लघुकथा : धोखा

प्रकाश खड्का " अभियान “ २०७७ असार १५ गते १०:४३ मा प्रकाशित

लाभ आफ्नो सोच र कर्तुतका कारण,सबैबाट तिरस्कृत हुँदै आएका थिए । समाजमा उसलाई कसैले पनि पत्त्याउदैनथे ।चोर्नु, ठग्नु र अल्लारे ठिटासँग बरालिनु उसको दिनचर्या बनेको थियो।कसैले नगन्ने भएपछि आत्मग्लानि र पछुतो मान्दै आफ्नो पुरानो साथी शुभलाइ भेट्न उनी गएका थिए।

आँखाबाट बर्बर्ती आशुका झरना बगाउदै, शुभ अहिले पनि तिम्ले त्यो परीक्षामा नक्कल गर्दा, “चोरी गर्नु पाप हो,आफ्नै नजरबाट गिर्नु हो। ” अनि आमाले भनेको “छोरो होस् त तिमी जस्तो इमान्दार, पौरखी होस्। ” भनेको झल्झली सम्झन्छु। तर मैले टेर पुच्छर लगाइन। आज मलाई त्यही पाप लागेर होला भुस्याहाँ कुकुरलेभन्दा बढी दुख भोग्दै छु।

शुभ नाइँ नभन ल, मलाई जस्तो भएपनि काम देऊ। हेर, म जिन्दगी भरि तिम्रै सेवा गरेर बस्ने छु। मेरो उद्दार गर भन्दै खुट्टा समातेर रुन थाल्यो।

लाभको अनूनय बिनय देखेर शुभको मन पग्ल्यो। आखिर उनी वालापनका दौतरी थिए। साथी लाभलाइ उकास्न आफ्नो सहायक बनाएर ब्यापारको सबै तकनिकी सम्झाए, बुझाए ।

कुटिल प्रबिद्दिका लाभ अति छट्टु थिए। डर,धम्की र लोभ देखाएर कामदारहरुलाई आफ्नो बफादार बनाए । उनको बिरुद्धमा बोल्ने कसैको हिम्मत त्यहाँ थिएँन। यही मौकाको फाइदा उठाएर साथी शुभ विरूद्ध षडयन्त्र रचे। महिला कर्मचारी रमिलालाई शुभले करकापमा पारेर पटक पटक बलात्कार गरेको आरोप लगाउन लगाए । पैसामा बिकेका भ्रष्ट हरुले उनलाई दोषी साबित गरे ।

लाभले अनेक दाउ पेच लगाएर कम्पनी आफ्नो नाममा लेराए । मनमा जे भएतापनि, दुनियाले लाभको जयकार गर्न थाले ।

उता शुभ भने विश्वास र भरोसाको नमेटिने दाग लिएर, जेलको अँध्यारो कुनामा, कोही महापुरुष आउने पर्खाइमा बस्न थाले ।

प्रकाश खड्का “अभियान ”
बोस्टन अमेरिका

प्रतिक्रिया