सम्झनाको लाश

गोवर्द्धन पूजा २०७७ असार १३ गते २३:२९ मा प्रकाशित

मैले बिर्सिसकेँ
तिमीसँग साटेको एक टुक्रा जिन्दगी

मसँग
ती सम्झनाका झरीहरु छैनन्
चञ्चलताका गीत गाउने चरीहरु छैनन्
जुन हरपल मनको आकाशभरि उड्दै-उड्दै
प्रेमको गीत गुन्गुनाइरहन्थे

शून्यतालाई चिर्दै बहने वार्तालापको ध्वनि छैनन्
छैनन्, ,रेस्टुराँ र पार्कका एकान्तीय स्पर्श छैनन्
सुख्खा लागेको बस्ती जस्तै उजाड छ मन
उदास छ वातावरण
स‍बै-सबै टाढिइसकेका छन्
तिमीजस्तै मबाट ।

मैले भन्नै पर्छ यतिखेर-
मिलनको आश पनि छैनन्
बिछोडका त्राश पनि छैनन्
जसले नत्थी लगाएर तानोस्
र पुर्याओस् परपरसम्म
हाम्रो कल्पनाको संसारमा
न त आघातका खोलाहरू नै छन्
न त पीडाका हुरिहरू नै छन्
जसलाई सम्झेर भट्टी पसलमा
मनका असन्तुष्टिका बादल मडारिनु नै परोस्
सम्झनु पर्ने केही छैनन्
तिमीले मलाई बिर्सिएझैं

तिमीले किनिदिएका किताब पनि छैनन्
डायरीमा कोरिएका प्रेम कविताहरू पनि छैनन्
मैले दिएको “एअररिङ” तिमीसँग नभएझैँ
छैनन् केही पनि छैनन्
सायद छैनन् कोही पनि छैनन्-
हाम्रो प्रेमको साक्षी ।
मसँग नभएको मेरो जिन्दगीको
त्यो एक टुक्रा आयुजस्तै
जसलाई आर्यघाटमा
प्रेमसँगै जलाई दिएको थिएँ ।

अचम्म ।
जलेनछ त्यो सम्झनाको लाश
र त यो गुनासो गुञ्जिन पुगेछ !!!

-गोवर्द्धन पूजा

(- हालः- बोस्टन , अमेरिका )

प्रतिक्रिया