दुष्ट ऊ

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका। २०७७ जेठ १९ गते ०:५३ मा प्रकाशित

ऊ आफूलाई,
बडेमानको फर्सी टाउके जत्तिकै ठान्छ
अनि,
आफ्ना वरिपरिकालाई,
सानो भुसुनो जत्तिकै मान्छ ।।
मुखले मित्रौँ मित्रौँको मन्त्र भट्याउने,
सुदामा होकि जस्तो,
तर भित्र भित्र,
महाभारतको शकुनी छ नि,
ठयाक्कै त्यस्तो ।।
मुखमा भने रामै राम,
तर,
बगलीमा छुरा सत्ते राम,
मुटु कलेजो नै कोप्ल्याकै निल्न खोज्ने,
वाघकै जस्तो छ उसको काम ।।
ऊ,
मलाई छिमेकी नै ठान्दैन
कान्छो भाइजस्तै ठान्छ ।
अनि,
मलाई उसँगै टासिएरै बसोस भन्छ
मास्तिरका संग यसो कुरा गरे खेदै खन्छ ।।
खोइ? ऊ कस्तो कस्तो,
दुश्मन, हो कि? साथी जस्तो
जाती, हो कि? घाती जस्तो ।।
आफ्नो पल्ला भारी परे कान बन्द गर्छ
मेरो पल्ला भारी परे मुर्छै पर्छ ।।
अझै आफूले भनेको नपुगे,

चिच्याएरै मर्छ ।
घरि यताको लाई पिर्छ
घरि उताको लाई पिर्छ ।
कहिले कास्मिर चिर्छ
त,
कहिले लिपुलेक चिर्छ ।।
यसो कहिलेकाँही,
गोहीको आँसु पनि झार्छ
क्यावात! यो जत्तिको मेरो कोही छैन कि,
झैँ पनि पार्छ
फेरि,
दोस्तीके नाममे जंगे पिल्लर अलि वर सार्छ ।।
बोल्नेका मुखाँ,
अलिअलि, सत्ताको आश्वासन पनि छर्छ
नबोल्नेलाई थिचेरै हैरानै पार्छ
आखिर,
यसोउसो अनेक तिकडम गरेरै भएपनि,
पल्ला, आफ्नै भारी पार्छ ।।
हमारे सधिँयैाका रोटीबेटीका सम्बन्ध हे,
भन्दै पनि कराउँछ.
यसले गज्जब भन्यो क्यारे,
जस्तो पनि गराउँछ ।।
तर,
विहान उठ्दा,
खेत पनि हराउँछ, बारी पनि, हराउँछ, ।।
वर्षाको पानी सबै यतै, फर्काउँछ
हिउँदको पानी नदिए, बेस्मारी थर्काउँछ
कुहिएका चामल, विषादी तरकारी,
सप्पै यतै पठाउँछ

नाप्ने जोख्ने, तौर तरिका,
सबै उतैबाट खटाउँछ।
मेरा गुन जति आँखा चिम्लेरै भुलिदिन्छ
उसलाई केही भन्यो भने,
भिँजेको भ्यागुतोझैँ, गम्मक फुलिदिन्छ।।
यताको खटन पटन उसैले गराउँछ
के गर्ने, के नगर्ने, सबै उसैले अराउँछ।।
धैत! ऊ मित्र कस्तो कस्तो
वाहिर हेर्दा बहुत अच्छा,
भित्र दुष्ट स्यालजस्तो ।।
वाहिर हेर्दा बहुत अच्छा,
भित्र दुष्ट स्यालजस्तो ।।

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका।

प्रतिक्रिया