सत्कर्म गरौं, बैकुण्ठ लोक सम्मको यात्रा पुरा गरौं

अधिवक्ता राजेश काफ्ले (कर्पोरेट लयर ) २०७७ साउन २४ गते १२:२१ मा प्रकाशित

हाम्रो देश नेपाल लाखौं देवी देवताहरुको जन्म भुमी भएको तथा मठ मन्दिर भएको देशको रुपमा विश्वमा चिनिन्छ । भनिन्छ यस देशमा ब्रह्मा,विष्णु,शिव, पार्वती, राधा कृष्ण,जनक,राम, सीता, लक्ष्मण, हनुमान, नारद, माहान ऋषीमुनीहरु लगायत गौतम वुद्ध सहित पवित्र धेरै दिव्य आत्माहरु, भगवानहरु विभिन्न समय काल खण्डमा जन्म लिएको, ज्ञान प्राप्त गरेको र केहीले राज्य संचालन गरेको कुरा विभिन्न प्राचिन धर्म ग्रन्थ, मनु स्मृती,उपनिषद, बेद एवं श्रीमत भागवत गिता किताबहरुमा हामी हिन्दु धर्मालम्वीहरुले आफ्नो दैनिक जिवनको यात्रामा सुनेका, पढेका छौं भने यी विषयहरुमा बनेको फिल्ममा त हामी आफैले प्रत्यक्ष रुपमाहेरेका छौं र देखेका छौं ।

यस पृथ्बी लोकमा हाम्रो जिवनको यात्रा जव कठिन परिस्थितीबाट गुज्रिन थाल्छ तव यी कुराहरुको वढि याद आउन थाल्दछ र हाम्रो दिमागले यी विषयहरुमा सोच्न थाल्दछ, अनि हामी यी विभिन्न लोकको विषयमा अध्यन, अनुसन्धान र सत्यको खोजी गर्दछौं । भुलोक, भुवर लोक, स्वर लोक ,महर लोक, जन लोक, तपो लोक, सत्य लोक सवै यी सात लोक जस्लाई उध्र्व लोक भनिन्छ र यी सवै लोक के, कहाँ, कुन ठाउमा छन, यस्तै विषयहरुमा हाम्रो प्राचिन हिन्दु धर्म ग्रन्थमा, पुराणमा, भागवत गीता ,बेद तथा धर्म शास्त्रका विभिन्न किताबहरुमा उल्लिखित प्रमाणमा आधारित भएर हाम्रो मृत्यु पश्चात आत्माले यस पृथ्वी लोकबाट बैकुण्ठ लोकको यात्रा कसरि तय गर्दछ भन्ने वारेमा प्रष्ट गर्ने प्रयाश गरिएको छ । प्रचिन धर्म ग्रन्थमा यी सात लोकको वारेमा देहाय बमोजिम उल्लेख भएको पाईन्छ :

(१) भु लोकः जस्लाई पृथ्वी वा मानब ग्रह, मृत्यु लोक, मनुश्य लोकको नामले चिनिन्छ । हामी यो लोकको हाम्रो सवै ईन्द्रियहरुले देख्न तथा अनुभव गर्न सक्दछौं । यस पृथ्वी लोकमा विभिन्न धारीका प्राणीहरु छन, जस्को वसाईको आधारमा तीन भागमा वर्गिकरण गरिएको छ । जलचर जस्तो की पानीमा वस्ने जिव जन्तु माछा आदी वुझिन्छ । भुचर जस्तो की पानी भन्दा वाहिर जमिनमा वस्ने मानिस, कुकुर,विराला यस्तौ अन्य प्राणी । खेचर जस्तो की आकासमा वस्ने चरा चुरुडि०्हरु आदी । त्यसैगरी जन्मको आधारमा पनि विभिन्न प्राणीहरुको विभाजन गरिएको पाईन्छ । उदाहरणको रुपमा अन्डजः जस्तो की अन्डाबाट जन्म हुने चरा तथा किराहरु । उदभिजः जस्तो बोट विरुवा रुखहरु । स्वेदजः जस्तो पसिना, वायोटिक मेटेरियल्सबाट जन्मलिने भाईरस, लिखा, ड्याण्ड्रफ आदी । जरायुज :जस्तो गर्ब तथा शरिरबाट जन्मने मानिस, गाई, कुकुर विराला आदी ।

काल तथा यमराजको समय भन्नाले जन्म देखि मृत्यु सम्मको समय हो । जस्मा निमेष,काष्ठा,कला,महुर्त अहोरात्र, कष्ण पक्ष, शुल्क पक्ष दिन रात, हप्ता, महिना, वर्ष, ईरा आदी हुन । यस पृथ्बी लोकमा समयलाई चार युगमा विभाजन गरिएको छ । सत्य युग १७,२८,००० वर्ष । त्रेता युग १२,९६,००० वर्ष । द्धापर युग ८,६४,००० वर्ष । कली युग ४,३२,००० वर्ष । अहिले हामी कली युगमा छौं । फ्रेबु्रअरी १७, ३१०२ वि.सि.बाट यो कलि युुगको शुरुवात भएको हो । यस कली युगमा धर्म, संस्कृती, आध्यात्मीकता, नैतिकता, ईमानदारिता, सत्यता सवैमा गिरावट हुनेछ । शासक वर्ग नेता, आर्मी, पुलिस, कर्मचारी, न्यायधिस लगायत सवै मानिस, नागरिक समाज, पत्रकार, व्यपारी भ्रष्ट हुन्छन । रोग व्याधी सवै तिर समस्या एवं अभाव नै हुन्छ । त्यसैले यसलाई अन्धकार युग पनि भनिन्छ ।

(२) भुवर लोक : जस्लाई पृथ्वी र सुर्य विचको ठाउं स्थानको रुपम चिनिन्छ । यस्लाई पितृलोक पनि भनिन्छ । यस लोकमा धैरै ग्रहहरु पर्दछन । मुख्य रुपमा पांच वटा ग्रह प्रसिद्ध छन । जस्तो की ध्रुब लोक, सप्तऋषि लोक, नक्षत्र लोक, चन्द्र लोक, सुर्य लोक । सप्त ऋषि लोकमा सात प्रषिद्ध ऋषिमुनीहरुको वासस्थान रहेको छ । सात ऋषिहरुको नाम : अत्रि, गौतम, जमदग्नि, कश्यप, भारद्धाज, वशिष्ठ, विश्वमित्र रहेको छ । यी ऋषिमुनीबाट बेद लगायत अन्य धर्मग्रन्थ लेखिएको कुरा उल्लेख छ । यस लोकमा आध्यात्मिक उन्नत मानब वस्दछन । यीनिहरुले विभिन्न तरिकाले भगवानको सेवा गर्दछन । उच्च, गुणस्तरयुक्त भगवानको सेवा गरेमा याहांका मानिसहरुले स्वर्गको स्थानमा जान पाउंदछन भने धरै सुख सुविधामा लिप्त भए भने मानब शरिरको रुपमा पुनः पृथ्वी लोकमा पठाईन्छ ।

ध्रुब लोकको पुर्वतिर दुध सागर छ, जाहां क्षीरोदशायी महाविष्णुको वासस्थान छ, जस्लाई बैकुण्ठ लोक भनिन्छ । यो स्थान भगवान विष्णु, लक्ष्मी लगायत अन्य सुप्रिम शक्ति दिव्य आत्मा सवैको वासस्थान हो । भगवान विष्णुको रुप कष्ण त्रितीय पुरुष भनी उल्लेख गरिएको छ । भागवत गिताको अनुसार पांच सय वर्ष अगाडी विष्णु भगवानको रुप नै कृष्ण भगवान यस पृथ्वी लोकमा जन्म लिनु भएको हो । जस्लाई हामी द्धापर युग भन्दछौं ।

(३) स्वर लोकः जस्लाई सुर्य र ध्रुब लोक विचको स्थानको रुपमा चिनिन्छ । यो ब्रह्माण्डको विचमा पर्दछ । यो स्वर्ग लोक हो । ईन्द भगवान यहांका राजा हुन । सवै भगवान देबी देवता, अप्सरा, बसु, गन्धभास, कुवेर यस ठाउंमा वस्दछन । यहां सवै प्रकारको सुख, सुविधा उपलव्ध छ । मानब शरिर सधै जवान, सुन्दर र वलियो रहन्छन, रोग, व्याधी, विरामी कहिलै पनि हुदैनन् । यहां खाना खानु पनि पर्दैन । सम्पुर्ण शक्तिले मानिस सु-सज्जित हुन्छन । यहां अन्तरिक्ष यान, रहस्यमय हतियार जस्तो ईन्द वज्र आदी छन । आफ्नो ईच्छा अनुसार कुनै पनि ठाउंमा यात्रा गर्न र कुनै पनि रुप धारण गर्न मानिस सक्दछन ।

(४) महर लोक : यस लोकमा सत्कर्म गर्ने आत्मा साधु, संत जस्तो की नारदजी आदी वस्दछन । यो ध्रुब्रलोकबाट एक करोड योजन भन्दा टाडा छ । या पनि एउटा स्वर्ग लोक कै भाग हो । सत्कर्म गर्ने आत्माहरु यस लोकमा पुग्दछन ।

(५) जनलोक : महरलोक भन्दा दुई करोड योजन भन्दा टाडामा यो लोक रहेको छ । यो प्रसिद्ध पुन्य आत्मा कुमारको वासस्थान हो । यी चार दाजु भाई सनादन, सनत,सनक,सनातन कुमारहरु मानस पुत्र यस श्रृष्टिको रचैताकार ब्रह्माका पुत्र हुन । यीनीहरु कुनै पनि बेला कुनै पनि स्थानमा ब्रह्मलोक, बैकुण्ठलोक आदी स्थानमा पुग्न सक्छन । यीनीहरु ब्रह्माको सोचबाट जन्मीएका हुन र पांच वर्षको वच्चा जस्तै देखिन्छन ।

(६) तपलोक : यो लोक जनलोक भन्दा आठ करोड योजन टाडा र चार गुना ठुलो छ । याहां शरिर विनाको देवी देवता आत्माको वासस्थान हो । यहाँ साधु, सन्यासी, ऋषिमुनी मात्र जान सक्दछन । स्वर्गको अग्नी देव, वरुण देब सवै देवी देवतासंग यहां दर्शन गर्न पाईन्छ ।

(७) सत्य लोक : यो सवै भन्दा मुख्य ग्रह हो । तपलोक भन्दा माथि १२ करोड योजन टाडा यो सत्य लोक रहेको छ । भगवान व्रह्माले यो संसार संचालन यसै लोकबाट गर्नु हुन्छ । भगवान सरस्वती लगायत अन्य दिव्य आत्मा मायाबाट मुक्त भएपछि यस स्थानमा पुग्दछन । सत्य लोक भन्दा २६२०० योजन भन्दा माथि बैकुण्ठ छ, जाहां विष्णु भगवान वस्नु हुन्छ ।

अतः प्राचिन हिन्दु ग्रन्थको अनुसार यस व्रह्माण्डको उत्पत्ति भगवान ब्रह्मादेवको जन्म संगै भएको मानिएको छ र यस ब्रह्माण्डको समाप्ती पनि निज भगवान ब्रह्मादेबको आयुको समाप्ती संगै हुने उल्लेख छ ।

भगवान ब्रह्मादेबको मृत्यु पश्चात यो संसार अन्धकारमय हुनेछ । भगवान ब्रह्मादेब वस्ने ठाउंलाई सत्य लोक भनिएको छ । भगवान विष्णु वस्ने ठाउंलाई बैकुण्ठ लोक भनिएको छ । पृथ्वीबाट देखिने आकासको सौर्य मण्डलमा धैरै ग्रहहरु भएको स्थानमा बैकुण्ठ रहेको छ । जुन ध्रुर्व तारा भन्दा माथि रहेको कुरा माहाभारत पुराणमा उल्लेख छ । त्यहां धेरै ग्रह एवं सुर्य भन्दा पनि चम्कीला ताराहरु रहेका छन । पृथ्वीबाट हेर्दा यो स्थान उत्तरी आकाशमा देखिन्छ । पृथ्बीबाट ध्रुर्व लोकको दुरी चार सय तेत्तिस प्रकास वर्ष रहेको छ । यसलाई किलो मिटरमा परिणत गर्दा चार पद्म दश निल चालिस खरब किलो मिटर हुन जान्छ ।

संसारको सवै आत्महरु मोक्ष प्राप्त गर्न बैकुण्ठ जाने दौडमा हुन्छन । यो लोक नै अन्तिम सत्य हो । यहां पुगेपछि सवै आत्मा जन्म मृत्युको चक्करबाट मुक्त हुन्छ र मोक्ष प्राप्त गर्दछन । पृथ्वीबाट बैंकुण्ठको यात्रा चार पद्म दश निल चालिस खरब तीन अरब पन्ध्र करोड अठत्तर हजार चार सय चौवालिस किलो मिटर रहेको बताईन्छ । तसर्थ हामी सवैले यस जन्ममा राम्रो कर्म गर्ने प्रतिवद्धता आजैबाट शुरु गरौं ताकी हाम्रो यस जिवन काल पनि सुखमय होस र हाम्रो मृत्यु पश्चात हाम्रो आत्माले बैकुण्ठको बास गरोस ।

फोन नं. ९८५१०३६५१५

प्रतिक्रिया