पचहत्तर वर्षको पर्खाइपछि…

जमुना गुरुङ, टोरन्टो ,क्यानडा २०७७ असार ३० गते २०:५४ मा प्रकाशित

“पर्खि बसे, आउला भनि
“मेरो उठ्ने पालो ” २
कुर्दा कुर्दै जिन्दगी नै
“भइ गएछ कालो कालो ” २

स्वर सम्राट स्वर्गीय नारायण गोपालका सुमधुर स्वर अनी शम्भुजित बास्कोटाको संगीतमा गुन्जिने, नीर शाहद्वारा रचित यो लोकप्रिय गीतमा लुकेका कथा – ब्यथा धेरैको वास्तविक जीवनमा केहि न केहि रुपले मिल्न सक्छ । पर्खाई मानव जीवनको एक अभिन्न पाटो नै हो भन्दा दुइ मत नहोला । तर कुनै पर्खाई ज्यादै नै लामो, पट्यारिलो र हिर्दयाबिदारक पनि हुन सक्छन- “कुर्दा कुर्दै जिन्दगी नै भइ गएछ कालो ” भने जस्तै ।

यस्तै घटना एक महिलाको वास्तविक जीवनमा घटेको थियो । वहाँले ७५ बर्ष लामो वियोग पछि मात्र आफ्नो हराएको पतिको खबर पाउनु भएको थियो । तत्कालिन नेपाली समाजको प्रचलन अनुसार महिनावरी हुनु भन्दा पहिले कन्यादान दिदा राम्रो मानिने हुँदा १३ वर्षकै कलिलो उमेरमा गुरुङ जातिको प्रचलन अनुसार आफ्नै उमेरको मामाको छोरासँग विवाह गराईदिएपछी उनले बाल्यकालमै घरबार सम्हाल्न सुरु गरिन । श्रीमान् र नन्द सानै हुँदा सासु बितिसकेकाले ससुराले दोश्रो बिबाह गरी सकेका थिए । ससुरा गाउको मुखिया, तुलनात्मक रुपमा अरुको भन्दा धरै जज्गा-जमिन भएका र प्रशस्तै गाईबस्तु, भेडा-बाख्रा हरुको मालिक भएको हुनाले सधै कामको चपेटा हुने नै भयो । कचहरीमा आउनेहरुलाई चियापान र कहिलेकाँही दालभात खुवाउनु पनि बुहारीको दायित्व हुन्थ्यो । बिहान तीन-चार बजे नै उठी दिनभर मेलापात गरी सकेपछि पनि घरको सबै काम भ्याएरमात्र सुत्न जाने उनको दैनिक दिनचर्याजस्तै थियो । त्यसमा पनि सौतेनी सासुले बेलाबेलामा खेतको काम गरी थाकेर घर फर्केका श्रीमानलाई पेटभरी खाना नदिने, उनलाई भने कडा परिश्रम र मेहनत गर्न सक्ने भनी प्राय फुर्क्याउने तर घरको कुनै काममा नसघाउने गर्थिन् । घरको त्यस्तो वातावरण देखेपछि निहुँ पाउनासाथ माइती जाने मौका चुकाउँदिनथिन्। श्रीमानले भने ” नअत्तिकन बस, पछि हामी छुट्टै बसौंला ” भनी उनलाई अश्वासन दिन्थे ।

यस्तैमा झन्डै ६ महिनाको गर्भवती हुँदा उनी माइतमा थिइन्, जतिवेला उनी उमेरले झन्डै २० वर्षकी थिइन् । ससुरा बुढा कडा स्वभावका थिए भने श्रीमान् सोझो प्रवृतिको । छोराले साथीभाईहरुसंग जुवा खेलेको बालाई पटक्कै मन परेनछ । एकदिन बालाई सारै रिस उठेछ र ” मुखियाको छोरा भएर पनि जुवातास खेल्ने !” भनी दुइचार झापड दिएछन् । त्यो घटनापछि घर-परिवार र माइत भएकी गर्भवती श्रीमतीलाइ समेत खबर नगरी छोराचांही घर छाडी गएछन् । नेपाल भित्रैका ठाउँ-ठाउँमा र भारतका केहि शहररुमा सक्दो खोजीनिति गर्दा पनि उनलाई कतै भेट्टाइएनछन । कसैले ” तिम्रो श्रीमानसंग भारतमा संगै काम गरेका थियौ ” भने पछि केहि आफन्तहरु तिनलाई खोज्न पठाइएछन् तर त्यहाँ जाँदा भेट्न सकिएनछ । उनी त्यहाँबाट अन्त्तै सरिसकेका रहेछन् । कसैले चाहिं ” आत्माहत्या गरिसके होलान् ” पनि भनेछन्, कसैले चाँहि ” भारतमा अर्को विवाह गरी घरजम गरेर बसेछन रे” भनेछन् । तथापि, कत्तै भेट्टाउन नसकेपछि कुरा ” रे ” मै टुङ्गिएछ । अहिलेको होइन, ७५ वर्ष अघिको कुरा थियो त्यो । शिक्षा, यातायात र संचार सबै हिसाबले देश र समाज ज्यादै पिछडिएको अवस्था थियो । हराएको मान्छे भेट्टाउनु सजिलो थिएन ।

उनले माइतमै छोरी जन्माइन् र तिनलाई हुर्काउनमै समय दिइन् । श्रीमानको पर्खाइमा बस्दै घरबार सम्हाल्न छोडिनन् र मेहनत गरिरहिन् । जीवनमा आइ परेका बाधा, अटचनहरुसंग लड्दै गईन् । होची भए पनि सारै हँसिली, लगनसिल, पौरखी र राम्री थिइन् तिनी । ” छोरीलाई आफ्नै छोरी जस्तै स्याहार र व्यवहार गर्छु ” भन्दै अश्वासनसहित यसबीच उनलाई विवाहका धेरै प्रस्तावहरु पनि आए । उनलाई अपनाउन चाहने पुरुषहरुको गाउघरमा कुनै कमि थिएनन । तर उनले त्यसको बेवास्ता गरिन र घरको ईज्जत धानी पतिकै शतमा बसी घरबार धान्नुलाई उनले आफ्नो जीवनको मार्गको रुपमा रोजिन, जुन सजिलो भने थिएन । उनले सङ्घर्षलाई अंगालेकी थिइन् र आफ्नो जीवन परिवार तथा छोरीको सुखमय जीवनका लागि त्याग प्रण गरेकी थिइन् । जिन्दगीका हरेक पाईला पाईलाहरुमा उनले धेरै सङ्घर्ष झेल्नु परेता पनि डग्मगाइनन् । त्यो जमानामा एक महिलाले आफ्नु श्रीमानविना एक्लै गाई, भैसी, भेडा बाख्राहरुको गोठको व्यवस्थापन गर्दै सारा घरजज्गा र परिवार समेत सम्हाल्नुपर्दा जिन्दागी कति कष्टकर भयो होला ! तर, उनले हरेश खाइनन् । यहि देखेर होला, ससुरा (जो आफ्नै मामा पनि हुनुहुन्थ्यो) ले पनि सबै खेतबारी र सम्पत्ति उनको नाममा लेखाइदिएछन् ।

पढाईको महत्व बुझेका ससुराले आफ्नो एक्ली नातिनीलाई घरको काममा भन्दा पनि बढी पढाई र लेखाईमा जोड दिनु लगाउन पर्छ भनी आफुले जग्गा दान दिएर निर्माण भएको गाउकै पहिलो प्राथमिक विधालयमा भर्ना गराई स्कुल छुट्टी पछिको समयमा पनि घरमा नै मास्टर राखी पढाए ।

सामाजिक प्रचलन अनुसार आफ्नै ठुल्दाइको ठुलो छोरासँग १३ बर्षको कलिलो उमेरमै तिनले आफनी छोरीको विवाह गरिदिइन् । विवाहपछि पनि छोरी धेरै जसो माइतमा नै बसी आफुले पढेको प्राथमिक विधालयमा शिक्षिकाको जागिर धानिन् । छोरीको युवावस्थामै श्वास- -प्रवासमा कठिनाई देखा परेको हुनले उनका ससुरा (मामा), जो भारतीय सैनिकमा क्याप्टेन थिए, ले उनलाई मुम्बइको ठुलो हस्पिटलमा लगी उपचारार्थ भर्ना गराए । मुटुको रोगको कारणले गर्दा श्वास फेर्नमा कठिनाइ भएको र त्यसका लागि ठुलो अपरेसन गर्नु पर्ने तर पनि बाँच्ने सम्भावना एक प्रतिशतमात्र हुन् सक्ने बताइएछ । ससुरालगायत अन्य परिवारले यति ठुलो निर्णय कसरी लिने भनी हिच्किचाए पनि उनी आफै राजी भई जोखिम मोल्न तयार भएछन् ।

पछि अपरेसन सफल भए पनि डाक्टरले बच्चा नजन्माउने सल्लाह दिएछन् । र, उनी केवल २५ बर्ष जति मात्र बाँच्न सक्ने बताIएछ। तर, विधीको विधान, छोरीले पहिलो पटकमा नै जुमुल्याह नातिनीहरु जन्माईन् । स्वास्थमा हेरफेर भइरहदा छोरीको उपचारका लागि पटक-पटक पोखराको एकमात्र मिसन होस्पिटलमा भर्ना गरी उनलाई कुर्नुपर्दा ती नाबालिका नातिनिहरुका स्याहार-सुसार पनि उनले नै गर्नुपर्थ्यो ।।

त्यसको झन्डै ६ बर्ष अन्तरालमा छोरीले फेरि अर्की नातिनी जन्माईन् । तर, अस्वास्थताको कारणले गर्दा छोरीको वैवाहिक जीवन सोचेजस्तो सुखमय हुन सकेन । तसर्थ ती तीनवटी नातिनीहरुलाई हुर्काउने सम्पूर्ण जिम्मेवारी उनको काँधमा आइपर्यो । सासु-ससुराको स्वर्गारोहण पछि त सम्पूर्ण जिम्मेवारी उनकै काधमा आइपर्यो। पृथ्बी राजमार्ग सुचारु भएपछि वरपरका गाउलेहरु पोखरा बसाईंसराइ गर्ने क्रम त्यतिखेर भर्खर सुरु हुँदै थियो। छोरीले आफ्ना नाबालक सन्तानहरुको उचित शिक्षादीक्षाका लागि आफ्नु स्वास्थका कारण पोखरा झर्नु आवश्यक ठानिन् । सुरुमा आफुले सम्हालीरहेका सबै घर-जग्गाहरु बेची गाउँ छाडी जानका लागि आमा राजी भइनन् । तर, आखिर छोरीले उनलाई मनाएर छाडिन् । आफ्नो माईतीतिरका चार दाजुभाई र चारदिदिबहिनीका परिवारहरु पनि प्राय: पोखरा झरिसकेका थिए । बाँकी पनि झर्ने सुरसारमा थिए । आफन्ताहरुकै सर-सल्लाहबाट छोरीले पोखरामा जग्गा किनिन् र त्यसको लगतै घर निर्माणको काम पनि सम्फ्न्न गरिन् । त्यसपछि उनीहरु साबिकको तप्राङ्ग (हालको मादी गाउ पालीका, कास्की) गाउबाट पोखरा बसाईंसराइ गरे । आफन्तहरु वरपर, नजिकै हुँदा प्राय भेटघाट भैरहने र नातिनीहरू पनि हुर्किसकेका हुनाले पोखराको बसाइ सहज बन्दै गयो । तर, जिन्दगीले उनको सङ्घर्षको रोजाइलाई भने अर्को परीक्षा लिइदियो । अल्पायुमै आफ्नो एकमात्र छोरी र जिन्दगीकै भरोशा संसारबाट बिदा लिइन् । तर, पनि उनले पटक्कै हिक्मत हारिनन् ।

यो आत्माकथा अरु कसैको नभएर हाम्री ममतामयी हजुरआमा स्वर्गीय पर्वश्री गुरुङ्गको थियो। बिगत १५ वर्ष देखि क्यानडाको टोरोन्टोमा हाम्रो परिवारसंग बस्दै आउनु भएका हजुरआमाले यहि मे २६ २०२० का दिन ९५ वर्षको उमेरमा यस धर्तिबाट सदाका लागि बिदा लिनु भयो। वहालाई यहाको हिमालयन मेला, तमु ल्होसार, तिज पर्व आदि सामुदायिक जमघट ज्यादै मन पर्थ्यो। वहाले नेपाली साहित्य समाजको एक कार्यक्रममा छोटो कविता पनि सुनाउनु भएको थियो । गत बर्षको नारीदिवसको उपलक्ष्यमा गैर आवासीय नेपाली संघ, क्यानडाले वहाँलाई सम्मानित पनि गरेको थियो भने यसै वर्ष गैर आवासीय नेपाली संघ, क्यानडाद्वारा आयोजीत नारीदिवस कार्यक्रम को पनि प्रमुख आकर्षण हुनुहुन्थ्यो। उहाँ हांसिली हुनु हुन्थ्यो र हुलहालमा जान मन पराउनु हुन्थ्यो । जो नेपाली भेट्दा पनि आशिर्वाद दिनुहुन्थ्यो । नेपालीको महान चाड दशैँमा वंहाको हातबाट टिका लगाउन तथा आशिर्वाद लिन टोरोन्टो वरपरका नेपालीहरुको भिड लाग्थ्यो। त्यसैले वंहाले नेपालीहरु बीच छुटै पहिचान बनाउन सफल हुनु भएको थियो। पति र एक्लो छोरीसंगको वियोगले उहाँलाई बेलाबेलामा सताईरहेता पनि वास्तविकतालाइ अंगालेर जीवनरुपी रथ गुडाउदै हाँसी हाँसी लामो जीवन जिउनुभयो।

गत सालको सेटेम्बर (सन् २०१९) मा वहाको ९५ औ जन्म दिवश मनाएको केहि हप्ता पछि हाल अमेरिका निवासी मेरी दिदी गंगाले मलाई मेसेन्जरमा ” एउटा एकदमै अचम्मको कुरा तिमीलाई सुनाउनु छ तु फोन गर” भन्ने टेक्स्ट मेसेज पठाइन् । कुनै विशेष कुरा होला भनी सोचें । तर, कयौं वर्षदेखि हराएको हाम्रो घरको खुशीतिर भने यो मन गएकै थिएन । मनमा कुतूहल पैदा भयो र दिदीलाई फोन गरें। मैले जे सुन्दै थिएँ, त्यो मेरो कल्पना भन्दा बाहिरको कुरा थियो । मलाई त सपनाजस्तै लाग्यो र फिल्मको कहानि सुनेजस्तै लाग्यो । दिदी भन्दै थिइन् ” हाम्रो हराएको बाजेको कान्छा नाती (पर्वत गुरुङ ) संग मेसेन्जरमा कुरा भयो ।” मेरा आँखाहरु रसाएर आए । खुशी भनौं वा दु:खी भनौं, सारा कुरा फोनमा मौन भइ सुनिरहें ।

पछि भाइ पर्वतले मलाइ फेसबुकमा फ्रेन्डको अनुरोध पठाए । उनले मेसेन्जरमा मसंग पहिलो पटक कुरा गर्न खोज्दा मैले उनीसंग सिधै कुरा गर्न सकिनँ । आँखाहरु रसाईरहेका थिए र मेरा बोलिहरु फुट्न सकिरहेका थिएनन् । उनलाइ ” मलाई समय दिनु, पछि कुरा गर्छु ” भनी टेक्स्ट म्यासेज पठाएँ । उनीसंग समय मिलाई बल्ल मेसेन्जरमा घन्टौं कुराकानी गरी बाजे लगायत अन्य परिवारका सदश्यहरुका बारेमा बिस्तृत जानकारी लिएँ । र, मैले पनि हाम्रोबारे सबै कुरा उनलाई बताएँ ।

घरबाट भागेपछि हाम्रो हराएको बाजे सिक्किम पुगेछन् अनि एक महिलासंग बिबाह भएपछी भुटानमा घरजम जमाएछन् । बेलाबेलामा बजैले (बाजेको दोस्श्री श्रीमती ) बाजेलाई आफ्नै गाउमा फर्किऊ भन्दा पनि उनले आफु भागेर आएकाले फेरि गाउ फर्किदा बा ले आफुलाई स्वीकार नगर्ने बताएछन् । एक छोरा र एक छोरी सन्तान अथार्त हाम्रो मामा र सानिमा भएपछी उनीहरु स-साना हुँदा पचाश वर्ष नपुग्दै बाजेको निधन भएछ । बाजेको स्वर्गारोहण पछि बजै अर्कै पुरुषसंग गइछिन् । अहिले त उनको पनि देहान्त भईसकेछ ।

यसरी सानै उमेरमा मामा र सानिमाले आफुहरुलाई रेखदेख गर्ने दुवै अभिभावकहरुलाई गुमाउनुपरेपछि त्यहि ठाउँकै आफन्तले उनीहरुको लालन-पालनको जिम्मा लिएछन् । मामा र सानिमाका बाल्यकालहरु घरको काम देखि लिएर खेतबारी हुँदै गाई बस्तुहरुको हेरचाहमा बितेछ । सानिमाको १३ बर्षको कलिलो उमेरमा नै विवाह गराईदिएकाले सानैमा घरबार सम्हाल्नुपरेछ भने मामाले पनि तेस्तै १८ बर्षको हुँदा घरजम बसालेछन् । पछि उनीहरु आ-आफ्ना परिवारहरु सहित अन्य नेपालीहरु जस्तै भुटानबाट धपिएर झापामा सरेछन् ।

झापा आएपछी पनि मामाले गुरुङ भाषा र संस्कृतिहरुका बारेमा राम्रो ज्ञान नहुँदा र यातायात तथा संचार माध्यमका असुविधाका कारणहरुले गर्दा पनि होला, आफ्नु बा (हाम्रो बाजे) को गाउँ तथा परिवारका बारेमा खोज्ने आँट गर्न सकेनछन् । शरणार्थीको रुपमा झापाको १६ बर्षको कठिन बसाई पछि सन् २००८ सालमा स-परिवार अमेरिका आउने प्रक्रिया सुरु हुँदै गरेको बेला अल्पायुमै उनको देहान्त भएछ । दैवको लिला, मामा बितेको ४५ दिनमा सानिमाको अचानक मृत्यु भएछ। हाम्रो मामाका दुइ छोरा र पाँच छोरी रहेछन् । हाम्री सानिमाले भने १२ जना छोरा छोरी जन्माएकी रहिछन् । सबैजना अमेरिकाको नर्थ क्यारोलिना भन्ने ठाउमा विगत १० बर्षदेखि बसोबास गर्दै आएका रहेछन् । राम्रो के भएछ भने बाजेले आफ्नो र पुर्ख्यौलीबारे बजैलाइ बताएका रहेछन् । पछि बजैले मामालाई अनि मामाले माइजूलाई बाजेको बारेमा मृत्युपुर्व नै बताइदिएका रहेछन् ।

त्यही जानकारीको आधारमा हाम्रा भाइ (मामाका ठुलो छोरा) हरु हामीलाई खोजी गर्ने अभियानमा जुटेका रहेछन् । उनीहरुलाई कास्की जिल्लाको पोखरा शहरबाट उत्तर पर्ने गुरुङ गाउँ भन्नेमात्र प्रस्ट भएछ तर गाउँको नामचाँही प्रस्ट भएनछ । बाजेको थर, मुखियाको छोरा, एक बहिनी भएको, जज्गा जमिन धेरै भएको, फुपूको छोरीसंग बिबाह भएको, र घर छाड्दा श्रीमती गर्भवती भएको आदि जानकारीको आधारमा तिनले हामीलाई खोजेछन् । तर, पटक-पटक पोखरा जाँदा पनि हामीलाई भेट्टाउन सकेनछन् ।

अमेरिकाबाट गुरुङ अन्तरराष्ट्रिय सम्मेलन (२०१९) को सिलसिलामा काठमाडौ पुगेका ठुलो भाई प्रदिप यस वर्ष पनि पोखरा पुगेछन् । यस पटक भने उनले सफलता हासिल गरेछन् । सबै बेलिबिस्तार गर्दै जाँदा बाजेको गाउँ र परिवारका सदस्यहरु पत्ता लगाउन उनि सफल भएछन् । पोखरामा हाम्रो फुपू बजै, हाम्री कान्छी बैनीलगायत सबै इस्टमित्रहरुसंग पनि भेटेछन् । तप्राङ्ग गाउँ पनि पुगी पुर्ख्यौली ठाउँको भ्रमण गरेछन् । पोखरा स्थित तप्राङ्ग समाजले एक समारोह आयोजना गरी उनलाई भव्य रुपमा स्वागत गरेछ । पछि थाहा भयो कि प्रदिप त युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष अनि सामाजिक कामहरुमा पनि ज्यादै सक्रिय रहेछन् ।

उनी नेपालबाट अमेरिका फर्केपछी समय मिलाई उनीसंग पनि मेसेन्जरमा घन्टौं कुराकानी गरी परिवारका बारेमा पुन:विस्तृत रुपमा जानकारी लिएँ । शरणार्थी जीवन संघर्षमा बिते पनि हाम्रा भाईहरुले शिक्षा तथा व्यवसाय दुवैमा हात हाली निक्कै राम्रो प्रगति गरेछन् । कान्छो भाई पर्वत चाँही फार्मेसीष्ट फर्मासिष्ट पढाईको अन्तिम चरणमा पुगेका रहेछन् ।

यी सब कुरा अब मेरी हजुरआमालाई कसरि जानकारी दिने ? उहाँले कस्तो प्रतिक्रिया गर्नुहुने हो भनी मनमा एक किसिमको छटपटी भयो । यो जानकारी पाएको एक हप्ता बितिसक्दा पनि मैले उहाँलाई सुनाउने आँट गर्न सकिनँ । धेरै पटक हजुरआमालाइ भन्ने प्रयास गरेता पनि जब उहाँको अनुहार हेर्थें, तब मेरो बोली बन्द हुन्थ्यो, फुट्दैनथ्यो । मैले श्रीमानसंग सहयोग मागें । उहाँले यी सबै कुरा मेरी हजुरआमालाई सुनाइ दिनुभयो ।

उहाँ चुपचाप केहि प्रतिक्रिया नगरी सुनिरहनुभयो । सायद उहाँलाई सपनाजस्तै लागिरहेको थियो होला । अथवा, उहाँ गहिरो चोटमा हुनुहुन्थ्यो होला । भोलिपल्ट बिहानै हजुरआमा आफु रातभरी निदाउन सकिनँ भनी भक्कानो छाडी रुन थाल्नुभयो र आफु त्यो दिन एक छाक खाना नखाने अनि तीन दिन सम्म नून बार्ने कुरा बताउनु भयो । त्यतिमात्र नभएर बाजेको नाममा हातमा लगाइरहनुभएका राता चुराहरु र कपालमा लगाउने रातो डोरी फुकाईदेऊ भन्नुभयो । उहाँका कुराहरु सुन्नुपर्दा मैले मन थाम्न सकिरहेकी थिइनं ।

रीतिअनुसार तिन दिनपछि नजिकै बस्नुहुने हजुरआमाको आफ्नै भतिजो (कान्छा भाईका ठुला छोरा) डा. हरि गुरुङलाई बोलाइ नून फुकाउने काम क्रिया पनि गरियो । हजुरआमाकै इच्छा अनुसार सम्पूर्ण परिवार स्थानीय गुम्बामा गएर बाजेको नाममा बत्ति बाल्ने काम पनि गरियो । आफुलाई गर्भवती हुदा छाडी हिडेको श्रीमानको जानकारी पाए पछि कुनै गुनासो नगरी उहाँले रीतिरिवाज अनुसार सबै काजक्रिया गर्नु भयो । उहाँले जीवनमा गर्नु भएका त्याग र तपस्याहरु रामायणको कथाकी सिता भन्दा कम थिएन ।

हजुरआमालाई पनि आफ्ना नाति-नातिनीहरुसंग र बुहारीसंग बोल्ने अवसार मिलाईदिएँ । उहाँ ले सारै खुशी भएर अब हाम्रा सन्तान बढे भन्नुभयो । भाइहरुले हाम्रो अनुहार हाम्री सानिमाका छोरीहरुसंग र हाम्री आमाको अनुहार हाम्रा बैनीहरुसंग (मामाका छोरी) हरुसंग मिल्ने कुरा बताए। सोचेँ, आज हाम्री आमा हामीबिच हुनु भएको भए उहाँ आफ्ना भदा-भदिनिहरुका साथ साथै बुहारी र आफ्नी बैनीवटा भएका छोरा छोरीहरुसंग बोल्न र भेट्न पाउदा कति खुशी हुनुहुन्थ्यो होला ।

यस सालको ज्यानुवरी (२०२०) मा हजुर आमा आफ्नै कोठा लड्नु भई थला पर्नु भयो। हस्पिटलको बसाई पछि वहालाइ रिहाब सेन्टर लगियो। यो खबर सबै परिवार तथा इस्टमित्रलालाई दिने क्रममा हजुरबा का नाति तथा नातिनीलाई पनि दिए। प्रदिप भाइले हजुर आमालाई भेट्ने सारै इच्छा भएकोले आफुले योजना बनाइ राखेको कुरा बताई राखेको हुँदा मैले माइजु र भाइलाई वहालाई भेट्न आए हुन्छ भनी सल्लाह दिए। त्यस पछि वहाहरु तुरुन्तै हवाई टिकेट काटी हजुर आमालाई भेट्न हस्पिटलमै आईपुगे। आफ्ना बुहारी र नाति लाइ पहिलो पटक देखन पाउदा वहा सारै खुशी हुनु भएको थियो । मलाई पनि भाई, माइजु र हजुर आमाको भेट गराई दिन पाएकोमा ज्यादै खुशी लागिरहेको थियो। भाईले पनि हजुरबाको कथा वहालाई बेली बिस्तार गर्नु भयो। मामाका ठुलो छोरा र माइजु भेट पछि अरु भाइ बहिनी हरुले पनि हजुरआमा लाई भेट्ने योजना बनाएका थिए तर ति अधुरै रहे। यसरी ७५ वर्ष सम्मको रहस्यमय कथाको टुंगो लागेको थियो।

रिहाब हस्पिटलको दैनिक ब्यायेममा भाग लिए पछि हजुर आमाको स्वास्थमा निकै सुधार आयो। नर्स तथा डाक्टरहरुले भनेका सबै कुराको पालना गर्न वहा सदैव तत्पर हुनु हुन्थ्यो। हस्पिटलबाट डिस्चार्ज भएर घरमा आए पछि पनि वहाले दैनिक ब्यायेममा निरंतारता दिनुभयो। वहाको स्वास्थ पनि राम्रै थियो। तर मे (२०२०) महिनाको २० गते, वंहा अचनाक आफु बसनु भएको सोफामा नै ढल्नु भयो र यम्बुलेंश बोलाइ तुरुन्तै हस्पिटल लगियो। तर वंहाको स्तिथिमा कुनै सुधार आउन नसके पछि मेरै काखमा जीवनको अन्तिम स्वाश लिई यस धर्ति बाट सदाका लागि बिदा लिनु भयो। । तमु रीति अनुशार आफ्नो अर्घौ गर्दा हजुरबाको पनि संगै गराउनु है भनी राख्नु भएको हुनाले वंहाकै इच्छा अनुसार नेपालमा दुवै जनाको अर्घौ हालै पोखरामा सम्पन्न भयो।

आज हामीले हाम्रो जीवनका ति महान नायक गुमाएका छौ जसले हाम्रो परिवारको खुशीका लागि आफ्ना सबै खुशीहरुको बलिदान दिनु भएको थियो। बिना शर्त हामीलाई माया दिईरहने आमा गुमाएका छौ। एउटा हांसिलो अनुहार हरेक बिहान हामीलाई आशिर्बाद दिने परि गुमाएका छौ। जीवनमा पहिलो चोटी हामि आफुलाई टुहुरो भएको महसुश गरेका छौ। घरमा जता हेरेपनि शुन्य महसुश भएको छ। तर पनि मनलाई दरो बनाउदै वंहाका इच्छाहरु पुरा गर्दै जाने अठोट गरेका छौ। वंहासंग बिताएका ती सारा मिठ्ठा पलहरुले वंहा आफुसंगै भएको अनुभूती गराउछन् । जब वंहाका सम्झानाहरुले सताउन थाल्छ तब वंहाका ती तस्बिर र भिडियोहरुले वंहा हामिसंगै हुनु भएको महसुश गराउछन ।

संघर्षका चपेटाहरुमा जिउनु पर्दा पनि कसैसंग गुनासो नगरी सबैको भलो चिताउनु हुने हाम्री हजुर आमा सदा हाम्रो मन मुटुमा अमर रहने छ। वंहाले दिनु भएका ती अर्ति उपदेशहरु हाम्रा लागि सदैब मार्ग दर्शन बनी रहने छन्। वंहाका ती आशिर्बादहरुले हामीलाई
सदा रक्षा गरिरहने छन्। यदी अर्को जन्म लिने अवसार मिलेमा फेरि पनि वंहाकै नातिनी भएर जन्मिन पाऊ भन्ने प्रार्थना सहित आज वहाको ४९सौ पुण्यतिथिमा फेरि एकचोटी स्वर्गबासको कामना गर्दछु।

अस्तु।

जमुना गुरुङ

टोरोन्ट, क्यानडा

प्रतिक्रिया