छ जिन्दगानी सपना सयौँ छन्
व्यथा सयौँ छन् र कथा सयौँ छन्
सुलुक्क निल्दै छ कठोरताले
अतालिएको छ सजा सयौँ छन्
पाइन्न आराम र शान्ति काहीँ
थेग्नै नसक्ने झटका सयौँ छन्
भौँतारिएको छ निकास खोजी
मस्तिष्क भित्रै किचला सयौँ छन्
पोखेर पोखिन्न कदापि पिडा
संवेदले पूर्ण घडा सयौँ छन्
गाह्रो छ पैल्याउन लक्ष आफ्नो
सन्मार्ग रोक्ने पहरा सयौँ छन्
थाकिन्छ सच्चा दिलदार खोजी
सङ्कीर्णतायुक्त दगा सयौँ छन्
(५ अक्षरमा विश्राम)
-कोमल भट्ट
च.न.पा.१३,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
प्रतिक्रिया