देशको रक्षक बनौ हामी

इनेप्लिज २०७७ साउन २५ गते १४:५५ मा प्रकाशित

मेरो देश ,हिमाल पर्वत जहाँ
सेताम्य फूल्ने हिँऊँ !
शोभा सुन्दर वागमा कुशुमको
बास्ना मिठो मैं लिँऊ !

प्यारो लाग्छ अपार रक्त धमनी मेरो कलेजो पनि !
पुर्खाको पसिना अमूल्य निधिको बस्नेछु पाले बनी !!

१!!
आऊ हेर्न हिमाल मन्दिर यहाँ शौन्दर्य शोभा वन!
सीता गौतम साथमा जनकको सेवा गरी प्रार्थना !!
न्यानो घाम हिमालमा झलमले झुल्के विहानी पला !
छर्दै कान्ति सफेद चन्द्र नभमा तारा हुँदै झल्मल !!

२!!
शोभा दिब्य धरा सदैव मुटुमा नेपाल हो जीवन!
लैजानै बरु दिन्छु प्राण सहजै मैं दिन्न धर्ती छुन!!

सानो छैन हिमालको मुटु कतै माटो ,गरा गौरव !!
हेर्नै सक्दिन भूमि खण्डित हुदाॅं काटेर टुक्रा अब !!

३!!
माग्छौ यो शिर दिन्छु लान तर यो माटो कहाॅं दिन्छुर !
फाँसी चढ्न तयार रक्षक म हो यो देशका खातिर !!

यस्तो देवल धाम के भुवनमा अर्को कतै मिल्छर !!
लाखौ लाख करोड वीर जनका आत्मा भलो मन्दिर !

४!!
उर्जाहो जल सम्पदा कलकले ,माटो हुने उर्वरा !
बाला झुल्दछ अन्न प्राण सुखको ,लक्ष्मी परी अप्सरा !!

पाखा पर्वत फाँट लेक बनमा संजीवनी फल्दछन्!
मोती रत्न मुगा फलाम धनको तामा र चाँदी छ झन्!!

५!!
हीरा स्वर्ण जताततै खनिजको खानी गरे उत्खन !!
झर्ना ताल नदी झलल्ल बिजुली आनन्दले बल्दछन् !

कस्तुरी मृग चञ्चले गिरिगुफा डाँफे र चौरी यती
गैडा बाघ बनेल चित्तल कतै हात्ती र गोही कति !!

६!!
लावा लस्कर कोयली बनचरी मैना परेवा सुगा !
ज्ञानी मानव साधना तप गरी द्यौता यतै स्वर्गका !!

अर्को देश कुनै कतै जगतमा
मिल्दैन नेपाल झैँ!
आफ्नै स्वर्गै धरा रमेर जननी बस्नेछु नेपाली मै !!

७!!
मेचीको मुटु माथमा शिखरको
धड्किन्छ धौलागिरि !
यस्तो पावन धाम देश कसरी लैजान्छ बैरी हरि!

!!८
नेपाली मनमा अपार सुखको ,हाँसो सधै ओठमा !’
गर्छौ स्वागत पाहुना हृदयको
खुल्ला सधै आँगन !!

प्रतिक्रिया