नेपालमा कोरोना नियन्त्रणमा सरकारी हेलचेक्य्रांइ अति भयो

डा. मधु घिमिरे २०७७ साउन २९ गते २३:४३ मा प्रकाशित


विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले नेपाल पनि ठूलो चपेटामा परेको छ । नेपाल महामारीको चपेटामा पर्नुको मुल कारण चिकित्सकहरुले समयमा नै दिएका सुझावहरुलाई सरकारले सुनुवाई नगरेर हेलचेक्य्राइ गर्नु नै हो ।

हामीले सरकारलाई बेलैमा सचेत गराएकै हो तर सरकारले सुनुवाई गरेर कार्यान्वयन गर्नुको सट्टा ढाकछोपमा नै जोड दिएकाले आज यो परिणाम आएको हो । अहिले पनि सरकारले ढाकछोप गर्ने काम गरिरहेकै छ । गर्ने काम केही भएन ढोल पिट्ने मात्र काम भयो । अब सर्वसाधारणलाई सबैभन्दा ठूलो समस्या पेट भर्ने कि बिरामी हुने भन्ने भएको छ ।

सरकारले पहिला सतर्कता अपनाएर गर्नुपर्ने कुराहरु गरेको भए अहिले अर्थतन्त्र पनि चौपट हुदैनथ्यो । सरकारले कोरोना संक्रमणको परीक्षण गर्नुको सट्टा ढाकछोप गरेका कारण अव संक्रमितको संख्या घट्ने तर्फ जाने आधार नै तय भएको छैन । यसले अबका दिनमा अर्थतन्त्र त चौपट नै हुन्छ । सरकारले बिरामीका लागि आवश्यक पर्ने औषधि पनि खरिद गरेको छैन । गम्भीर बिरामीका लागि चाहिने दुईथरी औषधिहरु महंगो छन् र नेपालमा पाइन्न । यी औषधिहरु सरकारले स्टक राखेको पनि छैन र साधारण जनताका लागि पाउने सम्भावना पनि छैन । यस बिषयमा सरकारले ध्यान दिएकै छैन ।

अब यहाँ सर्वसाधारण जनता बिरामी हुँदा कतिले आईसीयू र भेन्टिलेटर पाउँछन ? नेपालमा लकडाउन गरेर सरकारले कति आईसियू र भेन्टिलेटर व्यवस्थापन गर्यो र ठूलो संख्यामा एकै पटक बिरामी थपिंदा कुन ठाउँमा राख्ने व्यवस्थापन गर्यो ? अहिलेसम्म कुनै लेखाजोखा छैन । सरकारले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) छ त भन्यो अहिले भएको पिपिईले कति दिन टिक्छ ? संक्रमितको संख्या बढ्दै जाँदा सरकारसँग भएको पिपिई बल्कीङ पेपरले मसी सोसे जस्तै गरी सकिन्छ । सरकारले के गर्न खोजेको हो ? म ५५ बर्ष देखि चिकित्सा पेशा अगाल्दै आएको एउटा चिकित्सक नै अन्योलमा बस्न बाध्य हुनुपरेको छ ।

सरकारले बिना योजना लकडाउन गर्ने र लकडाउन खोल्ने गर्दा सर्वसाधारण जनता जीवन पेट पाल्नका लागि कहिले गाउँ जाने त कहिले शहर फर्कने गर्दा बढी संक्रमित हुन पुगेका छन् । यो सबै सरकारको लापरवाही र विना योजना बहकाउमा गरिएका निर्णयको प्रतिफल हो ।

हिजो लकडाउन गरेर सरकारले कोरोना संक्रमित गाउँ गाउँमा पुर्यायो, आज खुकुलो गरेको भन्दै जनतालाई सास्ती दिएर एउटा सवारी साधनमा यात्रा गरेर गन्तब्यमा पुग्न नदिई ठाउँ ठाउँमा झार्ने र भिडभाड गराएर धेरै मानिसलाई एकैपटक संक्रमित बनाउँदै छ । यदि सरकारले नीति बनाएर सवारी साधन एउटा ठाउँबाट निश्चित ठाउँमा नपुगेसम्म यात्रुलाई झार्न नमिल्ने र झरेपछि पिसिआर परिक्षण गरेर मात्र काममा जाने वातावरण सृजना गरेको भए आज यति धेरै मानिस संक्रमित पनि हुने थिएनन र ज्यान पनि जाने थिएन ।

अब त सरकारले संक्रमितको कन्ट्रयाक ट्रेसिङसम्म लिन नसक्ने गरी भद्रगोल बनाएको छ । सर्वसाधारण नागरिक गाउँ फर्कदा को कहाँबाट कहिले आयो स्थानीय स्तरमा रेकर्ड थियो । तर अहिले शहरमा को कहाँबाट कहिले आयो भन्ने सरकारसँग कुनै तथ्यांक छैन । यो नै अव्यवस्थित र हचुवामा गरिएको निर्णयको परिणाम हो ।

चिकित्सकको नाताले हाम्रो अध्ययन अनुसन्धानबाट पत्ता लागेको र बुझेको कुरा समय समयमा भन्दै र सरकारलाई सतर्क गराउँदै आएका छौं। हामीले बुझेर गरेका कुराको सुनुवाई हुदैन । सरकार आफैले अनावश्यक ढर्रा पिटाउने र ढाकछोपमा नै जोड दिएका कारण आज यो स्थिति आयो र भोलिका दिनमा अझ भयावह हुन्छ । हाम्रो अध्ययनबाट जे बुझ्यौ सरकारलाई त्यही भन्यौ तर सरकारले वास्ता गरेन । तर हिजो हामीले जे भनेका थियौं त्यही हुँदैछ । अझै पनि सरकारले जनतालाई ढाकछोप गरेर थप अन्योलमै पार्दैछ ।

अबको समय भनेको जनता स्वयम सचेत भएर घरमा नै बस्ने हो । घरबाहिर जानै पर्ने अवस्थामा माक्स राम्रोसँग लगाएर सकिन्छ भने आँखामा चस्मा पनि लगाउने र हातमा पन्जा र स्यानिटाईजर छिनछिनमा लगाउनुपर्छ । जनताले पनि हेलचेक्र्याई गरेकै छन । माक्स नलगाउने, लगाएपनि राम्रोसँग नलगाउने, जात्रा, भिडभाड, जुलसमा बिना माक्स हिड्ने, २ मिटरको सामाजिक दुरीसम्म कायम नगर्ने, र पसलहरुमा जाँदा पनि भिडभाड गर्ने जस्ता हेलचेक्र्याई बढेको छ । सरकारदेखि जनता सम्मको लापरवाही देख्दा आफैलाई कस्तो देशमा जन्मिएछ भनेर दिक्क लाग्छ ।

मेरो काम बाटोमा मुख्र्यांइ गरेर हिड्ने मान्छेको पनि ज्यान बांचोस भनेर काम गर्ने भएकाले यतिका कुरा बोलेको हुँ । धेरै मानिसको लापरवाहीले कोरोना संक्रमण बढेको छ । माक्स पनि राम्ररी लाउँदैनन, स्यानीटाईजर त प्रयोग गर्छन कि गर्दैनन थाहै छैन । यसो गर्दा नेपाली जनता धेरै मर्छन । नेपालमा कतिलाई कोरोना संक्रमण भयो भन्ने आधार भनेकै परिक्षण कतिलाई गर्दा कति प्रतिशत पोजेटिभ आयो त्यसकै आधारमा परिक्षण नगरेका व्यक्तिहरु पनि संक्रमित छन भन्ने बुझ्नु जरुरी छ । यहाँ संख्या गनेर यति संक्रमित, यतिको मृत्यु, यति निको भए भन्नु केटाकेटी खेलाए जस्तो मात्र हो ।

नेपालमा हरेक दिन ४ देखि ५ प्रतिशतमा संक्रमण भैरहेकोमा मंगलबार एकैपटक झण्डै ८ प्रतिशतमा संक्रमण देखियो । जति जाँचेको हो, त्यसमा कति प्रतिशतमा पोजेटिभ आयो मुख्य हेर्ने आधार भनेकै यहि हो । यहि आधारमा देशभरिमा कति संक्रमित होलान भन्ने अनुमान गर्न त्यति गाह्रो नपर्ला । सरकारले देशभरिमा यति भए भन्नु सर्वसाधारण जनतालाई भ्रममा पार्नु हो । परिक्षण गरेको तथ्यांक पो भन्न मिल्छ परिक्षण नै नगरि देशभरीमा यति भन्न मिल्दैन ।

कोरोनाको कारण मृत्यु हुनेको तथ्यांक पनि कतै रजिष्टर गरिएको हुँदैन र सरकारले भनेको तथ्यांक नै यकिन हो भन्न सक्ने अवस्था छैन । कति व्यक्तिको मृत्यु भएको सरकारलाई थाहै नभएको अवस्था छ र मृत्युको लेखाजोखा छैन । सरकारले दिएको तथ्यांक र सरकारको कृयाकलापलाई पनि धाप मार्ने अवस्था भएन । आम नागरिकले सरकारले गरेका कामलाई लिएर धाप मार्न पाउनुपर्ने हो त्यो हुदै भएन ।

वास्तवमै भन्नुपर्दा यो सरकार पुरै मतलबी भयो । आफुहरुलाई टन्न थुपारेका छन् । अहिले कुनै मन्त्री बिरामी भयो भने राज्यकोषको ढुकुटीबाट पैसा निकालेर जस्तोसुकै उपचार हुन्छ । जनता मर्दा जनताले हरेक पटक १५ हजार तिर्नुपर्छ । जनता गएर आईसोलेसनमा बस्दा २ हजार, ४ हजार, ७ हजार १५ हजार दिनको तिर्नुपर्छ ।

म आममानिसहरुलाई भन्छु, सकेसम्म घरबाट बाहिर ननिक्लिदिनुहोला, निक्लनै पर्ने वाध्यतामा राम्रोसँग माक्स लगाउनुहोला, एउटा स्यानीटाईजर सधै साथमै राख्नुहोस, हातलाई स्यानिटाइज गरिरहनुहोस र घरपस्ने बित्तिकै साबुन पानीले हात धोएर कपडा फेर्नु होला । एकअर्कासँग बोल्दा पनि माक्स लगाएर आफुले पालना गर्नुपर्ने सबै कुरा पालना गर्ने र सरकारले पनि अनुगमन गर्ने गरे मात्र केही हदसम्म सुधार हुन्छ ।

(नेपालका चर्चित चिकित्सक डा. मधु घिमिरेसंग पत्रकार भगवती तिमल्सिनाले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया