महाविद्यालयको यात्रा प्रवेश– काँशी – भारत – १

प्रा.डा. मेदनीप्रसाद भण्डारी २०७७ साउन ३२ गते १४:१५ मा प्रकाशित

– प्रा.डा. मेदनीप्रसाद भण्डारी,
,
विद्या आर्जन गर्ने अथवा धन आर्जन गर्न देश परदेशको यात्रा गर्नु भनेको आधुनिकताको प्रतिक हो,भन्ने सिद्धान्त हाम्रो सामाजिक परिवेशमा युगौ यूगदेखि चलिआएको छ।पौराणिक यूगमा पनि यूग चरित्रहरूले गुरु शरणमा गएर विद्याआर्जन गरेको उदाहरणहरू मनोरम कथाका रूपमा विद्यमान छन्। अझ अगाडि हेर्ने भने वेद परम्परा उपनिषेदहरू समूहगत रूपमा अध्ययन र प्रयोग गरिएका प्रमाणहरू छ्यापछ्याप्ती छन्।गुरुकुल परम्परा पूर्वीय ज्ञान आर्जनको मुख्य आधार हो र त्यसका परम्परालाई आधुनिक दर्शनका पाश्चात्य विद्वानहरूले पनि आत्मसात गरेका उदाहरणहरू यथेष्ट छन्।सुकराज,अरस्तु, प्लोटो आदिका दर्शनहरू र उनीहरूका अनुयायीहरूमा ज्ञान वितरणको परम्परा पूर्वीय दर्शनका परम्परा भन्दा तात्विक रूपमा भिन्न थिएनन।

म पाश्चात्य समाजमा पूर्वीय दर्शनको प्रभाव थियो भन्ने कुरा प्रमाण बिना ठोकुवाका साथ भन्न सक्तिन तर संसारमा विद्वानहरूका सिर्जनाहरू जहाँका भएपनि समय अनुसार नै हुन्छन् र समान हुन्छन् भन्ने कुराचाहिँ सप्रमाण भन्न सक्छु।यसको वास्तविक प्रमाण भनेको सत्य अपरिवर्तनीय छ,अर्थात् सत्यलाई परिवर्तन गर्न नसकिने भएकाले नै सत्य भनिएको हो।प्रकृतिका वर्णनमा लेखिएका कविता,नाटक कथा तथा निबन्धहरू चाहे वाल्मिकीले लेखून्,चाहे तुलसीदासले लेखून्,कालिदासले लेखून,भानुभक्तले लेखून्,लक्ष्मीप्रसाद देवकोटाले लेखून्, सेलीले लेखून, विलियमवड्वर्थले लेखून,टेगोरेले लेखून,टोल्स्टोय,पूस्कीन, माहादेवी अथवा जोसुकै जतिखेर लेखून् ती सबैमा कतै न कतै समानता हुन्छ। समाजमा अमनचयन कायम गर्न स्थापित राजनैतिक सिद्धान्तहरूमा पनि समानता हुन्छ।चाहे जेसुकै वादबाट सञ्चालन होस्,राज्यको प्रमुख दायित्व भनेको समानताका आधारमा राज्यमा अमनचयन कायम गराउने हो।

अर्थात् समष्टिगत रूपमा मूलत्व सत्यमा सबैको सहमति नै हुन्छ।किनकी कुनै पनि वाद,धर्म,जाति,रंग भन्दा पहिले मानिस मानिस हो।आफूलाई अदित हुने कुरो मानिसबाट हुँदैन।यदि त्यसो हुन्थ्यो भने यो आणविक हतियारले सुसज्जित ब्रह्माणको अस्तित्व पहिले नै समाप्त भई सक्थ्यो।यो परिवेश पौराणिक कालदेखि आजसम्म र भोली पनि यसरी नै कायम रहन्छ।अर्थात् यदि कोही मानिसक रूपमा विचलित र विवेकहीनको हातमा विध्वङ्सदायक शक्ति हात लागेन भने हामी पनि सुरक्षित छौं र हाम्रा भावी सन्तती पनि सुरक्षित छन्।तर हामीले विश्वस्तरमा गरेको प्रकृति माथिको दोहनले चाहिँ हाम्रो भविष्य माथि प्रश्न चिन्ह खडा गरेको छ।जे होस् हामीले सतर्कता पूर्वक वातावरणीय विनासलाई कम गर्छौ भन्ने कुरामा विश्वस्त हुन सकेपनि आशावादी हुने संकेतहरू चाहिँ यथेष्ट छन्।

अब मूल विषय काँशीयात्रा तर्फ लागौं।नेपाल र भारतको सम्बन्ध साँस्कृतिक, धार्मिक,आध्यात्मिक र शैक्षिक हिसाबमा एक प्रकार भेद गर्न नमिल्ने गरी जोडिएको छ ।राजनीति हिसाबलाई अथवा भारतको हेपाहा र मिचाहा प्रवृत्ति नहुने हो भने संसारमा यस्तो पारस्परिक सम्बन्ध भएको राष्ट्र संसारमानै विरलै पाइन्छ।

नेपालका मानिसहरू भारतमा विद्याआर्जन गर्न जाने परम्पराको इतिहास धेरै लामो छ।आज विद्याआर्जनका लागि संसार भरी बाटाहरू खुलिसकेको अवस्थामा पनि र नेपालमा नै पनि अत्याधुनिक देखि परम्परागत शिक्षालाई कायम गराउने कयौं संस्थाहरू भए पनि धनाढ्य र नव धनाढ्यहरूका नानीहरूको रोजाई भारतका नै शिक्षक संस्था छन् । र करोडौ रूपयाँ भारतमा गइरहेको छ । मेरो उद्देश्य यहाँ यस प्रकारको भारतका शिक्षण संस्था प्रतिको मोहको पटापेक्ष गर्नु नभएको हुँदा आफ्नो कथा र आफ्नै व्यथा प्रति केन्द्रित हुन्छु।

त्यतिबेला एउटा उखान साह्रै प्रचलित थियो ।“विद्या नपाए काशी जानु,न्याय नपाए गोर्खा जानु”।यो उखानको सान्दर्भिकता आज छैन तर नेपालमा एकताका भएको न्याय प्रियताको भलकका साथै काँशीमा विद्वानहरूको प्रचूरतालाई भने सम्झाउँछ।

मेरो काँशी यात्रा चाहिँ विद्या खोज्न भन्दा पनि विद्या प्राप्त गर्ने प्रक्रियाको खोजीमा केन्द्रित थियो।यसबाहेक प्रक्रियागत रूपमा प्राप्त गरेका ज्ञानलाई उपयोग गरेर उच्च शिक्षाका लागि तयारी गर्नु थियो।खासगरिकन पारिवारिक दायित्व,गरिबीका साथ साथै मेरो वोधो र कमजोर दिमागका कारण म प्राथमिक तहदेखि माध्यमिक तहसम्मको पढाईमा सधै साह्रै कमजोर विद्यार्थी थिए।मरितरी गुरुज्यूहरूको अशिम कृपाले एउटै कक्षा दोहो¥याउनु नपरेको मात्र हो।नत्र मेरो हैसियत तोकेको मापदण्ड पूरा गरी माथिल्लो कक्षामा अध्ययन गर्न सक्ने थियो जस्तो लाग्दैन।मलाई मेरा गुरुजन,परिवारजन,सहपाठी र तल्लो कक्षा र माथिल्लो कक्षाका मित्रहरू र अन्य बन्धु बान्धवले जबरजस्ति तर प्रेमवश पढाईमा डो¥याएको हो।विद्याआर्जनमा धिसारेर तानेर,ठेलेर अडिक गराएको हो।कक्षा एकदेखि विद्यावारिधिसम्मको यात्रामा मेरा गुरुहरू र मेरा स्ववन्धुहरू र मित्रहरूले वलवूताले भ्याएसम्मको शक्ति लगाएर डो¥याएको हो।मास्टर तह प्रवेस देखि विद्यावारिधिसम्म चाहिँ मलाई मेरी सहधर्मिणीले जबर्जस्ती गराएको हो।नत्र मलाई व्याचलर सकेपछि बैंकको जारी पनि स्थायी भइसकेको अवस्थामा “अरूको जो रित मेरो पनि त्यही रित” भनेर चित्त बुझाउने मनसायमा थिए।तर मेहनत गरेपछि सफलता आउँछ आउँछ भनेर रातोदिन करकर गरेपछि लौ त भनेर मात्रै उच्चशिक्षामा लागेको थियो।

रमाइलो मात्रैको लागि उल्लेख गरेको,अब भर्खर बिहे गरेकी श्रीमतीले आफ्नो प्रशंसा गर्दा कस्तो मनको गमक्क पदैन र ? यात्रा कठिन छ भनि पन्छिन कयैन प्रयत्न गरे,सरुवा मिल्दैन,बैंकको यति राम्रो जागिर छँदैछ भनेर सारा आकाश पातल एक बनाएर जोगिन कोसिस गरे तर मेरो केही जोड चलेन र बाध्यतावश उच्चशिक्षा होमिए।यस हिसाबमा मेरो प्राथमिकताको शिक्षादेखि विद्यावारिधि सम्मको पूरै यात्रा स्वजनकै प्रोत्साहनले पूरा भएको हो।यसमा मेरो स्वमन भन्दा पनि हौसला,उत्साहको बढी योगदान छ हो विद्याआर्जनको यात्रा आफैले तय गर्नुपर्छ तर मेरो चाहिँ पोखरीमा थकेलिएर लौ पौडिन सिक भन्ने खालका गुरुङहरूको पालामा परेर शिक्षाआर्जन भएको हो।उच्चशिक्षामा चाहिँ मेरी अर्धाङ्नी नै गुरु भएर डो¥याएको म स्वीकार गर्छु।

वास्तवमा काँशीमा अध्ययनको अन्तिम चरणबाट जतिखेर हाम्रो विहाह नै भएको थिएन।यसो देख्दा मन झसंङ्ग हुने कता कता कुरिकुरि लाग्ने,त्यसै भावनात्मक हुने,मनै रसिलो हुने खालको नववैशको आकर्षण हुँदादेखि प्रजिताले मलाई आर्थिक सहयोग गर्ने गर्थिन।थाहै भएन त्यो बैशालु नानीको मन जीन्दगी भरिनै विद्यार्थी नै बनाउने प्रयत्नमा लागेको थियो।जे होस् –समष्टिगत रूपमा मेरो उच्चशिक्षा प्रजिताको जिद्धीले,परिश्रमले र त्यागले सम्भव भएको हुँदा उनीसित म सधै ऋणी नै छु । सिर्जनाका उत्पादनहरू पनि तीनैका हौसलाले भई रहेका छन् । यो यात्रा वृतान्त पनि उनकै जोडले लेखिदैछ।खासगरी यो काँशी वृतान्तमा चाँही अर्का पात्र पनि संलग्न छन्।ती हुन क्षितिजराज प्रसाईं जो काशीयात्राका अनन्य सारथी थिए।प्रेरणा दिने अर्का दुई सारथीहरू चाहिँ आनन्द भण्डारी र गोविन्द लुईटेल पनि छन्।सबैलाई नमन र धन्यवाद।अब भने बाटो लाग्छु।
काँशी जान बिराटनगरबाट जोगबनी–अनि जोगवनीमा भारतीय रेल सेवाबाट पटना हुँदै काँशी पूगिन्थ्यो।मेरो काँशी जाने बाध्यता भने एस.एल.सि.जस्तै इन्टरमिडिएडमा पनि फेल भएपछि सिर्जना भएको हो।एसएलसी पास नहुँदै म सरकारी संस्थाको मुखिया पदको कर्मचारी थिए।दिउँसो अफिस जानुपर्ने भएकाले सामान्यतया मेरो कलेज पढ्ने सपना पुरा हुने खासै गुन्जायस थिएन।दैव संयोग विराजनगरमा रात्री कलेज त्यही बेला खुल्यो र पहिलो विद्यार्थीका रूपमा भर्ना भए।एक वर्ष पढे पछि वार्षिक परीक्षामा वाणिज्यशास्त्रमा अनुत्तीर्ण भए। “अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ” भन्ने उखान ममा लागु भयो ।म पूर्णत हतास,निरास र उदास भए।त्यसबेला मेरो सहपाठी राजन अधिकारी, कालीप्रसाद पोखरेल आदिहरू भने म जस्तै काम गर्दै पढ्ने विद्यार्थी भएपनि उत्तीर्ण भए।ममा पहिलो चोटि पूर्णतः नैरनाश्यता छायो।तीन तीन पटक एसएलसी फेल भएर बल्ल त्यो पनि आंशिकबाट पास भएर कलेज गएको त्यहाँ पनि आलु खाए पछि ममा एक तमासको डरलाग्दो उदासिनता छायो।म वास्तवमा साह्रै रोए,हरेकलाई भने म फेल भए असफल भएँ भनेर।प्रायशःसबैले पून परीक्षा उत्तीर्ण भइहाल्ने कुरामा विश्वस्त बनाउन धेरैले प्रयास गरे तर कताकता मलाई चाहिने बाटो अरू नै पो हुन् कि भन्ने अनुभव भयो।एक प्रकारले मलाई बैराग्य आयो र जोगी भएर कुनै आश्रममा शरण लिने भावना पनि आयो।कृषि सामग्री संस्थानमा काम गर्ने जहाँ फलिडल र मेटासिड नामक अत्यन्त कडा विषादीको बिक्री हुन्थ्यो र त्यो विषादी गोदामको गोदाम किपर पनि आफै हुँदा फलिडल नै दत्काएर जीवन लीलानै समाप्त पारुँ जस्तो पनि भयो।

यावत विचारहरू आए कैयन नकारात्मक,कयैन सकारात्मक।तर त्यतिखेर मावलका हजुरआमा–हजुरबुबा, मामा–माइजू अनि बालपनका सबै साथीहरूलाई सम्झें।घरकी हजुरआमा अगाडि हाड जस्तो देखिने पछिपछि मेरो छोराले जीबनमा हार मान्दैन भनेर मेरो बुवाले फूर्ति लगाएर अरूलाई सुनाएको सम्झें।आमा सधैं अक्करबाट जोगिएको छोरो –

यो छोरो बदला, कमाई गरला दुधभात देला मलाई
गर्ला पौरख शास्त्र सारा पदला तारी सबै कूललाई

भनेर सुनाउने गरेको सम्झेँ । अनि आफू मूनीको सातै जान प्यारा भाई बहिनी सबैलाई सम्झेँ।अनि उनीहरूको त म आदर्शको हुँ त भन्ने हेक्का पनि आयो। त्यो जीवनलीला समाप्त पार्ने ध्यान बिस्तारै हरायो।तर असफल भएको कथा हरेक ग्राहकलाई सुनाए,बसमा यात्रा गर्ने यात्रुलाई सुनाएँ।घरमा गई गाईभैसी,राँगा, गोरुलाई मात्र होइन,रुख वृक्षलाई पनि सुनाए।

यसै क्रममा रुने क्रम र सुनाउने क्रममा अफिसका हाकिम हेमन्त पराजुली वाहेक अरू सबैलाई सुनाएँ।एकदिन त म आफ्नो काममा व्यस्त भएको बेला सहायकले हाकिम साहेबले बोलाउनु भएको छ।तुरुन्तै जानुहोस् भनेर आदेशत्मक स्वरमा भने।ती सहायक मलाई उनको हाकिम भएपनि भाई जस्तै गरि हप्काउँथे ।त्यो हप्काई निश्वार्थ हुने हुँदा साह्रै मन पथ्र्याे ।म तुरुन्त हाकिमको कोठामा पुगें ।यहाँ क्षेत्रीय कार्यालयबाट पशुपति गौतम आउनु भएको रहेछ।वास्तवमा म कृषि सामग्री संस्थानमा मेरो दाजु पुष्प भण्डारी र उहाँकै प्रयासबाट जागिर भएको थिएँ।उहाँलाई मेरो इमान्दारिता साह्रै विश्वास थियो।सामान्य नाता भित्रपनि पर्ने वहाँका भाई र दुईवटी बहिनी (जसलाई मैले सानिमा भन्नु पर्छ) मेरा साथी भएको हुँदा म निडर भएर मनका कुरा गर्न सक्थे।

उहाँले म अफिस कोठामा पुग्ने बित्तिकै आफ्नो छेउमा बस भन्नुभयो।मैले केही भन्न नपाउँदै उहाँले तिमी त एक्लै बोल्छौं अरे,रुन्छ अरे ? बोलायौं कि क्या हो ? के समस्या छ भनेर भन्नु भयो।मैले होइन भनेर जोगिन खोजे।ती अघिका सहायकलाई बोलाउनु भयो र साक्षीका रूपमा बकाउनु भयो।कुरो सत्य थियो। मैले मेरो पढ्ने इच्छा पूर्ण नहुने भयो।बल्ल एस.एल.सी पास भएर कलेज गएको पहिलो वर्षमा नै अनुत्तीर्ण भए – सुनाएँ।उहाँले तुरुन्तै भन्नुभयो,त्यसको चिन्ता नगर म पास हुने उपाय खोज्दछु –पुष्प सित पनि कुरो गर्छु।मलाई सासमा आस आयो।वहाँको घर बरगाछी विराटनगर थियो।सामग्रीको मेरो जागिर इटहरीमा थियो ।

उहाँले भोलि बिहान ७ बजे उहाँको घरमा आउन भन्नुभयो।म बिहान ६ बजे नै पुगें।उहाँले आफ्नो ससुरालीको घर काँशी भएको,वहाँको श्रीमतीले र सालीले पनि काँशीमानै पढेको र एस.एल.सी. पास भएका विद्यार्थीले सिधै माध्यमिक शिक्षा परिषद्को परीक्षामा भाग लिन पाउने व्यवस्था भएको कुरो बताउनु भयो। कार्यालयमा तीन महिनाको विदा मिलाइ दिने वचन सहित मेरो काँशी यात्राको विजारोपण भयो।

काँशीमा कहाँ जाने,कसलाई भेट्ने भन्नेमा पनि उहाँ नै मिलाई दिनु भयो। मोहन चापागाई,राम पाण्डे,हरी पाण्डे,मन्जु चापागाई,आदि शिक्षामा सहयोग गर्ने टयूसन चलाउने मानिसको सूची नै दिनुभयो।पुष्प दाइले पनि हौसला दिएकै हो। बुबालाई यो खबर सुनाए।बुबाले पनि स्वीकृति दिएपछि कृषि सामग्री संस्थानबाट तीन महिनाको छुट्टी लिएर म काँशी लागें।काँशी गएर भने अनुसार नै धर्मशालामा बसें।त्यसबेला काँशीका गल्लीहरू सबै नेपालीमय हुन्थे।गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी,भरतमोहन अधिकारी लगायत नेपालका पञ्चायत बिरोधि नेताहरू सबै काशीमा नै बस्नु हुन्थ्यो ।त्यहाँ हुँदा उहाँहरूलाई भेटे पनि र हौसला प्राप्त पनि गरें।पुष्पलाल जस्तो मृदुभाषी र प्रष्ट धारणा भएको मानिस अरू कोही पनि मैले भेटेको छैन।वहाँमा राष्ट्रलाई कुन दिशामा लाने प्रष्ट खाका थियो।मनमोहन पनि त्यही कोटीको हुनुहुन्थ्यो।भरतमोहनसँग चाहिँ कता कता डरलाग्दो।वहाँ सादा जीवन उच्च विचारका धनी हुनुहुन्थ्यो।विश्वेश्वरप्रसाद कोइराला चाँही प्रायः समूहमानै हुने हुँदा भेट्न त्यति सरल थिएन।तर वहाँ तरुणदलका नेता जस्तो लाग्ने हुँदा एक पटक भेटेपछि सधै भेटौं भटौं लाग्ने हुनुुहुन्थ्यो।कृष्णप्रसाद भट्टराईलाई मैले मनमोहन जस्तै ठान्थे।गिरिजाप्रसाद कोइराला अरू भन्दा भिन्न हुनुहुन्थ्यो।मलाई अलि कडा जस्तो लाग्दथ्यो।वहाँको बोली “जे सोच्छु,त्यही बोल्छु”,“जे बोल्छु,त्यही गर्छु” भनेको चाहिँ मलाई साह्रौ मन पर्थियो म राजनीति त्यति नबुझ्ने हुनाले र पढ्दै फूर्सद नहुने हुँदा खासै वहाँहरूको प्रेम भने पाईन।तर नेपाली धर्मशालाका वहाँहरूका कार्यक्रमहरू चाँही कहिल्यै पनि छुटाईन।

पुगेकौ दिन मोहन चापागाई र मञ्जु चापागाईलाई भेटे आफ्ना प्रमाणपत्र र चाहिने पैसा बुझाए।वहाँले एक भारी किताब दिनु भयो र कमसेकम दिनको १८ घण्टा चाहिँ पढ्नु पर्छ भन्ने मार्गनिर्देशन दिनु भयो।हुन्छ भनेर पुन धर्मशाला फर्के ।सारै नै थाकेको थिए,रोमान्चित पनि थिए र एउटा विचित्रको संसारमा पुगेको अनुभव थियो मनमा।कोइला बालेर चिया पकाएको पहिलो पल्ट देखेको–साना साना गल्ली–अग्ला अग्ला घर –प्रायः घरै पिच्छे चिया र अन्य सामाग्रीका पसलहरू र पसलमा बस्ने पनि बोली नै नफुटेका नानीहरूदेखि बोली नै समाप्त भएको वृद्धाहरू।विचित्रकै संसार थियो काँशी।

पहिलो दिन नै चौखम्बा सम्म निस्किए।फर्किने बेलामा गल्लि बिर्सिए जति घुमेपनि नेपाली धर्मशाला–मंगला गौरी पुग्न सकिन।गल्लीमा साँडे पनि उत्तिकै गाई पनि उत्तिकै,रिक्सा त्यही,साइकल त्यही सासै टिप्ने गरी भट्टयाङ्गट्याङ्ग गर्ने राजदूत मोटर साइकल,बुलेट मोटर साइकल, मान्छे पनि त्यतिकै अनि टाउकोमा बोेकेर सब्जी अथवा उनीहरूको सामग्रीको विज्ञापनको आवाज,माइकल र गीत बजाउने हे भगवान् यो काँशी हो कि कष्ट हो –म वास्तवमै आत्तिए।

बाटो बिराएर जसलाई पनि सोध्यो–“इधरसे जाओ इधर मोडो,फिर उधर मोडना” भन्छन् तर म चाहिँ धर्मशाला पुग्नुको साटो अन्तै पुग्दो रहेछु।कैयौ त्यस्ता बाटाहरू चक्कर काट्दा काट्दा धर्मशाला चाहिँ पुगिन तर गंगाघाटमा चाहिँ पुगें ।घाटको रौनक फेरी भनि सक्नु थिएन्।बाल, वृद्ध,आमा,दिदीबहिनी सबै त्यहाँ छन्।कोही नुहाई रहेछन्, कोही कपडा धोई रहेका छन्।कोही मुसल चलाई रहेछन्।कुस्ती पनि खेली रहेछन्।भैसीलाई नुहाउने पनि त्यही छन् पुरेत पनि त्यही जजमान पनि त्यही।कपाल काट्ने र कटाउने पनि त्यही, श्राद्ध गर्ने र गराउने पनि त्यही।पूजा सामाग्रीका नाङ्गले पसल एउटा अद्भूत संसार मैले घाटमानै देखें ।फेरी नालीबाट दिसा पिसाबको सानो तिनो खोलो जस्तो पनि त्यही गंगामा हालिएको छ।मान्छेहरू गंगाजल भनेर पिई पनि राखेका छन्।माइकबाट वेदका ऋचाहरू पनि गाइएका छन्।फिल्मी गीतहरू प्नि घन्किएका छन्।म एउटा सिधा संसारबाट पहिलो पटक त्यो कोलाहलमा पुगेको भएर होला सम्पूर्ण तवरले आतिए।

मलाई धर्मशाला कतिबेर पूगुं र सुतुं भएको थियो।त्यहाँ नेपालीहरू पनि छ्यापछ्याप्ती थिए।मैले एकजना यसो पण्डित जस्तो देखिने नेपालीलाई जगदम्बा धर्मशाला जाने बाटोको बारेमा सोधें।वहाँ झाँपा घर भएका न्यौपाने थर गरेका मानिस हुनुहुँदो रहेछ।वहाँले बुबा आमालाई गंगा स्नान र विश्वनाथ बाबाको दर्शन गराउनु ल्याउनु भएको रहेछ।संयोगले वहाँ पहिले काँशीमानै बसेको,त्यही पढेको हुनुहुँदो रहेछ।जगदम्बा धर्मशालामा नै बस्नु भएको रहेछ।वहाँसँगै म धर्मशाला छेउबाट अर्को तर्फ मोडिएर जताबाट आयो त्यतै घुमेको रहेछु।काँशीमा गल्लीको भेउ चाहिँ मैले राम्ररी पाउन पछिसम्म पनि सकिन।

त्यस साँझ सायद वहाँले नै खाना खान दिनुभयो जस्तो लाग्छ।भोलीपल्ट कसैको साथ लागेर विश्वनाथ दर्शन गर्न गए।गंगामा पौडी पनि खेले।तेश्रो दिनसम्म त्यो नयाँ ठाउँमा रणभूल्लमा नै बित्यो।सायद चौथो दिन थियो होला विहानै करीब आफ्नै उमेरका एक जना भाई आएर अलिक अप्ठ्यारो नेपालीमा ल अब आजदेखि यहाँ बस्न पाइदैन डेरामा सर है भनेर आदेश दिए।पछि थाहा भयो ती भाईको नाम बरुण रहेछ।सायद वरुणभाई चाहिँ अझै पनि काँशी मानै छन् र त्यही धर्मशालामा काम गर्छन्।लौ जा परेनत फसाद,अब कहाँ डेरा खोज्ने कसलाई भन्ने ?म आफ्नो झोला बोकेर धर्म शालाको पेटीमा अब के होला सायद मोहन चापागाईकोमा गएर भन्नु पर्ला भन्ने सोचमा थिए।त्यसैबेला एक जना पण्डित जस्तो लाग्ने ब्राह्मणले के भयो बाबु किन झोक्राएर बसेको भनेर सोध्नु भयो।मेरो मनमा अचानक एउटा आनन्दको अनुभूत भयो।मैल विलम्ब नगरिकन नै आफ्नो व्यथा सुनाई हालें।

वहाँ दामोदर भारद्वाज हुनु हुदो रहेछ।त्यहीको संस्कृत माहाविद्यालयको प्राचार्य। वहाँले मेरो कुनै परिचय सोध्नु भएन।गम्भीर मुद्रामा मलाई एक पटक हेरिरहनु भयो।छेवैको चिया पसलमा गएर मुठामा बस्नु भयो।चिया पसले वहाँलाई नसोधिकन सानो सिसाको गिलासमा आधाभन्दा पनि कम चिया दिए।वहाँ बसि राखेकै बेलामा मेरै उमेरको थुप्रै विद्यार्थीहरू त्यो गल्लि हुँदै आए।कत्तिले परैबाट गुरुज्यू प्रणाम भने,कतिले खुट्टा छोएर आशिवार्द लिए। मनमनै सोचें यस्तो सामान्य देखिने पातलो घोति र कमिज लगाएको नेपाली,हेर्दा यस्तो सरल व्यक्ति कुनै पण्डित अथवा कुनै पूजारी हुनुहुन्छ,क्यार।ममा आफैमा एक प्रकारको आनन्द को भाव जागृत भयो।म वहाँलाई हेरी नै रहें।वहाँले पनि चिया खाउनजेलमा दुई तीन पटक मलाई यसो नियाल्दै गरेको जस्तो महशुस गरें। चिया सक्ने बेलामा वहाँले मलाई इसारा गरेर बोलाउनु भयो।म झोला सहित वहाँ भएको ठाउँमा पुगें।वहाँले चिया खाने भनेर सोध्नु भयो।मैले हवस भनें।हामीले यति बोल्न नपाउँदै मेरो अगाडि त्यही सानो गिलासमा आधा जति चिया आइपुग्यो ।मैले मनमनै सोचें यो दुई घुटको पनि नहुने चिया खाए पनि के नखाए पनि के नै होला र।मैले दुइचार सिरिपमा नै चिया सिद्धायाए।चिया अद्भूत मिठो थियो। सायद दुधमा मात्रै विभिन्न मसलाहरू हालेर बनाएको हुनसक्छ।त्यहाँका चिया पसलेले नेपालीमानै सोधे–तिमी भरर्खर नेपालबाट आएका हौं ? मैले अस्तिको दिन आएको हुँ भने।

दामोदर गुरुज्यूले ल हिड मसित भन्नु भयो । म केही पनि नसोधि सिधै वहाँको पछि लागें । वहाँको डेरामा पुग्यौं । त्यहाँ पहिले देखिनै पाँचजना मेरै उमेरका विद्यार्थीहरू थिए । सायद एउटा कोइलावाला चुलो थियो र अर्को चाहिँ मट्टीतेलको स्टोभ । विद्यार्थीहरू फुलकोपि र पालुगोंको साग केलाउँदै पखाल्दै थिए । गुरुज्यूले एक गिलास चामल थप्नु भन्नु भयो । त्यहाँ भएका मध्ये एक जनाले हवस गुरुज्यू भने । त्यहाँ हुने मध्ये एक जना विद्यार्थीले गुरुज्यूलाई के उ पनि नयाँ विद्यार्थी हुन भनेर सोधे । गुरुज्यूले हुन तिम्रा कोठामा बस्ने नयाँ साथी हुन् भन्नुभयो । ती साथीले राम्रो, अब हाम्रो हाम्रो समूह भयो । समूहमा अध्ययन गर्छौं भनेर स्वीकृत जनाए । मलाई न कसैले नाम सोधे न पहिचान सोधे । म कुनै प्रतिकृया विना स्वीकार भए । मलाई एकप्रकारको विचित्र अनुभव भई रहेको थियो । मैले दैवी चमत्कारको बारेमा सुनेको थिए र मनमनै सोचि रहेको थिए कि दैवी चमत्कार भनेको यहि रहेछ । त्यतिबेला सम्मपनि मलाई न कसैले नाम सोधे, न काहाँबाट आएको भनेर कुनै जानकारी नै लिए ।

ती मध्ये एक जना विद्यार्थी भने गितार सुम्सुम्याउँदै थिए । उनको नाम टिका भण्डारी रहेछ पछि थाहा पाए । बेला बेला झ्याङ्ग झ्याङ्ग पनि पार्थे । म त्यसै उकूसमूकूस भई सकेको थियो किनकी कसैले केही सोध्दैन । सबै आफ्नो धुनमा मस्त छन् । खाना तयार भयो । सबै जना खाना खान बस्यौं । गुरुज्यूले भने खानु भएन् । खानाको स्वादको बारेमा तारिफ भयो । वास्तवमा खाना औधी मिठो थियो । पिरो चाहीँ बढी नै थियो । मैले केही नभनी खाई रहे । गुरुज्यूले सोध्नु भयो– धेरै पिरो भयो कि के हो ? मैले उत्तर दिइन् । गुरुज्यूले अब तिमीहरूले आफ्नो डेरामा खाना खोर्सानीको प्रयोग कम गर्नु । साथीहरूले हवस् भनेर उत्तर दिए ।
म आत्तुरका साथ मेरो बारेमा सोधिदिए हुन्थ्यो भनेर मनमनै सोचिरहेको थिए । मन सबै पढे जस्तो गरेर गुरुज्यूले – सोध्नु भयो तिम्रो कलेजमा भर्ना आदिको काम भयो कि भएको छैन ? मैले भयो भने, वहाँले राम पाण्डेको केन्द्रबाट ? मैले होइन मोहन चापागाईको बाट । वहाँको अनुहारमा कुनै प्रतिकृया आएन थिएन, ल ठीक छ अब आफ्नो उद्देश्य तर्फ लाग भन्नु भयो । अझै नाम सोधेको
छैन । थर सोधेको छैन, जात सोधेको छैन ।

मनमनैं सोचें कि कस्ता ब्राह्मण हुन ? धर्म कट्टरता, जात कट्टरताको पराकाष्टा भएको काँशीमा यही गुरुज्यू एउटा अनौठो व्यवहार कसरी गर्न सक्छन् । सबैलाई समभावले कसरी हेर्न सक्छन् ? दामोदर गुरुज्यू धर्म कट्टरता भन्दा माथि हुनुहुन्थ्यो ।

लामो अन्तराल पछि साथी साथी बीच कुरा भए पछि बल्ल थाहा पाए एकजना साथीको नाम क्षितिज प्रसाईं रहेछ, अर्को उनकै भाई रंजन रहेछन् । अर्का शान्तिराम र अर्का मेघनाथ र अरू एकजना मैले नाम विर्सिए । क्षितिजलाई भेटेपछि ममा एक प्रकारको अनौठो महशुुस भयो । मानौं उसित कुनै पुरानो नाता होस् अथवा पटक पटक भेट भएको होस् र एक अर्काका दुःख सुख साटिएको होस् । हाम्रो मित्रता यति सुखद् भयो र छ पनि कि आज पनि हामी उत्तिकै नजिक छौं । साँच्चो मित्रता भनेको भौगोलिक दुरीले टाडा होइन झन नजिक बनाउँछ । अझै पनि हामी उस्तै छौं । कुनै कुरामा क्षितिजले मेरो नाम सोधे र वास्तवमा एक अर्कासित परिचित भयौं । गुरुज्यूले त तिमीहरू आफ्नो कोठामा मेदनीलाई लिएर जाओ भन्नु भयो । रंजन र क्षितिजलाई मैले पहिलो बोलिमानै तिमी भनेर सम्बोधन गरें । क्षितिजले पनि त्यसै गरे । रंजनले चाहिँ दाई झै नै व्यवहार गरें ।

हामी सबै जना अत्यन्त घनिष्टतम् साथी भयौं । सुरुमा रंजनसितको घनिष्टता ज्यादा थियो, तर विस्तारै क्षितिज र मेरो घनिष्टता बढ्दै गयो । यथार्थमा दुवैजना सितको मेरो सम्बन्ध आज पनि उस्तै ताजा र घनिष्टता नै छ । अरू साथीसित सम्पर्क हरायो तर शान्तिरामसँग भने अझै ताजा नै ।

काँशीको पढाईको तरिका पनि विचित्रनै थियो । विहान ६ बजे नै ट्यूसन सुरु हुने र १० बजे सम्म चल्लने गथ्र्यो । टेष्टबुक भन्दा गेस पेपर बढी पढाई हुने चलन थियो । १२ बजेसम्म खाना खाई सकेपछि एक घण्टा जति आराम गरेपछि कुनै पनि हालतमा रातको दुई बजेसम्म निरन्तर धोकाई । खादा पनि पढाई, हिड्दा पनि पढाई । वास्तवमा सपना विपना जतिखेर पनि पढाई वाहेक कुरै थिएन । शनिवार र आइतवार ट्यूसन हुँदैनथ्यो तर पढेको नपढेको हेर्न ट्यूसन केन्द्रबाट मानिस खटिन्थे । नपढेको भेटाए भने सातो टिप्नु त छँदैथियो । भोलीदेखि ट्यूसन पढ्न नआउनु पैसा फिर्ता लानु भन्ने धम्कि आउथ्यो । पढ्दा पढ्दा किताब देख्दै रिस उठ्ने, टाउको दुःखने । हे भगवान् यो कस्तो भगसागरमा हाम्फालिए छ ? यसरी पढेको भए नेपालमानै प्रथम श्रेणीमा उत्र्तिण हुने थियो । मैले एक दिन दामोदर गुरुज्यूलाई गुनासो सुनाए ।

दामोदर गुरुले बाँधेर साहने र खुला रूपमा साहने विषयमा दृष्टान्त दिनु भयो । मान्छेलाई स्वतन्त्रता त दिनुपर्छ तर विद्यार्जन मन, वचन र कर्मलाई बाध्नु पर्छ ।
काग चेस्टा वकु ध्यानं स्वान निन्द तथेवर्च
स्वल्पहारी गृह त्यागि विद्यार्थी पन्च लक्षणम्

हितोपदेशको माथिको श्लोकलाई दोहो¥याई तेह¥याई सुनाउनु भयो । अर्थात् विद्यार्थीमा कागको, वकुल्लाको र कुकुरको जस्तो गुण हुनुको साथै थोरै अर्थात् ठिक्क खाने र परदेश अर्थात घरको वातावरणबाट टाढा हुनु पर्ने कुरो बताउनु भयो । वास्तवमा हामीमा वकूल्लाको जस्तो ध्यान गरेर आफ्नो विवेक प्रयोग गर्ने अवसर चाहिँ थिएन । तर अरूकुरा चाहिँ करीब करीब हामीसित लागू हुन्थ्यो । त्यो प्रचण्ड गर्मी जहाँ लामखुट्टे जीवित रहन नसक्ने हुँदा हामी छतमा पानि हालेर सेलाएपछि सुत्ने गर्थियौं ।

सकेसम्म पाँच बजे उठ्नै पर्थियो । शनिवार र आइतवारको उपयोग विश्वनाथ बाबाको दर्शन घाटमा विभिन्न थरीका मान्छेको भिडभाड र कहिले काही काँशी विश्वविद्यालय सम्पूर्ण संस्कृत विश्वविद्यालय, काँशी विद्यापीठ (अंग्रेजी भाषाको प्रयोग गर्न नपाइने माहाविद्यालय) र कहिलेकाही सारनाथ बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँसम्म पुग्थ्यो । यो घुमाइको क्रममा खास गरी क्षितिज र म चाहिँ कहिल्यै छुटेनौं । हामीले गर्मी छल्नका लागि मजदा भन्ने सेनिमाहलमा तवायफ भन्ने सिनेमा छब्बिसौं पटक हे¥यौं । तर सिनेमाा के को बारेमा थियो भन्ने हामीलाई छब्बिसौ पटकमा पनि थाहा थिएन । अगाडिको विज्ञापनमानै हामी तल सुतिसक्थ्यौ अनि सिनेमा सकिएपछि डेरा फर्किन्थ्यौं । सायद त्यो भूइमा बस्ने वालाको रेट ५० पैसा थियो होला । अतिनै सकुन हुने त्यहाँ, न हल्लाको मतलब न सिनेमामा के भईरहेछ को मतलब त्यो बाताकुनि वातावरण हाम्रो लागि स्वर्ग नै थियो ।

कहिले काहीँ कचौडी गल्लीपनि जान्थ्यौं । दुईवटा कचौडी तर चार किसिमका अचार र तीन किसिमका तरकारी र छुट्टै दाल त्यसको आनन्दनै अर्को थियो । अर्को थियो बुढाको लस्सी । एकजना वृद्धबाबा लस्सीको व्यापार गर्नु हुन्थ्यो । एकदिन क्षितिज र मैले सबै भन्दा सानो माटोको कपको लस्सी पियौं । अद्वितिय स्वाद प्रशस्त तर (छाली) अनि अनेक प्रकारका मसलाहरू हालेर बनाइएको त्यो लस्सि लस्सि होइन, मानौं कुनै अमृत हो र संसारका सबै मिष्टान्नहरू त्यसमा मिसाईएको थियो । हामीले लस्सि पिइसकेपछि जिब्रोले भ्याएसम्म त्यो सानो मटका चाट्थ्यौ पनि र अन्त्यमा त्यो मटका मटका फाल्ने ठाउँमा फ्याक्यौं । हामीलाई थाहा थिएन कि त्यो ती वृद्धबाबाको व्यइज्जती रहेछ । बुढाले यसरी हप्काए की आजसम्म पनि मन डराउँछ । त्यो मटकाबाट लस्सि पिइसकेपछि पानीले पखालेर पनि पिउनु पर्ने रहेछ । बुढाबाबाले हामीले नपखालीकन मटका फ्याँकेकोले व्यइज्जत महशुस गरेका रहेछन् । त्यसदिन बुढाबाबाले हामीसित पैसा लिन पनि मानेनन् । हामी दुवै जानाले साह्रै नै लज्जित महशुस ग¥र्यौ । त्यो दिन हाम्रो लागि अविश्मरणीय भयो जून उद्यपी छँदैछ।

त्यसदिन हामी चौखम्वाको पुस्तकालयमा गयौं । किन किन पुस्तक पसलमा पूग्दा मन्दिरमा भएको जस्तै भान हुन्थ्यो । त्यतिठूलो पुस्तक पसल मैले कहिल्यै देखेको थिइन् । जमिनको सतहमूनि र माथि गरेर सायद ८ तल्ला होलान् । सबैभन्दा तलको तलमा वेद, रामायण, उपनिवेश, पुराना वाइवल, कूरान आदि विभिन्न धर्मशास्त्रका पुस्तक थिए । अर्कोमा पुरातन साहित्य र संस्कृति सम्बन्धित पुस्तक, त्यसैगरी अर्कोमा आधुनिक साहित्य र संस्कृतिका अनि अर्को तहमा अनुसन्धान सम्बन्धि– विज्ञानका पुस्तक, पस्ने वित्तिकै भने सबै तहमा पढाइ हुने पाठ्यसामाग्री सम्बन्धित पुस्तक थिए । माथिल्लो तलामा चाहिँ विभिन्न चित्रकारी सम्बन्धि पुस्तकका साथै रतिरागत्मक फोटाहरू भएका पुस्तक पनि थिए । वात्सायनको कामशास्त्रको विभिन्न भाषामा अनुवाद गरिएका पुस्तकको लागि छुट्टै कुनो थियो । अरूपनि विदेशी किताब थिए ।

हामीले पुस्तक चाहिँ पल्टाएनौ खाली विचित्र भावले त्यो पुस्तक पसल भित्रै घुम्यौ । त्यो दिन त्यो पुस्तक पसलमा मलाई विश्वविख्यात मनोवैज्ञानिक लालजी राम शुक्लासित भेट गर्ने अवसर प्राप्त भयो । वहाँ एक प्रकारको सन्त नै हुनुहुन्थ्यो । वहाँले जीवन भनेको संघर्ष हो । नहार्ने अर्थात् हार नमान्नेले संसार जित्न सक्छ भनेर दृष्टान्त सहित सम्झाउनु भयो।

वहाँलाई भेट्दाको अनुभवले मलाई नयाँ पाराले जीवन हेर्ने दृष्टिकोण प्राप्त भयो । वहाँले हरेक मानिसमा समान गुण विद्यमान रहन्छन् । तृष्णता र वुद्धिमा पनि फरक फरक हुँदैनन् । तर अवसर कसरी प्राप्त हुन्छ र त्यो अवसरलाई जीवनमा कसरी उपयोग गर्छ । त्यसमा मानिसको प्रगति निर्भर गर्छ । वहाँले निङ्गभेद गर्नु भनेको मानवताको दोहन गर्नु हो । वहाँले थप्नु भयो, स्त्रीहरू पुरुष भन्दा सहनशील, ज्ञानी र आत्मनिर्भर हुन्छन्।

वहाँले सच्चा शिक्षकले कसैमाथि कहिल्यै भेद गर्दैन र विद्यार्थीको प्रगतिमा नै आत्म सन्तुष्टि प्राप्त हुन्छ । विद्या दानम् सर्व दानम् प्रथानम्को समूल व्याख्याका साथै शिक्षकले सदा सर्वदा आपूmसित भएजति सबै दिने प्रयास गर्छ र सच्चा विद्यार्थी त्यहि हो जाने जसले गुरुले दिएको सम्पूर्ण ज्ञानलाई लिने, ग्रहण गर्ने र उपयोग गर्ने कोशीस गर्छ । वहाँसित मैले आफ्नो असफलताको सबै कथा सुनाएँ । वहाँले त्यो असफलता थिएन, सत्यलाई पत्ता लगाउने भ¥याङ्ग थियो भनेर सम्झाउनु भयो । त्यतिबेला मलाई असफलताको भयंकर त्रास थियो । वास्तवमा आजपनि कता कता त्यो भय जीवित नै छ । तर लालजीराम शास्त्रीका ती दृष्टान्तहरूले मलाई सधै हौसला प्रदान गरिरहेका छन्।

त्यस्तै दामोदर गुरुज्यूले पनि मेरो थकित र गलित मनस्थितिलाई सवल बनाउन सधैं प्रयत्न गर्नु भयो । वहाँले गितासार कैयौ पटक बुझाउनु भयो । वहाँले आफ्नो जीवन पर्यन्त मलाई हौसला दिन छोड्नु भएन । गीताको पाँचौ अध्यायको एउटा श्लोक – जसमा ज्ञानी मानिसका लागि, हात्ति, कुकुर, मानिस र यावत जीवहरूमा फरक हुँदैन । सबैलाई समभावले हेर्नु पर्छ भन्ने भावको श्लोकबाट लामा लामा पत्रहरू पठाउनु हुन्थ्यो । सायद ती चिठीहरू मेरा पुराना दराजमा हुन पनि सक्छन्।

काँशीले जीवन हेर्ने दृष्टिकोण नै परिवर्तन ग¥यो । मैले दामोदर गुरु जस्तो गुरुज्यू, क्षितिज प्रसाईं जस्तो मित्र त्यही प्राप्त गरेको हो । त्यहाँ अर्को पात्र जो पुराना धर्मशालामा काम गर्नु हुन्थ्यो–हरि पाण्डे, वहाँले पनि मलाई औधी माया गर्नु हुन्थ्यो । वनारसमा हुँदा धेरै महŒवपूर्ण व्यक्तिहरू– विश्वेश्वरप्रसाद कोइराला, मनमोहन, अधिकारी, पुष्पलाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, भरतमोहन अधिकारी, चक्र वास्तोला, जगन्नाथ आचार्य, शैलेजा आचार्य, अमोदप्रसाद उपाध्याय जस्ता राजनीतिज्ञहरूका साथै लालजीराम शुक्ला, सुन्दरलाल बहुगुणा, बाबा आम्टे, डा. शंकरदयाल शर्मा जस्ता सन्त व्यक्तित्वसित पनि भेट भयो । त्यसैबेला नै गंगा बचाओ आन्दोलन शुरु भएको थियो । त्यो आन्दोलनका सारथीहरूसित पनि कैयौ पटक भेट भयो । ती सबैबाट मैले असिम प्रेरणा प्राप्त गरें।

काँशीमा मैले आई.ए. र वि.ए. दुईटा महत्वपूर्ण अध्ययन ३ वर्षमा पूरा गरें । यो पहिलो वर्षको अनुभव हो । दोश्रो वर्ष र तेश्रो वर्ष पनि उस्तै रोमान्चकारी भएर बिते । विचित्रका हण्डरहरू, प्राणै जाने खालका संकटहरू पनि आए । ती दोश्रो वर्षदेखिका अनुभवहरूलाई म दोस्रो स्मरणमा राख्ने छु।

वास्तवमा काँशीले सिकाएको महत्वपूर्ण पाठ भनेको जस्तो सुकै परिस्थितिमा पनि आत्तिनु, मात्तिनु र हरेस खानु हुँदैन । काम भनेको जस्तो सुकै भएपनि काम हो, त्यसको सम्मान हुनु पर्छ । त्यो काँशीमा गल्लीमा चिया पसले, तरकारी पसलेहरू मध्ये अधिकांश एम.ए. गरेकाहरू कलेज र विश्वविद्यालयमा प्राध्यापन गरिरहेकाहरू नै थिए । यहाँसम्मकी त्यो गल्ली बडार्नेहरू पनि संगिताचार्यहरू थिए । आफ्नो पाएको व्यवसाय जातिगत हिसाबमा र आर्जीत व्यवसाय अर्थात् शिक्षा र तालिमद्वारा प्राप्त व्यवसाय दुइवटै चलाउने कैयन थिए । काँशी रुढीग्रस्त चाहिँ अवश्य थियो । तर त्यस ग्रस्तताले निखारेका अद्भूत ज्ञानीहरू पनि उत्तिकै थिए । स्वीकार गरे पनि नगरेपनि सत्य सत्य नै रहन्छ, नेपालका असख्य अवसरहीन विद्यार्थीहरूले छोटो अवधिमानै आफ्नो उदेश्य अनुरूपको शिक्षा पाएका हुन् । त्यतिबेला ट्यूसन केन्द्रले गरेको शोषणको कुरो हुन्थ्यो तर यदि ती केन्द्रले रातोदिन मेहेनत नगरेको भए म जस्ता असफलताका बानी परेकाहरूले शिक्षाको उज्यालो बाट सधै बन्चित हुनु पनि पर्न सक्थ्यो । राम्रो कामको परिणाम राम्रै हुन्छ । बाँकी अर्को पाटामा उल्लेख गर्ने शर्तमा विदा हुन्छु ।

।।शुभम् ।।

प्रतिक्रिया