आगोमाथि उभिएको मान्छे

-गोवर्द्धन पूजा २०७७ जेठ ३२ गते २२:५१ मा प्रकाशित

आँखाभरि जलेको घरको खरानी बोकेर
कोट्याउँदै , बल्झाउँदै पोलेका खतहरू
आक्रोशको आगोमा समयको तेल हालेर
म आगोमाथि उभिएको मान्छे
आगो नै खाएर हुर्किएको मान्छे
तिमीहरू भन्दा पृथक छु
हे,पानीका ठेकेदारहरू हो !
तिमीहरूलाई तीर्खाको शक्ती थाहा छैन
आगोसँग नखेल्नू
आगोसँग नजिस्किनू !

आगोको पोखरीमा नुहाउँदाको जस्तो
दुखद अनुभूति अर्को छैन संसारमा
आगोको बगरमा पैताला डढाउँदाको जस्तो
अर्को पीडानुभूति छैन सम्झनामा
हावाको झोक्काले बढेको लप्का
वचनको असिनाले बढाएको ताप
घृणाको तुसारापातले हुर्काएको भुङ्ग्रो
ओहो !
मुटुभरि शब्दका कोईलाहरू सङ्गाली बसेको छु
आगै पिएर बाँचेको मान्छे म
तिमीहरू भन्दा पृथक छु !

शब्दका माला बुन्थेँ कसैका लागि
विचारको खेती लगाउथेँ कसैका लागि
सुकुल बनेर थिचाईको मीठो पीडासँगै
काँडाबीचको फूल मगमगाउँथेँ कसैका लागि

चुँडेर फालिएँ नालीभरि
चुँडिएर रोएँ आलीभरि
कसैले मायाको मल्हम लगाएन
कसैले प्रेमको तस्बिर सझाएन
फालिएँ / गालिएँ/ ढालिएँ
बालिएँ/ चालिएँ/ कहालिएँ
कसैले सुनेन , मनको चीत्कार
सुन्दै सुनेन
मान्छेहरू हो !
मन बलेपछि खरानी हुँदैन , मुस्लो हुन्छ
सपना जलेपछि खरानी हुँदैन , भुङ्ग्रो हुन्छ
सल्काएर कलिलो मुनालाई
किन सिकाउँछौ आगोसँग खेल्न

म आगोमाथि उभिएर भन्दै छु
आगोले पोलिएर आगै भएको मनलाई
कहिल्यै निभाउन सकिदैन
हे ,पानीका ठेकेदारहरू हो !
आगोसँग नखेल्नू
आगोसँग नजिस्कनू !

-गोवर्द्धन पूजा

-बोस्टन , अमेरिका

प्रतिक्रिया