“मेरो प्यारो सगरमाथा “

कमला प्रसाई हाल न्यूयोर्क, अमेरिका २०७७ असार १९ गते २२:३२ मा प्रकाशित

मलाई किन- किन प्यारो लाग्छ मेरो सगरमाथा
तिम्रो उचाईलाई हेर्दा मेरो आफ्नै छाती
गौरवले त्यति नै माथि उठेको महशुस हुन्छ,
अनि
नेपाल आमाको छाती त्यति नै
विशाल छ जस्तो लाग्छ।

झुक्नै नजान्ने तिमी ।
नेपालीलाई शत्रुहरुको अगाडि नझुक्ने
शिक्षा दिदै आएका छौ
आकाश – पाताल अनि धर्ती
सबैतिर फैलिएको तिम्रो विराट रुप जस्तो
नेपालको कीर्ति चारैतिर सजियोस भन्दै
कहिले तिम्रो महानताको कदर गर्दै
कहिले तिम्रो शीतलताको बयान गर्दै
ए मेरो प्यारो सगरमाथा
गाउँदै हिंडेकी छु जहाँसुकै तिम्रो गाथा।

धर्ती सँगै जन्मेको तिम्रो इतिहास
जहाँ रहेर भए पनि सँगालेकी छु
तिम्रो महत्त्वको आभास,
विश्वमा हामीलाई नेपाली भनेर चिनाउने
त्यसैले तिमीलाई सधैं साँचेर राखेकी छु मनमा सधैं ।

नेपालको महान भूमिमा खडा भएका छौ
नेपाल र नेपालीलाई सधैं माथि उठ्ने सन्देश दिएका छौ
ए मेरो प्यारो सगरमाथा !
तिमीले झैँ मैले पनि गाउन पाउँ नेपालको गौरव गाथा
अनि तिम्रो शिरमा सदैव फरफराई रहोस नेपालको झण्डा
ए मेरो प्यारो सगरमाथा ।
ए मेरो प्यारो सगरमाथा !!!:

कमला प्रसाई
हाल न्यूयोर्क, अमेरिका

प्रतिक्रिया