एउटा कुरा साेधूँ ?

जगन्नाथ पाैडेल भर्जिनिया अमेरिका २०७७ साउन ८ गते १०:२७ मा प्रकाशित

त्यताबाट आउने हावा

हिजाेकाे जस्तै हाे ?

हाे कि हाेइन भनेर कसलाई साेध्ने ?

याे सुनसान सहर हिजाेकाे जस्तै हाे ?

हाेइन नि हगि भनेर कसैलाई भनेमा उत्तर आउँछ कि नाइँ ?

त्याे पिलपिल अँध्याराेमा

लुखुर लुखुर डरका पाइला हिंड्ने

हिजाेकै मान्छे हाे ?

यसरी किन यस्ताे डर फैलिएकाे संसारभरि ?

यसरी नदेखिने भय किन उर्लेकाे धर्तीभरि ?

सीमा र सडकभरि पाेखिएका भाेकका पङ्क्ति कस्ले देख्नेहाेला

भनेर काेसँग साेधाैं?

कहिले काहीँ पहेंलाे बेसारले राताे राजनीति पनि गर्छ हाे ?

मानवता र नागरिकताकाे रिक्ततामा

सीमा र राष्टट्रियता भाैंतारिएकाे बेला

ओखतीकाे पैसा चाेर्नेलाई के ख्वाउनु पर्छ हाेला, आची कि चिची ?

अनि पानी पनि नखाई गाउँ खाेज्न हिंडेकाे सडकलाई

किन कुट्नु परेकाे लाैराेले?

राजनीतिले कुटेकाे कि लाैराेले ?

लाैराेले कुटेकाे हराउँछ भन्थे

राजनीतिले कुटेकाे भए के हुन्छ हाेला ?

हामीले सुसेल्ने चाैतारी उही हाे ?

आजभाेलि हाम्ले हाम्रै चाैतारीमा राेदीगीत सुसेल्दैनाैं नि हगि ?

तर राजनीतिले मात्र गाउने पालाे आएकाे हाे पैसाकाे गीत ?

याे प्रश्नकाे उत्तर दिन मिल्छ कि मिल्दैन हाेला ?

एकपटक हावलाई पिटूँ न है ?

उसले के के नदेख्ने कुरा बाेक्छ रे त

त्यसाे त देख्ने कुरा बाेक्नेलाई कुट्न

मिल्छ कि मिल्दैन ?

पुल खाने दाँतलाई केले कुट्ने हाेला ?

पीपीई खाने गणतन्त्रबालाई कुट्न मिल्छ कि मिल्दैन ?

बाेसीय तत्त्वलाई ढाँट्न मिल्छ कि नाइँ ?

देशकाे सीमा सीमामा

गाउँघर फर्कन भनेर टाउकाेमा झाेला भिरेर बाटै बाटाे हिंड्ने काे रहेछ ?

तिनलाई चिन्न हुन्छ कि हुन्नहाेला ?

सरकारी बाजेले तिनकाे खाेजी गरे के घाटा हुन्छ भनेर साेधे

उत्तर दिन मिल्ने कस्ले हाेला ?

सडक र सीमाभरि छरिएकाहरूकाे घरबारीकाे अँगालाे कस्ले खाेसेकाे ?

अँगालाे खाेसिएकाहरूले

अँगालाे खाेस्नेहरूलाई

मेराे घरकाे अँगालाे नै प्याराे छ

पीडामा घाेच्ने तिमी भ्रष्टहरूलाई अँगाल्दै अँगाल्दिनाैं

भन्न मिल्छ कि मिल्दैन ?

अनि भाेक हुन्छ कि नाइँ ती घरबार नहुनेकाे ?

तिनकाे भाेकलाई गाँस कस्ले दिने भनेर साेध्न मिल्छ कि नाइँ ?

अनि नेत्र हुन्छन् कि हुँदैनन् दरबार हुनेका

भनेर कस्लाई साेध्न पाइन्छ हाेला ?

सबैका जहानपरिवार केटाकेटी हुन्छन्, तिनले टाउकाे ओत्नुपर्छ

भनेर पनि सिकाउनु पर्ने कुन तन्त्र हाे भनेर कसलाई साेध्ने ?

हामीले प्रश्न गर्दा प्रश्न गर्न नपाउने भन्ने उत्तरमा

प्रतिउत्तर दिन मिल्छ कि मिल्दैन ?

दरबार बस्नेले

घरबार नहुने माथि

खबरदार साेझाउँदा दिने उत्तर के हाेला ?

समय वा राेगकाे महामारी एक पटक सकिन्छ

तर भ्रष्टाचारकाे महामारी कहिल्यै सिध्दिंदैन हाे ?

त्यसाे भए बर्साैं पहिलेदेखि गरिब मात्र मार्ने भ्रष्टाचारी भाइरस जाती कि

याे वा त्याे नभनी समान दु:ख दिने भाइरस जाती

भनेर साेधेमा उत्तर के आउला ?

अनि सीमा पनि नचिन्ने नयाँ महाराजा र

प्रेम नभएका शासकहरूकाे आशा भराेसाले पुर्याउने कहाँ हाेला ?

हामी आकाशभरि थुक्दै हिंड्नेलाई

कुलदेउता ठानेर

भजन गाउँदै

बाटाे खाेज्दै

स्वर्गकाे कुन सहर पुग्ने हाेला ?

भनेर साेधिरहन मन लागेकाे किन हाेला ?

-जगन्नाथ पाैडेल भर्जिनिया अमेरिका

 

प्रतिक्रिया