कोरोना र समय

अञ्जली ढकाल भर्जिनिया, अमेरिका २०७७ साउन २३ गते २३:३० मा प्रकाशित

म एक नासले टोलाई रहन्छु
भाव शुन्य आँखाहरुले
खुब एकान्त
मन पर्न थालेको छ
सयौं अनुत्तरीत प्रश्नहरु खडा हुन्छन
कहिले प्रश्नहरुमा
आफैं हराईरहेको भान हुन्छ
त कहिले निस्सासी रहेको

आफ्नै जिन्दगी र कोरोनाले
संक्रमित यस युगमा
हजारौं हजार
सेल्फ क्वारेन्टाइनमा कैद छन
आफ्नै घर भित्र
हजारौं अस्पतालका बेडहरुमा
चिच्याउंदै भिख मागिरहेछन
आफ्नो जीवन

कहिं कतै छैन
सुरक्षा अनुभव गर्न सक्ने अवस्था
बिहान देखि नसुतुन्जेल
पचासौं पटक
साबुन पानीले हात धुॅंदा पनि
त्राही त्राही छन
यो अदृश्य शत्रु कोभिड-19 ले
क्वापै निल्ला कि भनेर

लौन प्रभु
यो कस्तो आयो समय!
मान्छे सगं मान्छे डराउनु पर्ने
आफ्ना देखेर पछाडि हट्नु पर्ने
यो कस्तो आयो बेमौसम!!
साथी भाई भेट्दा तर्सिनु पर्ने
प्रियजनलाई समिपमा राख्न नपाउने

यो कस्तो कटु सत्य!!
आफन्तलाई सहानुभूतिमा
भेट्न नपाउने,
मुटु भरी माया छ
स्पर्श गर्न नपाउने
लौन प्रभु यो कस्तो आयो समय !
यो कस्तो समय !!!

प्रतिक्रिया