१.
आफ्नो अस्मिता बेचेर मान्छे नाम कमाउछ
आफूलाई नै बेचेर मान्छे दाम कमाउछ
यो कस्तो रहर हो अग्लो हुन आफ्नो कद सानो बनाउछ मान्छे
आफूलाई नै लिलाम गरेर मान्छे भ्रमको उचाई कमाउछ ।
२.
कस्ले पो सकेको छ छेक्न नियतिको घात
कस्ले पो सकेको छ छेक्न नियतिको बज्रपात
यो बेइमान समय हो स्वार्थमा रमाएका छन मान्छेहरु
कस्ले पो सकेको छ छेक्न नियतिको लातैलात ।
३.
बाधाहरु पन्साउने हिम्मत राख्नु पर्छ सत्रुले तगारो हाले पनि
अवरोधहरु पन्साउने हिम्मत राख्नु पर्छ दुस्टले छिड्के हाले पनि
जिन्दगीको मुसे दौडमा पाइलै पिछे जंघारहरु तर्नु पर्छ हजुर !
काडाहरु पन्साउने हिम्मत राख्नु पर्छ झेलीले तगारो हाले पनि
४.
स्वार्थमा अनुवादित मान्छे मित्रताको हात बढाउछन अचेल
नाफामा अनुवादित मान्छे मित्रताको हाथ बढाउछ्न अचेल
निस्वार्थ सम्बन्धको भो अचेल कुरा नगरे हुन्छ मित्र !
फायदामा अनुवादित मान्छे रातारात मित्रघात गर्छ्न अचेल ।
५.
क्वारेन्टाइनमा सुरक्षा हुनु पर्ने असुरक्षित बनेछ
क्वारेन्टाइनमा अभिभावक हुनु पर्ने राक्षस रहेछ
आज जो कोहीको पनि विश्वास र भरोसा गर्न नहुने समय आयो
क्वारेन्टाइनमा घरको वातावरण हुनु पर्ने दुर्गन्धित बनेछ ।
६.
विदेशीको कठपुतली बनेर देस लुटे पनि हुन्छ
दूतावासको जागिरे बनेर देससित गद्दारी गरे पनि हुन्छ
पटक्कै स्वाभिमान नभएकाहरूका लागि देसको कुनै महत्व छैन
छिमेकीको अन्याय सहेर नामर्दको प्रदर्शन गरे पनि हुन्छ ।
७.
देस लुट्न परे नीतिगत भ्रष्टाचार गरे पनि हुन्छ
देस लुट्न परे दूतावासमा सूचना पुर्याए पनि हुन्छ
देस जाबो माटो न हो व्यक्तिगत लाभको लागि प्रयोग गर्नु पर्छ
देस लुट्न परे एमसीसीको दलाली गरे पनि हुन्छ ।
८.
यति बेला लुच्चा र फटाहाहरुको झुण्ड हावी छ
यति बेला दुर्योधन र सकुनीहरुको झुण्ड हावी छ
रामराज्य बनाउन आएका मतियारहरु ब्रम्हलुट गर्दैछन
यति बेला दलाल र कमिसनखोरहरुको झुण्ड हावी छ ।
९.
यो समय सबैभन्दा भ्रष्ट सावित भयो
यो समय सबैभन्दा असक्षम सावित भयो
इतिहास मै कलङ्कको कालो टिका लगायौ सरकार
यो समय सबैभन्दा नालायक सावित भयो ।
१०.
भोकै राखेर सकारात्मक सोच भन्छ सरकार
भोकै राखेर आदेश पालन गर भन्छ सरकार
घरभित्र बन्दी बनेर खै कहिलेसम्म भोकै बस्ने हजुर !
भोकै राखेर ब्रम्हलुटबारे नबोल भन्छ सरकार ।
-राधेश्याम लेकाली
प्रतिक्रिया