असारे रोपाईं

विष्णु पगेनी सिग्देल मेरिल्याण्ड, अमेरिका। २०७७ असार १४ गते १९:११ मा प्रकाशित

गड्याङ्ग र गुडुङ्ग आकाशै गर्जी परेकै छ नि पानी
डोकोमा बीउ धानका लिई झरिन है, कान्छी नानी ।
असारै महिना फुर्सद छैन भ्याउनु छ मेलो धेरै
छोपेर मौका झरीको पारी गर्नु छ रोपाईं मेरै।।

कान्छोले हान्यो मुठ्ठाले बीउका हिलाम्मे भए सब
नाच्दै र गाउँदै हिलोले छ्याप्दै रमाइलो गरे तब ।।
क्या मीठो आहा। गुन्जिरहन्छ असारे गीत भाका
खेतला बीच आपसमा कस्तो। गहिरो प्रिति लाका ।।

हिलोमा लड्दै, हिलोमै भिड्दै, हिलोमै खेल्दै खेल्दै
हिलोमै पोख्छन श्रम पसिना दुख र कष्ट झेल्दै ।।
मानो रोपेर मुरी फलाउने छोप्नु छ यहि बेला
दिन र रात केही नभनी धाउनु छ बेँसी मेला।।

पसिना पोखे माटैमा फल्छ हीरा र मोती सुन
यै माटोमा नै नङ्ग्रा खियाए मिल्छ है सुख धन
थाकेको शरीर, भोक छ धेरै, निन्द्रा छ मेरै मीठो
परिश्रममा नै रमाउँछ सधैँ यो नेपाली ठीटो ।।

विष्णु पगेनी सिग्देल
मेरिल्याण्ड, अमेरिका।

प्रतिक्रिया