घरबाट बाहिर निस्कन
दोकान पुग्न
स्कूल कलेज पुग्न
अस्पताल पुग्न
छिमेकीकहाॅं पुग्न
आफन्तकहाॅं पुग्न
चौतारोमा पुग्न
चिया पसलमा पुग्न
जन्ती जान
मलामी जान
मन्दिर, मस्जीद, गिर्जाघर, गुम्वा जान
मान्छेहरू खोजिरहेछन् बाटो !
साबुतै थिए बाटाहरू
एकाएक कता हराए
लकडाउनले
निल्यो कि
सरकारी आदेशले
अन्तरध्यान भयो कि
मान्छेहरूलाई
घरभित्र बस्न आदेश छ
मान्छेहरूलाई
घरबाहिर ननिस्कन आदेश छ
बाॅंच्नलाई घरभित्र बस भन्छन्
कसरी बाॅंच्ने घरभित्र
त्यो बिषयमा
मौन छ आदेश !
प्रदुषण घट्यो रे
आकाश सफा भयो रे
फूलले सजियो रे
सडक किनाराहरू
नदीको पानी संगलियो रे
तर के गर्नु
यी खवरले पेट भरिन्न
चुल्हो तात्दैन
भोकै मर्न नपाईने
आदेश छ
भोकै पर्न पाइने कि नपाइने
भोकै अनिदो सुत्न पाइने कि नपाइने
आदेश मौन छ !
मानिसहरूको मनमा खलवली छ
मानिसहरूको पेटमा खलवली छ
हिड्न नमिल्ने बाटाहरू के काम
शायद कामै नभएर
बेपत्ता भएका हुन् कि बाटाहरू
घरघरमा
मौन जुलूस छ
घरघरमा
मौन चित्कार छ
मान्छेहरू बाटो खोजिरहेछन् बाटो !
३० मे २०२०, बृन्दावन, भारत ।
प्रतिक्रिया