समाजमा दादागिरी देखाएर
सबैलाई थर्काउँदै हिँड्ने पनि,
आँखाले देख्न नसक्ने कोरोना भाइरस बाट
मरिन्छ कि भन्ने डरले लुकेर बसेको पनि देखियो
समयले कोल्टे फेर्दा !
प्रशस्त सम्पत्ति भएर पनि
खाना नपाएर भोकले छटपटाइरहेको,
र, फुट्टी कौडी नभएको व्यक्तिले, राहतै भए पनि,
हाँसी-खुशी पेटभरि टन्नै खाएर रमाएको पनि देखियो
समयले कोल्टे फेर्दा !!
यदि थोरै परिश्रम गरे
आफ्नै करेसा बारीमा उब्जाएको,
विषादी रहित साग सब्जी पनि खान पाइँदो रहेछ
अरू केही नचाहिँदो रहेछ भन्ने पाठ पनि सिकियो
समयले कोल्टे फेर्दा !!!
को गरिब, को धनी ?
सबै समान त रहेछन् आखिर,
बाच्नको लागि थोरै आशा र थोरै भरोसा भए पुग्ने
जिन्दगी र मृत्यु बिचको पातलो रेखा आभास गरियो
समयले कोल्टे फेर्दा !!!!
-शिव गिरी,किर्तिपुर
प्रतिक्रिया