एनफ इज एनफ अभियान नेपालमा कोभिड १९ व्यवस्थापनका लागि

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७७ भदौ २९ गते १०:४६ मा प्रकाशित

आजभोली निकै चर्चामा र लोकप्रिय भएको वाक्य हो “enough is enough “। आफुले भनेको जस्तो भएन कि धेरैको मुखबाट यही वाक्य उखान टुक्का जसरी निस्कन्छ।नेपाली समुदायमा पनि खुबै प्रचलनमा छ यो वाक्य तर कहिले काही यो वाक्य यस्ता व्यक्तिका मुख बाट निस्कन्छ,जसले सामाजिक शान्ति भंग गर्न सांच्चै more than enough गर्ने दुस्साहस गरेका हुन्छन र कहिले काही त्यस्ता व्यक्तिले यो वाक्यलाई आफ्ना गलत कृयाकलाप लाई कार्यान्वित गर्न दबाव दिन प्रयोग गर्छन,जसलाई यसको मर्म र भाव बुझ्ने हैसियत नै राखेको हुदैन।

कसरी शुरु भयो यो अभियान ?

एनफ इज एनफ हिंसा विरुद्धको अभियान हो जसको शुरुवात १९९४ मा अस्ट्रेलियामा भएको थियो। पिंज्जा रेस्टोरेन्टमा काम गर्ने अठार वर्षीय विश्वविद्यालयका छात्र माइकल मार्सल्यु लाई जन्नाली पिज्जा हट(jannali Pizza Hut) लुट्न आएको बन्दुकधारीहरुले गोली हानी हत्या गरेपछि उनका पिता केन मार्सल्युले एनफ इज एनफ अभियान चलाएर हिंसा विरुद्ध लड्ने प्रण गरे।आफ्नो छोराको हत्या पछि न्यायको लागि आफुले भोग्नु परेको समस्या र निसार पाउन आफुले गर्नु परेको संघर्षका कारण यो अभियानको शुरुवात भयो र यसको साथ साथै अपराध, हिंसा,सामाजिक दुर्व्यवहार र पछिल्लो समय सड़क दुर्घटना जस्ता मुद्दाहरुमा सकृयरुपमा यो अभियान अगाडी बढेको छ।

समयको अन्तराल संगै , एनफ इज एनफ अभियन्ताहरुले अत्यन्तै सुसज्जित पूर्ण समय प्रशासन,कार्यक्रम विकास, प्रस्तुति, मनोवैज्ञानिक परामर्श मिश्रण गरी एक संगठनको रूपमा विकसित गरे।यस अभियानका प्रमुख दीर्घकालिक तीन प्राथमिकताहरु व्यक्तिगत जिम्मेवारीलाई प्रोत्साहित गर्ने र प्रत्येक व्यक्तिलाई सुनिश्चित गर्ने र सामाजिक दृष्टिकोण परिवर्तन गर्न विभिन्न रणनीतिहरू विकास गरी सामाजिक संरचनाको परम्परागत दृष्टिकोण परिवर्तन गर्नु हुन।

नेपालमा एनफ इज एनफ

नेपालमा हरेक पटक जब सरकार बन्छ,त्यो सरकार ढाल्न षड्यन्त्र शुरु हुने गर्छ र विपक्षी वा प्रतिपक्षले सरकार ढाल्न शुरु गरेका आफ्ना षड्यन्त्र सफल बनाउन विभिन्न अभियान चलाउछन र अभियान चलाउन र सत्तारुढ सरकारलाई गलाएर निकम्मा सावित गर्नु प्राय सबै अभियानका लक्ष्य हुन्छन।अभियन्ताहरु आफ्ना स्वार्थ पुरा नभएसम्म यस्ता अभियानमा डटेर लाग्छन तर जब आफुले चाहेको सरकारी पद,सम्मान र आर्थिक सहयोग प्राप्त गर्छन अनि अभियानको उद्देश्य बदलिए व्यक्तिगत जीवनस्तर उकास्नमै तल्लीन हुन्छन।

कोभिड १९ को महामारीले संसार आक्रान्त भएपछि नेपालमा युवाहरुले कोभिड १९ विरुद्ध सरकारलाई सचेत पार्न,स्वास्थसेवा, सुविधा र जांच वृद्धि गर्न, सरकारका गलत निर्णय विरुद्ध लड्न र सत्यको लागि आवाज उठाउन सचेत युवाहरुले शुरु गरेको अभियान हो एनफ इज एनफ।यस अभियानमा सरकारलाई सबल र प्रभावकारी ढंगले कोभिड १९ व्यवस्थापनका लागि काम गर्न आआफ्नो ठाउँबाट दबाब दिने उद्देश्यले शुरु भयो।

यस अभियानका अभियन्ता ई एक पच्चीस वर्षीय लक्का जवान हुन।काठमाण्डौको हुने खाने परिवारमा जन्मिएर स्तरीय शिक्षा हासिल गरेका उनले जब पटक पटक नेपालका सुगम र विकट जिल्लाहरुको पैदल यात्रा गरे, जीवनलाई र आफ्नै मातृभूमिलाई फरक ढंगले बुझ्ने र सिक्ने मौका पाए ।यात्रालाई नै शौख सम्झिने ई जब लकडाउनका कारण घरभित्र बस्न बाध्य भए तब उनको मनमा जीवन रहे त घुम्ने हो डुल्ने हो, कोभिड १९ कै कारण मरियो भने कसले संसार देख्ला र भन्ने भावनाको विकास भयो र यस महामारीलाई सरकार पक्षले सम्वेदन भएर सोचोस र नागरिकहरुको जिउ धनको सुरक्षा गरोस भन्ने दबाव दिन आफु जस्तै समान सोच राख्ने जागरुक युवाहरुलाई फेसबुक ग्रुप बनाई उनले यो अभियान शुरु गरे।उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भए पछि देशव्यापी रुपमा विरोध भयो।युवाहरुले यसको समर्थन गरे तर राजनैतिक पार्टी र दोस्रो पुस्ताका राजनैतिक नेतृत्वले छिटफुट समर्थन त गरे तर जति राजनैतिक मुद्दा र सरकार विरोधी क्रियाकलापमा धक फुकाएर नेतृत्व अभियन्ताओं नागरिक समाजको हुने गर्छ त्यसमा एनफ इज एनफ अभियानलाई भएको महशुस हुदैन।अभियन्ता ई ले सरकारको आंखा खोल्न सत्य बुझ्न आग्रह गर्दै आफ्ना अभियानका युवाहरुको सल्लाहमा सत्याग्रह शुरु गरे तर पहिलो सत्याग्रहमा सरकारी पक्षबाट पाएको आश्वासन पुरा नभएपछि पुन दोस्रो सत्याग्रह शुरु गर्नु पर्यो।

गत चैत महिनामा शुरु भएको लकडाउनले नेपाली जन जीवनमा धेरै नराम्रा असर गरिसकेका छन तर सरकारपक्ष बाट लकडाउन गर्नु बाहेक अरु कुनै विकल्प सोचेको महशुस हुदैन।केही दिनमै नेपालीहरुको महान चाड दशै तिहार शुरु हुदैछ तर यसमा पनि सरकारीपक्ष बाट चाडवाड सम्बन्धी कुनै व्यवस्थापन नीति सार्वजनिक भएको छैन।यही फितलो सरकारी निर्णयकै कारण रातो मच्छिन्द्रनाथको जात्रामा ठुलो अनिष्ट भयो।यसै गरी सरकार कानमा तेल हालेर बस्ने सामान्य जनजीवनका न्युनतम आवश्यकता र धार्मिक अनि सांस्कृतिक मुल्य मान्यतामा कुनै ठोस कदम नचाल्ने हो भने नेपालीहरुको महान चाड दशै तिहारले अर्को संकट मोचन गर्ने निश्चित छ।यस विषयमा प्रतिपक्ष र नागरिक समाजले आफ्नो सकृय भुमिका निभाउनु जरुरी हुन्छ।दिन प्रति दिन संक्रमितको संख्या बढिरहेको छ,श्रमजीवीवर्ग आर्थिक चपेटामा परिरहेको छ, त्यसैले सत्तारुढ सरकार, प्रतिपक्ष र नागरिक समाज सचेत भएन भने सत्तारुढ पार्टीले मात्रै समस्याको समाधान गर्न गार्हो छ। Enough is enogh, now open your mouth!

बाबा राजेश्वरी थापा
भियना,अस्ट्रिया

प्रतिक्रिया