसीय भर्चुअल गोष्ठी सम्पन्न गरेको छ।काउन्सिलका विषयगत उपसमितिका संयोजक साहित्यकार चेतनाथ धमलाको सभापतित्वमा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै साहित्यकार डि आर पोखरेलले नेपालको साहित्यिक पत्रकारिताको इतिहास खोतल्दै चितवनको साहित्यिक पत्रकारिताको इतिहास र वर्तमान अवस्थालाई यथार्थ परक किसिमले चित्रण गरेका छन्।कार्यपत्र माथि साहित्यकार केदारप्रसाद तिमल्सिना र प्रा.डा.रमेशप्रसाद भट्टराईले टिप्पणी गर्दै कार्यपत्रको प्रशंसा गरेका छन्।

कार्यक्रममा विशिष्ट साहित्यकार तथा साहित्यिक पत्रकार राधेश्याम खतिवडा, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा,नवराज पुडासैनी, तुलसीहरि कोइराला, गोर्खे साइँलो,सञ्जय साह मित्र,मधुसुदन दवाडी,तिलक रावललगायतले मन्तव्य राख्दै साहित्यिक पत्रकारिताका पीडा र समस्याका साथै प्रेस काउन्सिलले गर्नुपर्ने सहयोगको बारेमा मन्तव्य राखेका थिए।

काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले साहित्यिक पत्रकारितालाई काउन्सिलले महत्व दिएको बताउँदै आगामी दिनमा थप गर्न सकिने सहयोगको विषयमा पनि काउन्सिल लचिलो रहेको बताएका थिए।विभिन्न जिल्लाबाट सहभागी भएर कार्यक्रमलाई सफल बनाइदिएकोमा भुसालले सहभागीहरुलाई धन्यवाद पनि दिएका थिए।

कार्यक्रममा उपस्थित सबैलाई ईश्वरी ओझाले स्वागत गरिसकेपछि विषयमा प्रवेश गर्दै साहित्यकार धमलाले साहित्यिक पत्रकारिताका क्षेत्रमा काउन्सिलले गरेको कामको बारेमा प्रकाश पारेका थिए।चितवनको साहित्यिक पत्रकारिताको विषयमा काउन्सिलका साथै देशले थाहा पाउने अवसर पाएको बताउँदै कार्यक्रम सभापति धमलाले आगामी दिनमा पनि साहित्यिक पत्रकारिताको विषयमा साहित्यकार तथा पत्रकारहरुसित छलफल गरिने बताएका छन्।

प्रतिक्रिया