आऊ सरकार, मेरो छाला काढेर लैजाऊ !

रामप्रसाद खनाल २०७७ जेठ २१ गते १:३२ मा प्रकाशित

लकडाउनमा लक भएको म बबुरो
तिम्रो कर तिर्न असमर्थ भएँ सरकार
म नाथे जन्तो सँग
अरू त के नै बच्यो र अब ?
एक मुठी जति श्वास बाहेक
बाँकी के नै छ र सरकार ?
त्यसैले,
आऊ मेरो छाला काढ
मरेका गाईबस्तु र गोहोरोको जस्तै
अनि घाममा सुकाऊ केही दिन
रोग र भोकले सुकेको मेरो छाला
सुकाए पछि घाममा
बन्छ जुवामा लगाउने नारा जस्तै बलियो
अनि,
त्यही लगेर राष्ट्रपतिको कार्यालयमा बिच्छ्याउ
बालुवाटार र सिंहदरबारमा बिच्छ्याउ
तिमीहरूका घर घरमा बिच्छ्याउ
बैठक कोठाहरूमा बिच्छ्याउ
तिम्रा पार्टीका कार्यालयहरूमा बिच्छ्याउ
तिम्रा दले देखी समर्थकसम्मको मा बिच्छ्याउ

तिम्रो बन्दै गरेको जिम हलमा बिच्छ्याउ
त्यसो गर्‍यौ भने
चाहिने छैन करोडको गलैँचा
आवश्यक पर्ने छैन हरेक वर्ष फेर्न
किनकि
घाम पानी, अनेकौँ आरोह अवरोह पार गर्दा गर्दै
निकै बलियो भएको छ मेरो छाला
गोहोराको छाला भन्दा पनि
बरु मेरै छालाको डमरु, खैजडु पनि बनाउनु
अनि त्यही बजाउँदै नाच्नु, गाउनु, उफ्रिनु
शीतल निवास देखी बालुवाटार सम्म
सिंहदरबार देखी लैनचौर हुँदै दिल्ली दरबारसम्म
तिम्रा सँसद भवन देखी मञ्चहरू सम्म
मेरो छालाको डमरू बजाउँदै
नाच जती नाच्नु छ !
मैले भन्न बाँकी यही मात्र रह्यो अब
अरु भनुँ त के भनुँ ?
तिमी मेरो खुन र पसिनाले उब्जाएको तरकारी
जफत गर्छौ
कोरोना सर्छ भन्छौ
खाडलमा पुरिदिन्छौ
नाका पारीबाट आउने तरकारी
नेपाली भान्छामा छिर्न दिन्छौ
मैले सकी नसकी पालेका
दुई वटा माली गाइको दूधमा
काली भैँसीको दूधमा
तिमीलाई कोरोना सर्ने डर हुन्छ
र तिमीलाई तिमी बनाउने
नाका पारीको उसले पठाउने
दूध, घ्यु र सबै कुराको भर हुन्छ
वाह सर्वहाराको सरकार !
तिमीलाई म भनूँ के भनूँ
गरूँ के गरूँ
तिमीले अस्ति भर्खर थमाएको
एक थान चुच्चे नक्सा हेरेर
मख्ख पर्दै
दिन काट्ने र काल पर्खिने
म र म जस्ता नामर्दहरू भएको देशमा
अब तिमीले काढ्न बाँकी हाम्रो छाला मात्र न हो
त्यसैले,
आऊ सरकार, आजै आऊ
मेरो छाला काढेर लैजाऊ
म जस्ताहरूको छाला काढेर लैजाऊ
डराउनै पर्दैन
म हिजडा
म जस्तै देख्छु अरू हिजडाहरु पनि
कोही बोल्ने वाला छैनन्
तिमीले जे जे गरे पनि मुख खोल्ने वाला छैनन्
त्यसैले,
आऊ सरकार, आजै आऊ
मेरो छाला काढेर लैजाऊ
म जस्ताहरूको छाला काढेर लैजाऊ
बरु अस्ति कोरोना जाँच गराउँदाको १५ हजार तिर्न बाँकी पनि
सक्छौ भने मेरो काढिएको छालामा हिसाब मिलान गर्नु
सरकार म नाङ्गो भैसकें
तिमीलाई पाल्दा
तिम्रो केन्द्र देखी स्थानीय सरकार सम्म
सबैलाई पाल्दा, पोस्दा
सबैलाई कर तिर्दा
म सँग बाँकी के छ र अब !
कमाउन खाडी गएको छोरो
कोरोनाले आँखा लगायो
जे थियो सबै सकियो जाय जेथा
कसले बुझ्ने हाम्रो मन र ब्यथा
त्यसैले आज हाला परेर भन्दैछु
आऊ सरकार
मेरो छाला काढ
म यदि फ्याट्ट कोरोनाको मुखमा परिहालेँ भने
तिमी के गर्छौ ??
त्यसैले आजै आऊ
मेरो छाला काढेर लैजाऊ
मेरो किड्नी पनि यदि चल्दै रहेछ भने
त्यसले पनि काम चलाउनु सरकार
मैले अब सबै सुम्पेँ सरकार
तिमीलाई
तिम्राहरूलाई
आऊ मेरो छाला काढेर लैजाऊ !!

  
 –  रामप्रसाद खनाल 

 – June 02, 2020   

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया