घर भित्रैका देवी

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका। २०७७ असार ७ गते १६:५० मा प्रकाशित

दुर्गा मानेकै छौ
काली भनेकै छौ
पार्वती, सरस्वती, चण्डी, धार्त्री
शैलपुत्री,
जे जति छन
सारा देवी पुजेकै छौ ।
पूरा गर्न भाकलहरू
मठ मन्दिर धाएकै छौ ।।
कहिले यता भौतारिदै
कहिले उता भौतारिदै,
भक्ति गान गाएकै छौ
अब त,
प्रकट भइ होलिन दुर्गा?
बोली होलिन काली
तर, थाहा छैन
तिमीले,
सुन्यौ कि सुनेनौ?
बुझ्यौ कि बुझेनौ?
देवीहरूका भाषा
मूर्तिहरूका भाषा
अनि
आफनै मनको भाषा
देवीका रूपमा
आमा, श्रीमती
दिदी र वहिनी,
छोरीहरूका भाषा ।।
जो,
हरपल तिम्रा साथ छन
तिम्रा प्रत्येक सफतामा
तिनकै दरिला हात छन ।
तिनकै सुन्दर सिर्जनाले
उचो तिम्रो माथ झन् ।।
तिमीले,
देख्यौ कि देखेनौ?
घर भित्रैका देवी,
मन्दिर र दिपहरू,
सुन्यौ कि नसुनेझैँ गर्यौ
देख्यौ कि नदेखेझैं गर्यौ
उनीहरूका पीडा, क्रन्धन
अनि
वेचैनीहरू।।
बुझेर त हेर
एकपल्ट तिनलाई,
पुजेर त हेर।
केवल एकपल्ट,
धाउनु पर्दैन मन्दिर
लाउनु पर्दैन
यज्ञ, पूजा
बाध्नु पर्दैन देउरालीमा ध्वजा
बस्,
मात्रै,
पुजिदेउ घरकै देवी
बुझिदेउ घरकै देवी,
तबमात्र,
प्रकट भइ देवीहरू अँध्यारोलाई भगाउनेछ्न
घर भित्रैका देवीहरूले घर आँगनलाई सजाउनेछन
निरासाका पर्खालहरू क्षणभरमै भत्किनेछ्न
मनभित्रका आशाहरु लहरा भइ झाँगिनेछन्
स्वर्ग तिम्रै आँगनमा सुबासछरी फुल्नेछ
समेटेर सारा खुसी वेताबी मन झुल्नेछ ।।

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका।

प्रतिक्रिया