आइतबार, साउन २५ २०७७
काठमाडौं ०८:५७
वासिङटन डिसी 23:12

आत्माको चित्कार

विष्णु पगेनी सिग्देल,मेरिल्याड,अमेरिका । २०७७ साउन १३ गते २०:५४ मा प्रकाशित

म चिच्याइरहेकी थिएँ, कराईरहेकी थिएँ
र भनिरहेकी थिएँ
पाइला अगाडि नसार
अगाडि नबढा तेरा राक्षसी हातहरू
अहँ । सुनिएन मेरो चित्कार, आहट
र वेदना
रोकिएनन पाइला, काँपेनन हात
निर्दयी बन्यो मानव
र उभियो
दानव बनेर
छिया छिया पार्यो
टुक्रा टुक्रा बनायो
प्रेम, माया, विश्वास र शरीर
झुठो थियो प्रेम, वाचा, सद्भाव र कसमहरू
बनावटी थियो सम्बन्ध, नाता र आफन्तहरू
कस्तो प्रेम रोपेछु मैले घृणा बनेर हुर्कियो
कस्तो विश्वास भरेछु मैले
अविश्वास बनेर छछ्ल्कियो
आजभोलि, मिथ्या लाग्छ मुनामदन
रोमियो जुलियट
कृष्ण र राधाका प्रेम
र सोच्छु
के साच्चै चोखो प्रेम छ र त्यहाँ ?
नढाटिकन भन त,
मानवता रहयो र धर्तीमा ?
अनि
अनि,के साच्चै न्याय पाइन्छ र त्यहाँ ?
भन्नुस न श्रीमान् अब म कहाँ जाऊं
आशा, विश्वास र भरोसामा कुठारघात भएपछि
निर्दयीताले पराकाष्ठा नाघेपछि
न्यायलयका मुर्तीहरूले नै आखाँ, कान बन्द गरेपछि
यो अवलाको भारी कहाँ विसाउ श्रीमान् ?
म त बस, चुपचाप हेरिरहन विवश छु
तमासेहरूको तमासा
न्यायका गाईजात्रेहरूको गाईजात्रा
प्रेमका नौटंकीहरूको झुठो परिदृश्य
पाशविकताको हर्ष बढ्याई
निर्लज्ज मान्छेहरूको झुण्ड
तर श्रीमान् म मरेकी हुँ
हारेकी होइन
मौन छु तर सत्य सधैं मौन रहदैन श्रीमान्
मलाई थाहा छ,
एकदिन त्यस्तो दिन आउनेछ
पाप आफैं धुरीबाट कराउनेछ
असत्य डग्मगाउनेछ
सत्य भर्भराउनेछ
अनि
सारा संसारमा न्यायको उज्यालो जग्मगाउनेछ।

विष्णु पगेनी सिग्देल,मेरिल्याड,अमेरिका ।

प्रतिक्रिया